सन्तानको माग गर्दै लाखौं भक्तजन पुगे दुप्चेश्वर
नुवाकोट : दोस्रो पशुपतिनाथको उपनामले प्रसिद्ध नुवाकोटको दुप्चेश्वरमा धान्यपूर्णिमाका अवसरमा लागेको मेलामा लाखौं भक्तजन पुगेका छन्।
निःसन्तानलाई सन्तान दिने जनविस्वासले प्रसिद्धि कमाएको चर्चित र मुख्य धार्मिक पर्यटकीय स्थल दुप्चेश्वरमा यस वर्षको मेलामा लाखौं भक्तजन सहभागी छन्।
मेलामा उत्साहपूर्वक रूपमा सर्वसाधारणले दुप्चेश्वर पुगेर पूजापाठसमेत गरेका निमित्त प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए।
साताव्यापी लाग्ने मेलामा हजारौ निःसन्तान दम्पत्तिले सन्तान मागेका छन्।
दुप्चेश्वर गाउँपालिका-६ तादी खोलाको पुर्वी मोहडाको किनारामाथिको पहरोमा रहेको दुप्चेश्वरमा गाईको दूध चढाउँदै सम्पन्न भएको छ।
गत वर्षभन्दा २५ प्रतिशत बढी भक्तजन आएका समितिले जनाएको छ। यस मेला शिवरात्रीपछिको नेपालको दोस्रो ठुलो मेला हो।
दुप्चेश्वर मन्दिर नजिकैसम्म सडक पुगेकाले भक्तजनहरुलाई आवतजावतमा सहज भएको छ।
पौराणिक कथनअनुसार सदियौं वर्षअघि स्थानीय करिजुङका कृषक बासु तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा पहरोमा दूध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुग्धेश्वर महादेव रहेको विस्वासमा प्रत्येक वर्ष धान्यपूर्णिकाका दिन विशेष मेला लाग्दै आएको किंवदन्ती रहेको छ।