कविता : लोकतन्त्रको फूल
बधाई छ सबैलाई, लाखौं छ शुभकामना।
उचाल्नुस् देशको माथ, हिमाल त्यो उठेसरि।
पाले पुण्य हुने धर्म, धर्मको मूल मर्म हो।
सुम्प्यौं हक तिमीमा नै, गर कर्म सुकर्म त्यो।।
फुलोस् फूल त्यो हेर, फल लागोस् सधैंभरि।
नबाँड सपना सारा, दुःखी ती जनता भरि।।
देश भो रुग्ण यो सारा, भ्रष्ट कीरा जताततै।
देऊ स्वस्थ्य सधैं देश, आफू स्वस्थ्य बनी सधैं।।
देश छोडी बिदेसिँदा, झरेका आँसु तप्तप।
सक्छौ रोक तिनै आँसु, आँसुभित्र त देश छ।।
पेटमा बज्छ सारंगी, पसिना बग्छ तर्तरी।
चेतना सबमा आयो, नयाँ सोच सधैं भरि।।
देवता जनता सारा, राख माथ सधैं भरि।
सुशासन कहीँ छैन, देऊ सेवा सधैं भरि।।
प्रतिज्ञा भीष्मको लेऊ, आमा हुन् देश ती भनी।
नछोऊ देशको कोष, भोको पेट भए पनि।।
भ्रष्टबाट सबै खोसी, लगाउ देशमा अनि।
फर्काऊ नेपाली सारा, दास नहुन् कतै पनि।।
भार भो देशमा सारा, प्रदेश सरकारको।
हुन्न विकासमा बाधा, प्रदेश किन चाइयो ?
खारेज गरे सबै राम्रो, देखिन्छ यो सबैतिर।
जनमत त एकै छ, हटाऊ जननायक।।