स्याङ्जामा ४ प्रतिशत मत बदर
स्याङ्जा: स्याङ्जामा बदर मत घटेको छ। मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा खसेको मतको करिब ४ प्रतिशत मत बदर भएको हो।
प्रतिनिधिसभातर्फ खसेको १ लाख ४२ हजार ८३४ मतमध्ये ४ हजार ४२ मत बदर भएको थिए। यहाँका २ प्रतिनिधिसभा सदस्य चयनको लागि खसेको मत मध्ये २ दशमलब ८२ प्रतिशत मत बदर देखिएको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ।
निर्वाचन अधिकारी मरासिनीका अनुसार प्रतिनिधिसभा क्षेत्र नं. १ मा ७२ हजार २९२ र क्षेत्र नं. २ मा ७० हजार ५४२ मत खसेको थियो। ती मध्ये १ मा २ हजार २०५ र २ मा १ हजार ८१७ मत बदर भएको छ ।
यसैगरी, प्रदेशसभातर्फ १ को १ र २ मा ७० हजार ८९८ मत खसेकोमा ३ हजार २१ मत बदर र प्रदेशसभा २ को १ र २ मा ६९ हजार ५०६ मत खसेकोमा २ हजार ५४३ मत बदर भएको छ।
जिल्लाभरका १ सय ९९ मतदान स्थल र एक अस्थायी केन्द्रसहित ३२१ मतदान केन्द्रमार्फत मतदान भएको थियो।
कार्यालयका अनुसार क्षेत्र नं १ मा ५५ दशमलव ९३ प्रतिशत, क्षेत्र नं. २ मा ५९ दशमलव ९३ प्रतिशत मत खसेको थियो। जिल्लामा २ लाख ४४ हजार ०८९ मतदाता मध्ये १ लाख २४ हजार ७७८ महिला, १ लाख १९ हजार ३१० पुरुष र १ अन्य छन्। ती मध्ये स्याङ्जामा ५८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ।
स्थानीय तह निर्वाचनमा बदर मत संख्या धेरै भएपछि यसपटक भने मतदाता शिक्षा दिइएको थियो। स्थानीय तहमा चुनावभन्दा प्रतिनिधि तथा प्रदेशसभामा थोरे चुनाव चिन्ह र एउटा मतपत्रमा एकमात्र छाप लगाउन पाएकाले मत बदर कम भएको मतदाताको भनाइ छ।