ताप्लेजुङमा रेडपाण्डा जोगाउन कुकुरको बन्ध्याकरण!

ताप्लेजुङमा रेडपाण्डा जोगाउन कुकुरको बन्ध्याकरण!

ताप्लेजुङ: दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे)को संरक्षणमा सामुदायिक कुकुरको बन्ध्याकरण प्रभावकारी देखिएको छ । 

घरपालुवा तथा सामुदायिक कुकुरको आक्रमणबाट रेडपाण्डालाई खतरा भएपछि पाँच वर्षअघिदेखि यो उपाय अपनाईएको हो । 

समुदायिक कुकुरको संख्यालाई नियन्त्रण गर्न बन्ध्याकरणको उपाय अपनाईएको रेडपाण्डा सरंक्षणमा काम गरिरहेको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । संस्थाले रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा प्रत्येक वर्ष कुकुर बन्ध्याकरणसँगै रेबिजविरुद्धको खोप र भिटामिन प्रदान गरिरहेको छ । 

रेडपाण्डा पाइने क्षेत्र वा बासस्थान नजिकैका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपाण्डामाथि आक्रमण हुने गरेको छ । कुकुरको आक्रमणले दुर्लभ रेडपाण्डाको अस्तित्व थप सङ्कटमा पर्दै गएपछि रेडपाण्डा संरक्षण गर्ने उद्देश्यले कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान थालिएको हो । 

संयोजक राईका अनुसार ताप्लेजुङको पाथीभरा क्षेत्रमा नै पछिल्लो चारवर्षको अवधिमा कुकुरको आक्रमणबाट तीनवटा रेडपाण्डाको मृत्यू भएको छ । ‘पछिल्लो चार वर्षको अवधिमा नै पाथिभरा क्षेत्रमा तीनवटा रेडपाण्डालाई मारेर कुकुरले बोकेको पाईयो । त्यसैले सामुदायिक कुकुरलाई चुनौतीका रुपमा लिएर बन्ध्याकरणको कार्यक्रम लागू गरेका हौँ,’ कार्यक्रम संयोजक राईले भने, ‘बन्ध्याकरण गरेका कुकुरबाट रेडपाण्डाको आक्रमणमा कमी आएको छ।’

रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सुरु गरिएको अभियान अन्तर्गत फुङ्लिङ नगरपालिकाको फुरुम्बु र फावाखोला, पाथीभरा याङवरक गाउँपालिकाको तिरिङ्गे र थेचम्बु, सिरिजंघा गाउँपालिकाको खेवाङ र याम्फुदिन तथा मिक्वाखोला गाउँपालिकाको साँवा र पापुङमा यो कार्यक्रम सञ्चालन गरिँदै आएको छ । 

बन्ध्याकरणसँगै कुकुरलाई रेबिजविरुद्ध खोप र भिटामिन पनि खुवाउन थालिएको छ । कुकुरलाई दिइने खोप र भिटामिनले पनि रेडपाण्डा संरक्षणमा सघाउ पुग्ने मञ्चले जनाएको छ । कार्यक्रम संयोजक राईका अनुसार कुकुरको शरीर स्वस्थ भई मोटाउने र भद्दा हुने भएपछि शिकार गर्न नरुचाउने हुँदा रेडपाण्डा संरक्षणमा सहयोग पुग्नेछ ।

रेडपाण्डाको वासस्थान रहेको क्षेत्र नजिकका गाउँका कुकुर र बिरालोलाई समेत रेबिजविरुद्धको खोप लगाउनुका साथै भिटामिन खुवाउन थालिएको राईले बताए । रेबिज रोगविरुद्ध खोप लगाएको र भिटामिन खुवाएका अधिकांश कुकुर घरपालुवा छन् भने केही सामुदायिक छन् । 

समुन्द्र सतहबाट झण्डै ३ हजार ६ सय मिटर उचाईमा रेड पाण्डा बढी पाइन्छ । रेडपाण्डा नेटवर्कका अनुसार मुलुकका २३ हिमाली तथा पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, डोल्पा, जुम्ला, मुगु, कालीकोट र जाजरकोटमा रेडपाण्डा पाईदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.