झापामा खेतबाटै पानी तान्ने मोटरको चोरी बढ्यो
झापा : झापा गाउँपालिकाका कृषकहरूले खेतमा सिँचाइका लागि लगाएको पानी तान्ने मोटर चोरी हुने थालेको छ।
धान सकिएर मकै बाली लगाउने सिजनमै मोटर चोरीका घटना बढेपछि स्थानीय कृषक मारमा परेका छन्।
झापा गाउँपालिका- ६ स्थित भृकुटी चोकबाट मात्रै केही दिनमै खेतमा बोडिङ गरेर जडान गरिएका तीन मोटर चोरी भएका हुन्।
'सोमबारसम्म मोटर खेतमै थियो आज गएर हेर्दा मोटर चोरी भएको रहेछ,' स्थानीय कृषक नैनकला पौडेलले भनिन्।
यता मोटर चोरी गर्ने गिरोहमाथि निगरानीमा बढाएको शरणामती प्रहरी चौकीका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक वीरबहादुर भण्डारीले बताए। प्रहरीमा अहिलेसम्म १२ वटा चोरीका घटनाको उजुरी परेको उनले बताए।
प्रहरीले घटनाका बारेमा सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताउँदै उनले भने, 'चोरी गर्ने गिरोह पत्ता लगाएर कानुनी दायरमा ल्याएरै छाड्छौं।'
दुई वर्षअघि पनि झापा- ७ स्थित मदरगाछमा मोटर चोरीका घटनामा संलग्न गिरोहलाई मोटरसहित प्रहरीले पक्राउ गरेको थियो।