एमसीडी निर्वाचन : दिल्लीमा भाजपाको चुनावी हार, आप बन्यो ठूलो दल
नयाँ दिल्ली : दिल्लीको स्थानीय निकायमा लगातार १५ वर्षदेखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पाटी (भाजपा) को चुनावी हार भएको छ। निर्वाचनमा आम आदमी पार्टी ठूलो दल बन्ने स्पष्ट संकेत देखिएको छ।
स्थानीय निकायको निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा)ले १५ वर्ष लगातारको तीन कार्यकालपछि बुधबार भएको दिल्लीको स्थानीय निकायको निर्वाचनमा हार व्यहोरेको हो।
हालः दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप)ले दिल्ली नगर निगम (एमसीडी) को निर्वाचनमा बहुमत सीटमा विजयी भएको छ। यद्यपि पूर्ण नतिजा भने घोषणा भइसकेको छैन। पछिल्लो मत परिणामअनुसार आम आदमी पार्टीले १३४ सिट जितेको छ भने भाजपाका उम्मेदवारले १०४ वडामा विजय हासिल गरेका छन्।
पछिल्लो एक महिनामा राष्ट्रिय राजधानीमा आप र भाजपाबीच चर्को चुनावी प्रतिस्पर्धा देखिएको थियो। आपको मुख्य चुनावी प्रतिवद्धता दिल्लीका विभिन्न कुनामा बनेका फोहोरका थुप्राहरू हटाउने प्रयासहरूसहित दिल्लीलाई स्वच्छ र सफा सहर बनाउने रहेको थियो।