लिपि अर्थात् समाजको ऐना
भाषालाई स्थायी रूप दिन ध्वनिहरूको रेखात्मक चिह्नले ठूलो सहायता गरेको हुन्छ। प्राचीन युगका मानिसहरूले आफ्नो मानसिक भावना व्यक्त गर्दा निक्लेका हरेक ध्वनिलाई रेखात्मक चिह्नले प्रकट गर्नुका साथै कल्पान्तसम्म सुरक्षित गराएका छन्। यो काम भाषाको उत्पत्ति भएपछि मात्र सम्भव भएको हो। भाषाको उत्पत्ति भएको कैयौं शताब्दीपछि अनेकांै कुराको आवश्यकताले गर्दा लिपिको आविष्कार गर्न बाध्य भए र सफल भए।
नेपाली लिपि दसौं शताब्दीतिर विकास भएको मानिन्छ। सबैभन्दा पहिला उदाहरणको रूपमा लङ्काभद्र सूत्रको नेपाल युग २८ मा भएको थियो। त्यस्तै, नेपालमा त्यो युग ४० जुन पलमा लिफ मुख्य बुद्ध लिपिमा लेखिएको इतिहासमा उल्लेख छ। लिपिविज्ञ जेम्स् पे्रन्सैसेपका अनुसार सन् १८३० मा सामाजिक अध्ययननामक जर्नलमा प्रकाशन गरेका थिए। त्यसमा उनले लिपि समाजको ऐना र कार्यसम्पादनको मूल खम्बा हो भनी उल्लेख गरेका छन्।
लिपिको उत्पत्ति र विकास
विश्वमा मानव जातिको सृष्टि भएको कैयौं शताब्दीसम्म लिपि (अक्षर)को आविष्कार नभएका कारण ग्रन्थ तयार हुन सकेको थिएन। हजारौं–हजार वर्षपछि मानव सभ्य हुँदै आयो। त्यसपछि देखे, सुने र गरेका घटनासित पुराना कुरालाई सुरक्षित रूपमा स्थायी राख्नलाई नै मानव जातिले लिपिको आविष्कार गरेका हुन्। पहिलो मानिसले कुनै ढुंगामा कोरिएर वा घस्रिएर बनेका रेखाबाटै कोर्न वा लेख्न सिकेका थिए। त्यति बेलाका कोराइहरू चित्रात्मक हुन्थे। यसरी सर्वप्रथम लेख्ने काम मध्यपूर्वको युफ्रेटस र टिग्रिज नदीको मैदानी भागमा भएको हो भन्ने पत्ता लागेको छ।
यी दुई नदीको अन्तराल भूभाग मेसोपोटामिया (इराक) को दक्षिणी भागको समरेली नगरबाटै चित्रात्मक लेखन प्रणाली सुरु भएको कुरा अनुसन्धानबाट पत्ता लागेको छ। यो स्थानको समरेली भाषी, जाति संसारका प्रथम लेखक मानिन्छन्। यिनीहरूले माटोको इँटजस्तो चाक्लो बनाएर त्यसमा अक्षर खोप्थे भन्ने सर हेनरी लेयार्डले पत्ता लगाएका थिए। प्रमाणस्वरूप यही अक्षर भएको एउटा माटाको कपेरो बेलायतको संग्रहालयमा छ। यी जातिले लेखेका युद्धको वर्णन, धार्मिक साहित्य, कृषि, राजनीति, ज्योतिषशास्त्र आदि माटाका चाक्ला पाटामा लेखेका लेख अहिले पनि पाइँदैछन्। लेखनकलाको इतिहासमा मेसोपोटामियापछि मिश्र पर्छ। यही समयमा मिश्रमा चित्रात्मक लेखनकला सुरु भएको देखिन्छ। मेसोपोटामियाको लेखनकला मिश्रमा पुगेपछि चित्र स्वर चित्रहरूमा विकसित भएको थियो।
मेसोपोटामियाका लेखकहरूले स्वरको भिन्न चित्र वा संकेत प्रयोग गरेका थिएनन्। मिश्रका लेखकहरूले नर्कटको कलमले नर्कटकै बोक्रा र पातहरूमा लेख्थे। जसलाई उनीहरू ‘पपिरस’ भन्दथे। यही शब्द पछि आएर अंग्रेजीमा ‘पेपर’ भएको हुन सक्छ। पपिरसमा लेखिएको सबैभन्दा पुरानो पुस्तक ‘मृतको पुस्तक’लाई मानिन्छ। मिश्रको यो लेखनकला पिरामिडको निर्माणकलासँग समता राख्दछ। यो पुस्तक बेलायतको संग्रहालयमा राखिएको छ।
यस पुस्तक पछिको सबैभन्दा पुरानो पुस्तक मिश्र देशको ‘टाह होखे’का उपदेशहरू लेखिएको पुस्तक हो। यो पुस्तक यहुदीहरूका न्यायकर्ता मोजेजको जीवनकाल (ईसापूर्व १४औं शताब्दी) र वेदको लेखनकालभन्दा दुई सय वर्षपछिको अनुमान गरिएको छ। यो ग्रन्थ ‘द ओडिसी’का लेखक होमरको समय (ईसापूर्व नवौं शताब्दी) र राजा सोलोमनको ‘उखान संग्रह’को लेखनभन्दा २५ सय वर्ष जति पुरानो छ। यस तथ्यबाट त्यति पहिलेदेखि नै लिपिको आविष्कार वा सुरुआत भइसकेको देखिन्छ।
लिपिको उत्पत्तिको विषयमा भारतीय विद्वान्हरूका अनुसार ब्रह्माले बनाएको हुनाले ब्राह्मी नाम रहेको हो। मिश्रीहरू मिश्री लिपि निर्माण गर्ने थाथ वा आइसिस हुन् भन्ने मान्दछन्। बेबिलोनियाका मानिस ‘नेबो’लाई र पुराना यहुदीहरू ‘मोमेज’लाई, युनानीहरू ‘हर्मेस’ वा ‘पैलिमस’, ‘प्रमेथ्युस’, ‘आक्र्युस’ र ‘लिनोज’ आदिलाई मान्दछन्। लिपिको विषयमा पनि भाषाको जस्तै रुढिवादी परम्परा देखिन्छ। जेहोस्, मानिसले आफ्नो आवश्यकताअनुसार लिपिको निर्माण गरेका हुन्। यसको विकास मानिसको जंगली अवस्थादेखि नै सुरु हुँदै आएको हुन सक्छ।
आजसम्म विभिन्न स्थानका विभिन्न विषयका विद्वान्हरूले गरेका अनुसन्धानका र लिपिको विकाससम्बन्धी सबैभन्दा पुरानो तथ्य प्रमाणका आधारमा ४००० ईसापूर्वको मध्यसम्म लेख्ने भन्ने कुराको क्रमबद्ध विकास भइसकेको थिएन। यसरी नै १० हजार वर्ष ईसापूर्वतिर केही अपूरा र अधुरा प्रयास भएका हुन सक्छन्। यसबाट १० र ४ हजार ईसापूर्व वर्षको बीचतिर अर्थात् ६००० ईसापूर्व वर्षमा क्रमबद्ध रूपमा लिपिको सुरुआत हुँदै गएको हो। सम्बन्धित विद्वान्हरूले लिपिलाई निम्नलिखित रूपमा विभाजन गरेका छन्। जस्तै– १) चित्र लिपि। २) सूत्र लिपि। ३) प्रतीकात्मक लिपि। ४) भावमूलक लिपि। ५) भाव ध्वनिमूलक लिपि। ६) ध्वनिमूलक लिपि। यसको संक्षिप्त चर्चा तल गरिएको छ :
चित्र लिपि
संसारमा भएका र व्यवहार गरिएका लिपिहरूमा चित्र लिपि सबैभन्दा पहिलो लिपि हो। यही लिपिबाटै चित्रकलाको सुरु भएको मानिन्छ। त्यतिबेला ढुंगा, पहिरो, भित्ता, गुफा, रुख र रुखका बुटाहरूमा मानिस, पशुपक्षी, वन्यजन्तु आदिको चित्र लेखेर राख्दथे। देवीदेवता र अरू कुराको पनि काम अनुसारका चित्र लेख्थे। यस्ता प्रकारका चित्र दक्षिणी फ्रान्स, स्पेन, मेसोपोटामिया, युनान, इटली, पोर्चुगल, साइबेरिया, सिरिया, मिश्र, ग्रेट ब्रिटेन, क्यालिफोर्निया, ब्राजिल, अस्टे«लिया आदि देशमा पाइन्छन्। चित्र लिपिमा जुन वस्तुको बोध गराउनु छ, त्यसकै चित्र जनाइन्छ।
सूत्र लिपि
सूत्र लिपिको इतिहास पनि पुरानो मानिएको छ। यसको चलन आजकल पनि कतैकतै भएको देखिन्छ। हिन्दू विवाहमा लगनगाँठो पार्ने चलनले पनि यसको परम्पराको झल्को दिन्छ। चँदुवा वा चुनरीरंगको धागो, डोरी आदिमा पारेका गाँठाबाट पनि केही सूत्र लिपिको संकेत भएको मानियो। संस्कृतका महत्त्वपूर्ण ग्रन्थहरू पनि यही सूत्र परम्परामा बनेका हुन्। यसैकारण धागोमा गाँठो पारेर कुरा बुझाउने काम पुर्खाहरूले धेरै गर्दै आएका छन्।
यसका लागि निम्न कुरा प्रयोगमा ल्याउँथे– १) डोरीमा रंगीचंगी धागो बाँधेर झुन्ड्याउने। २) डोरीलाई नै रंगी–विरंगी पारी रंग्याउने। ३) डोरी वा छाला आदिमा रंगी–विरंगी वस्तुहरू जडान गर्ने। ४) रंग, आकार आदिमा फरक पारेका डोरीहरू प्रयोग गर्ने। ५) मोटा–मसिना र बाटे–नबाटेका डोरीहरूको प्रयोग गर्ने।
प्रतीकात्मक लिपि
खासगरी टाढा रहेका मानिसलाई कुनै पनि वस्तु पठाएर विषयको बोध गराउने किसिमको चिह्नलाई प्रतीकात्मक लिपि भनिन्छ। जस्तै– कसैलाई चुरा, धागो, टीका आदि पठाएर सौभाग्यको सूचना गरिन्छ। यसमा पौ, ढ, थ र वा जस्ता प्रतीकात्मक विचारको बोधगाम्य हुन्छ। जस्तै, विवाहको, मृतक स्मरण आदिमा सुपारी, पान पठाउने चलन छ। यो चलन अहिलेसम्म छँदैछ। मान, अपमान, सम्झना, बिर्सना आदिका प्रतीकात्मक विषयवस्तु स्थानअनुसार भिन्न–भिन्न किसिमका हुन्छन्।
भावमूलक लिपि
भावमूलक लिपिमा विषयबोधको निमित्त चित्रमूलक लिपिलाई नै मिलाएर लेखिएको हुन्छ। सामान्य चित्र लिपिमा कागको चित्रले एक पक्षी बुझाउँछ भने भावमूलक लिपिमा बाठो मानिस वा कालो मानिसलाई व्यक्त गर्न पनि कागको चित्रको प्रयोग हुन सक्छ। आजकल गरुड वा कुनै पक्षीको चित्र भएको ब्याज लगाएका व्यक्ति विशेषलाई हवाईसम्बन्धी कामका कर्मचारी भन्ने बुझाउँछ। यसरी विचारपूर्वक लेखिने भावमूलक लिपिलाई त्यत्तिकै बुद्धि खियाएर जान्नुपर्छ। आजकल सहरबजारका बाटामा प्रहरीले सांकेतिक चित्रयुक्त पाटीहरू राखेका हुन्छन्, ती पनि यही लिपिको आधारमा विकास भएको हो। अतः यस्ता भावमूलक लिपिले भावना र भ, थ र श्याजस्ता परिदृश्यलाई मात्र आधार लिने गर्छन्। लिपि विकासको इतिहासमा चित्र लिपि र सूत्र लिपिभन्दा भावमूलक लिपि बढी विकसित भएको हुन सक्ने अड्कल गर्न सकिन्छ।
भाव ध्वनिमूलक लिपि
चित्र लिपिको परिमार्जित रूप भाव ध्वनिमूलक लिपिलाई मानिन्छ। भावमूलक र ध्वनिमूलकको समन्वयात्मक रूप भाव ध्वनिमूलक हुन्छ। त्यस बखतमा भाव समायोजन हुँदा ध्वनि ध, मै, श र य जस्ता वस्तुको उचारण बढी हुने हुन्छ। मेसोपोटामियन, मिश्री, हित्ती आदि लिपिलाई भावमूलक र ध्वनिमूलक पनि भन्छन्। चिनियाँ लिपि यसैअन्तर्गत पर्छ।
ध्वनिमूलक लिपि
चित्र लिपि र भावमूलक लिपिले कुनै वस्तु वा भावलाई मात्र बुझाउँछ। वस्तु र भावमा समन्वय हुँदैन। ध्वनिमूलक लिपिले कुनै वस्तु र भावलाई देखाउँदैन। तर, ध्वनि प्रकट गर्छ। जो, त, तो र स्वरवर्णमा निर्भर हुन्छन्। त्यसैको आधारमा कुनै वस्तु वा त्यसको भावलाई लेख्न सकिन्छ। नागरी वा नागरी वर्गका, अरबी, अङ्ग्रेजी आदि लिपिहरू ध्वनिमूलक हुन्।
ध्वनिमूलक लिपिका दुई भेद हुन्छन्, छन् : १) अक्षरात्मक लिपि २) वर्णात्मक लिपि। अक्षरात्मक लिपिमा चिह्नले कुनै अक्षरलाई बुझाउँछ, वर्णलाई होइन। जस्तै– नागरी लिपि अक्षरात्मक हो। लिपि विकासको पहिलो खुड्किलो चित्र लिपि हो भन्ने मानेमा पछिल्लो पाइलो वर्णात्मक लिपिलाई मान्नुपर्छ। वर्णात्मक लिपिले प्रायः सबै किसिमको ध्वनि व्यक्त गर्ने भिन्न भिन्न चिह्नहरू निर्धारण गरेको छ।
लिपिको विकासक्रम
माथिका ६ प्रकारका लिपिमध्ये सूत्र लिपि र प्रतीकात्मक लिपिको विशेष स्थान देखिँदैन। यी दुई प्रकारका लिपिबाहेक अन्य लिपिमा चित्र लिपिको विकसित रूप नै भावमूलक लिपि हो। यही भावमूलक लिपि विकसित भएर ध्वनिमूलक लिपिमा परिणत भएको हो। ध्वनिमूलकमा पनि अक्षरात्मक ध्वनिमूलक लिपि पहिलेको र त्यसपछि त्यही लिपिबाट वर्णात्मक र ध्वनिमूलक लिपि विकास भएर लिपिको विकास भएको हो।
विश्वका प्रमुख दुई लिपि
संसारमा चलेका लिपिलाई दुई भागमा विभाजन गरेको पाइन्छ।
१) जसमा अक्षर वा वर्ण हुन्छ। उदाहरणका लागि क्युनिफार्म (तीन चुच्चे) र चिनियाँ आदि।
२) जसमा अक्षर र वर्ण हुन्छ। उदाहरणका लागि नागरी र रोमन आदि।
पहिलो वर्गमा आउने मुख्य लिपि
१) क्युनिफर्म (तीन चुच्चे)। २) हिरोग्लाफिक। ३) क्रिट। ४) सिन्धु घाँटीको लिपि। ५) हिहाइट लिपि। ६) चिनियाँ, मध्य अमेरिका र मेक्सिको आदि स्थानका लिपिहरू।
दोस्रो वर्गमा आउने मुख्य लिपिहरू
१) दक्षिणी सामी लिपि। २) हिब्रु लिपि। ३) फोनेसियन लिपि। ४) खरोष्ठी लिपि। ५) आर्मेइक लिपि। ६) अरबी लिपि। ७) भारतीय लिपि। ८) ग्रीक लिपि। ९) ल्याटिन लिपि।
क्युनिफर्म (तीन चुच्चे) लिपि
यो लिपि संसारको सबैभन्दा प्राचीन मानिएको छ। यसको उत्पत्तिको ठीक समय अझै पत्ता लगाउन सकिएको छैन। तापनि यसलाई ईसापूर्व ४००० ताकाको मानिन्छ। यस लिपिका स्रष्टा सुमेरी जातिका मानिसलाई मानेका छन्।
हिरोग्लाफिक लिपि
यो लिपिलाई पवित्राक्षर, गूढाक्षर, चित्राक्षर वा बीजाक्षर पनि भनिन्छ। यो लिपिको महत्त्वपूर्ण स्थान छ। यसको नाम युनानीहरूले राखेका हुन्। ४००० ईसापूर्वमा यसको चलन भएको अनुमान गरिएको छ। यो लिपि सुरुमा चित्र लिपिबाटै विकास भएर अक्षरात्मकमा परिवर्तन भएको हो।
क्रिट लिपि
यस लिपिमा चित्रात्मक र रेखात्मक दुवै प्रकारका पद्धतिको समन्वय छ। मिश्रको हिराग्लाफिक लिपिको छाप परेको यो लिपि ३००० ईसापूर्वतिर प्रयोगमा आएको अनुमान गरिएको छ। यो लिपिका १३५ चित्र पाइएका छन्।
हिहाइट लिपि
ईसापूर्व १५०० तिर प्रयोग भएको यो लिपि ६०० ईसापूर्व पछि बन्द भएको थियो। यो लिपिका ४१९ चित्रहरू पाइएका छन्। यसमा पनि मिश्री लिपिको प्रभाव परेको मानिन्छ।
चिनियाँ लिपि
विद्वान्हरूका अनुसार चिनियाँ लिपि आठ प्रकारका त्रिपंक्तियुक्त रेखाबाट बनेको हुन्छ। ३२०० ईसापूर्वतिर फु.हे. नामका व्यक्तिले यसको आविष्कार गरेका भए पनि धार्मिक व्यक्तिहरू ‘त्जुसेन’ले बनाएको मान्छन्। जे होस्, ‘चिनियाँ विश्वकोशमा ६६८ ईसापूर्वमा त्सं–की’ नामको व्यक्तिलाई चिनियाँ लिपिको आविष्कारक मानेका छन्। कुनै पशुपक्षी, कछुवा आदिको अंग हेरी यो लिपिको निर्माण भएको मानिन्छ।
अरबी लिपि
अरबी लिपि पनि संसारको प्राचीन लिपि हो। यसको उत्पत्ति सामी लिपिको तेस्रो पुस्तामा गएर अरबी लिपि बनेको थियो। अरबीको प्राचीन अभिलेख ५१२ ईसापूर्वको पाइएको छ। यो लिपिको विकास मक्का, मदिना, बसरा, कुफा, दमस्कस आदि सहरमा भयो। यो कुफी र नस्खी दुई प्रकारमा विभाजित छ। कुफीभन्दा पछि नस्खी विकास भएको हो। यो लिपि दायाँबाट लेखिन्छ। यसका २८ अक्षर छन्। यो लिपिलाई चलाउने युरोप र एसियाका राज्यहरूमा तुर्की (पहिलो थियो), फारस, अफगानिस्तान, पाकिस्तान र हिन्दूस्तान (पहिलो) आदि देश प्रमुख छन्।
सिन्धुघाँटीको लिपि
भारतमा लेखनकलाको प्रचार ज्यादै प्राचीन कालदेखि हुँदै आएको छ। यसको पुरानो नमुना सिन्धुघाँटी (पञ्जाबको हडप्पा र मोहन जो दहो) मा पाइएका छन्। यो लिपि जान्न धेरैले प्रयास गरे। अझ सफल हुन सकेका छैनन्। सिन्धुघाँटीको लिपिको उत्पत्तिको बारेमा तीन मत भएको पाइन्छ।
१) द्रविड उत्पत्ति
यसमा एच. हेरान र जान मार्सल नामक व्यक्तिले सिन्धुघाँटीको सभ्यतालाई द्रविडको सभ्यता मानेका छन्। द्रविडहरू नै यस लिपिका आविष्कारक मानिन्छन्।
२) सुमेरी उत्पत्ति
सिन्धुघाँटीको लिपि सुमेरी लिपिबाट निक्लेको हो भन्ने कुरा एल.ए. बैडेल र डा. प्राणनाथले मानेका छन्। यिनीहरूका मतमा सिन्धुघाँटीमा ४००० ईसापूर्वका जातिका मानिस थिए। तिनीहरूकै भाषा र लिपि त्यहाँ चलेको हो।
३) असुर उत्पत्ति
सिन्धुघाँटीमा असुर जातिका मानिस थिए अर्थात् द्रविड जाति बसोबास गर्दथे। यिनीहरूले नै लिपि निर्माण गरेका हुन्। प्राचीन एलामाइट, सुमेरी र मिश्री लिपिसित सिन्धु लिपिको समानता देखिएकाले ती देशमा भारतबाट लिपिले बसाइँ सरेको हो भन्ने अनुमान छ। यो लिपि भावमूलक र अक्षरात्मकको बीचमा छ। यसलाई ‘भावध्वनिमूलक लिपि’ मानेका छन्।
लिपिको प्राचीनता
सिन्धुघाँटीको लिपि थाहा पाउनुभन्दा पहिले भारतमा लेखनकलाको चलन धेरैपछि भयो भन्ने धारणा थियो। ईसापूर्व चौथो शताब्दीको पाणिनिको ग्रन्थ अष्टाध्यायिम लिपिको कुरा छैन (म्याक्समुलरको मतमा)। अक्त चौथो शताब्दी ईसापूर्वभन्दा पछिमात्र लिपिको प्रचार भयो। अर्का बर्नेलको अनुसार फोनेसियाबाट ४औं वा ५औं शताब्दी ईसापूर्वमा भारतीयहरूले अक्षरकला सिकेका थिए। डा. बुलरको मतमा ५०० ईसापूर्वमा भारतीयहरूले सेमेटिक लिपिको आधारमा ब्राह्मी लिपिको आविष्कार गरे। अरू विदेशीको लेखबाट पनि धेरै प्रमाण थाहा पाइएको छ।
- मानव जातिको सृष्टि भएको कैयौं शताब्दीसम्म लिपिको आविष्कार नभएका कारण ग्रन्थ तयार हुन सकेको थिएन।
- देखे, सुने र गरेका घटनासित पुराना कुरालाई सुरक्षित रूपमा स्थायी राख्नलाई नै मानव जातिले लिपिको आविष्कार गरे।
- सर्वप्रथम लिपि लेख्ने काम मध्यपूर्वको युफ्रेटस र टिग्रिज नदीको मैदानी भागमा भएको हो भन्ने पत्ताा लागेको छ।
- मिश्रका लेखकहरूले नर्कटको कलमले नर्कटकै बोक्रा र पातहरूमा लेख्थे। जसलाई उनीहरू ‘पपिरस’ भन्दथे। यही शब्द पछि आएर अंग्रेजीमा ‘पेपर’ भएको हुन सक्छ।
- सिन्धुघाँटीको लिपि थाहा पाउनुभन्दा पहिले भारतमा लेखनकलाको चलन धेरैपछि भयो भन्ने धारणा थियो।
- भारतमा चलेका लिपिहरूमा सिन्धुघाँटीको लिपिबाहेक प्रायः शिलालेख र मुद्राहरूमा ब्राह्मी र खरोष्ठी लिपिको नै प्रयोग भएको छ।
३२६ ईसापूर्वका सेनापति नि आर्कसले भारतमा लेख्ने कागत पाइने कुरा बताएका छन्। ४०० ईसापूर्वका जातक ग्रन्थहरूमा सुनको पातमा अक्षर काट्ने चिठीपत्र लेख्ने कुराको बयान छ। रामायण, महाभारत, अर्थशास्त्र र अष्टाध्यायी सूत्रमा पनि लिपिसम्बन्धी कुराको संक्षिप्त रूपमा प्रसंग आएको छ। अष्टाध्यायी सूत्रमा लिपि, लिवि, लिपिकर, लिविकर, यवनानी आदि शब्दले लिपिसम्बन्धी कुराको प्रमाण दिएका छन्। पुराना शिलापत्रमा ४८३ ईसापूर्वको लिपि पाइएको छ। खरोष्ठी र ब्राह्मी लिपिमा अशोकका शिलापत्रहरू पाइएका छन्। अरू देवताका मूर्ति र मुद्राहरू पाइएका छन्। यीबाट पनि लिपिसम्बन्धी प्रचलन प्राचीन कालमा थियो भन्ने कुराको प्रमाण पुष्टि हुन्छ।
प्राचीन लिपिहरू
भारतमा चलेका लिपिहरूमा सिन्धुघाँटीको लिपिबाहेक प्रायः शिलालेख र मुद्राहरूमा ब्राह्मी र खरोष्ठी लिपिको नै प्रयोग भएको छ। जैनको पन्नवण सूत्रमा १८ प्रकारका लिपिहरूको नाम दिएको छ। लिपिमध्ये आजकाल ब्राह्मी, खरोष्ठी, रञ्जना, दरद र गन्धर्व आदि पाइएका छन्।
खरोष्ठी लिपि
खरोष्ठी लिपिको प्राचीनतम लेख पाइएको छ। यसलाई भारत बाहिरकाले पनि प्रयोग गरेका छन्। यो लिपिको सामग्री चौथो शताब्दी ईसापूर्वदेखि तेस्रो शताब्दी ईसापूर्वसम्मको पाइएको छ। यसमा इन्डोब्याक्ट्रियन, ब्याक्ट्रियन, काबुलियन, ब्याक्टोपाली र आर्यन आदि धेरै नामका पाइएका छन्। धेरै प्रचलित नाम खरोष्ठी नै छन्। जुन चिनियाँ साहित्यमा सातौं शताब्दीसम्म चलेको पाइएको छ विद्वान्हरूका मतअनुसार यो लिपि आर्मेश्कबाट बनेको हो। सुरुमा यो लिपि उर्दूको जस्तै दायाँबाट बायाँतिर लेखिन्थ्यो। पछि ब्राह्मीको प्रभावले गर्दा देब्रेबाट दायाँतिर जाने गराए। यसलाई नागरी जातिको स्तरमा वैज्ञानिकहरू मान्दैनन्। खरोष्ठी लिपिमा अशोककालीन शिलापत्र पनि हुन सक्छ।
भारतको पश्चिमोत्तर प्रान्तमा मात्र एक अशोक स्तम्भ यही लिपिको पाइएको छ। यसको भाषा ‘दरद’ हो भनिएको छ। यो खस वा नेपालीको प्राचीन कालको रूप हो भन्ने अनुमान गरेका छन्। यसरी अनुमानको भरमा अँध्यारोमा झटारो हान्ने काम भएको देखिन्छ। खरोष्ठी वा खस लिपिभन्दा दरद लिपिको अस्तित्व बिलकुलै पृथक् र भिन्न रहेको छ। खरोष्ठी वा खस लिपि खस ब्राह्मणको हो भने दरद लिपि दमाईं जातिको हो। बौद्ध ग्रन्थको ललितविस्तार ग्रन्थमा समेत ६४ लिपिभित्र दरद लिपिको स्पष्ट रूपमा उल्लेख भएको पाइन्छ। १७५८ सालमा अछामका भीम शाही र पितृ शाहीले ताम्रपत्रमा समेत खस लिपि र दरद लिपिको प्रयोग गरेका छन्।
दमाईं पुर्खाहरूले प्राचीन समयमा दरद लिपिको विकाससँगै कलौती मातृभाषाको विकास गरेको पाइन्छ। उनीहरूले यस भाषाको कथ्य, लेख्य, वाच्य परम्परका साथै भाषाको प्राचीन हस्तलिखित ग्रन्थ अभिलेखसमेत आजसम्म सुरक्षित राखेका छन्। तसर्थ अशोक स्तम्भको दरद लिपि हुन सक्छ किनकि तथागत बुद्धले भाषा अध्ययन गर्न जाँदा कपिलवस्तु महानगरमा ६४ लिपिभित्र दरद लिपिको उल्लेख गरिएको पाइन्छ। खस वा नेपालीको प्राचीन रूप हुन सक्ने भनेर अनुमान गर्नु तथ्यपरक र वस्तुगत आधार प्रमाणित हुनै सक्दैन। दरद लिपिको आफ्नै छुट्टै स्वतन्त्र अस्तित्व रहेको बिर्सन मिल्दैन।
ब्राह्मी
ब्राह्मी लिपि प्राचीन भारतको सर्वश्रेष्ठ लिपिमा गणना हुन्छ। यसको प्राचीन नमुना स्तूपा र शिलालेखहरूमा पाइएका छन्। यो लिपिको समय पाँचौं शताब्दी ईसापूर्व मानिएको छ। त्यो बेलादेखि लिएर ३५० ईसापूर्वसम्म यो लिपिको प्रयोग भएको पाइएको छ। यो लिपिको चलन धेरै वर्षदेखि चलेर आएको हुनाले यसको निर्माणकर्ता ब्रह्मा नै हुन् भन्ने धारणा भएको हुनाले नै यो लिपिको नाम ‘ब्राह्मी’ रहेको हो। चिनियाँ विश्वकोश ‘फा–वान–शु–लिन’ (६६८ ई.) मा यो लिपिको निर्माता ब्रह्मा वा ब्रह्मा नाम भएको कुनै आचार्य थिए। तिनैको नामबाट यसको नामकरण भएको हो भन्ने लेखिएको छ। भारतीयहरूले ब्रह्म (वेद अर्थात् ज्ञान) को रक्षाका निमित्त बनाएका हुनाले ‘ब्राह्मी’ नाम रहेको हो। केही साक्षर ब्राह्मण समाजले विशेषरूपमा प्रयोग गर्ने हुनाले नै ‘ब्राह्मी’ नाम भएको हो।
ब्राह्मी लिपिको सबैभन्दा पुरानो नमुना चौथो शताब्दी ईसापूर्वको पाइएको छ। त्यसपछि उत्तर भारत र दक्षिण भारतका रूपमा फरक देखिन लाग्यो। उत्तरी भारतको रूपमा पुरानै रूपसित मिल्दोजुल्दो थियो। दक्षिणी भारतको रूपमा दक्षिणी ढंगले विकास हुँदै फरक हुँदै गयो। यो लिपि भारतबाट बाहिर जहाँ–जहाँ पुग्यो, त्यहाँ–त्यहाँ भिन्न–भिन्न आकारको हुँदै गयो। मध्यएसियाको ब्राह्मी लिपिमा पुरानो खेतानी र तोखारी आदि भाषाका लेखहरू पाइएका छन्। नेपाल सरकारको पुरातत्त्व विभागले प्रकाशित गरेको प्राचीन लिपि विकास तालिकामा पनि ब्राह्मीबाटै क्रमशः विकास भएको जस्तो देखिन्छ। नेपालमा प्रचलित अन्य विभिन्न लिपिक्रमअनुसार सामान्य परिचय यस प्रकार रहेको छ :
१) गुप्ता लिपि वा पूर्वलिच्छवि लिपि
गुप्त राजाहरूको समयमा (चौथो र पाँचौंं शताब्दी) मा यो लिपिको प्रचार भएको हुनाले यसलाई ‘गुप्ता लिपि’ भनिएको हो। यही लिपि नेपालमा पूर्वकालीन लिच्छवि राजाहरूको समयमा चलेको थियो। अक्त नेपालमा पुरातत्त्व विभागले यो लिपिलाई ‘पूर्वलिच्छवि लिपि’ नामकरण गरेको हो। यस लिपिका शिलापत्रहरू नेपालमा धेरै पाइएका छन्। नेपालका पूर्वकालीन लिच्छवि राजाहरू वृषदेव, शंकरदेव (प्रथम), धर्मदेव, मानदेव (५२१–५४८ वि.सं.) हुन्। यिनीहरू पछि क्रमशः महिदेव, वसन्तदेव, वामनदेव, रामदेव, गणदेव, शिवदेव (प्रथम) आदि मानिएका छन्। यिनै राजाहरूका समयका शिलापत्रमा लेखिएका अक्षरलाई ‘पूर्वलिच्छवि लिपि’ मानिएको छ।
२) कुटिला लिपि वा उत्तर लिच्छवि
यो लिपि गुप्त लिपिबाट वा पूर्वलिच्छवि लिपिबाट बनेको हो। यो लिपि उत्तरकालीन लिच्छवि राजाहरूको समयमा प्रचलित थियो। अतः यसलाई उत्तर लिच्छवि लिपि नामकरण गरिएको हो। केही विद्वान्हरूले स्वरको मात्रामा केही कुटिल वा टेढो पारेर प्रयोग गरिने हुनाले कुटिला लिपि नामकरण गरे। तर, हाम्रो यहाँ राजाहरूको प्रशासनिक कालको आधारमा लिपिको पनि नाम राखेका हुनाले उत्तर लिच्छवि लिपि भनिएको हो। यस लिपिमा लेखिएका शिलापत्रहरूका साथै ग्रन्थ पनि प्रशस्त पाइएका छन्।
अंशुवर्मा पछिका अभिलेखहरू प्रायः यही लिपिमा लेखिएको पाइएका छन्। नागरी लिपिको प्रचलनभन्दा अघि (हाम्रो यहाँको अभिलेख संग्रहालयमा भएको बाल्मीकि रामायणमा प्रयोग गरिएको नागरी लिपिभन्दाअघि) को प्रचलनमा आएको लिपिलाई उत्तरलिच्छवि लिपिमा गणना गरिएको छ। भारतीय विद्वान्हरू कुटिला लिपि अर्थात् उत्तरलिच्छवि लिपिबाट पुरानो नागरी लिपि र शारदा लिपि विकास भएको मान्दछन्। तर, नेपालमा आफैंंं विकासक्रम मानिएको छ। यो क्रम हाम्रो लिपि विकास तालिकाबाट पनि बुझिन्छ।
प्राचीन नागरी लिपि
यो लिपिको प्रचार उत्तर भारतमा नवौं शताब्दीको अन्तिम समयदेखि चलेको देखिएको छ। यो लिपिलाई खासगरी उत्तरी लिपि भन्छन्। तर, दक्षिण भारतका केही स्थानमा आठौं शताब्दीदेखि यो लिपिको प्रचलन भएको देखिन्छ। दक्षिणी भारतमा यो लिपिलाई नागरी नभनेर ‘नन्द नागरी’ भन्दछन्। आजकलको नागरी वा देवनागरी, गुजराति, महाजनी, राजस्थानी आदि लिपिहरू यही प्राचीन नागरी लिपिको पश्चिमी रूपबाट विकास भएको मानिएको छ। यही नागरीको पूर्वी रूपबाट कैथी, मैथिली र बंगाली आदि लिपिहरूको विकास भएको हो।
यसको प्रचार १६औं शताब्दीसम्म भएको देखिन्छ। नागरी लिपिलाई नै देवनागरी लिपि भनिएको हो।
१) गुजरातका ब्राह्मणद्धारा प्रयुक्त गरिएको हुनाले नागरी रहेको हो।
२) ललितविस्तार ग्रन्थमा उल्लिखित ‘नाग लिपि’लाई नै नागरी लिपि भनिएको हो। तर, यो सम्भव नहुन सक्छ। किनकि नाग जाति र नाग लिपिको पृथक अस्तित्व र इतिहास छ।
३) विशेषगरी नगर (सहर) मा चलेको हुनाले नागरी नाम रहेको हो।
४) तन्त्र ग्रन्थको तान्त्रिक चिह्न देवनगरिसत मिल्ने हुनाले पनि देवनागरी वा नागरी राखिएको हो।
५) देवनगरबाट उत्पन्न ‘काशी’मा प्रचार भएकाले देवनागरी नाम रहेको हो।
यी मतमध्ये तेस्रो मत सबैभन्दा ठिक जस्तो देखिए पनि यही नै सही हो भन्न सकिँदैन।
शारदा लिपि
काश्मीर निवासीहरूले ब्राह्मीबाट शारदा लिपिको निर्माण गरे। काश्मीरकी अधिष्ठात्री शारदादेवी हुनाले लिपिको नाम पनि ‘शारदा लिपि’ राखे। यो लिपि कुटिला लिपिबाट विकसित भएको हो। भारतको उत्तर पश्चिमका नगरक्षेत्र (सिन्ध, पञ्जाव, काश्मीर) मा यसको प्रचार भएको छ। आजकल यो शारदा लिपिबाट पश्चिम भारतमा अरू धेरै किसिमका लिपिहरू पनि विकसित भएका छन्। जस्तै– टाकरी, सिरमौरी, डोग्री, चमेआली, मन्डेआली, जौनसारी, कोछी, कुल्लुई, लन्डा, कइप्वारी, मूलतानी बानिको, गुरुमुखी इत्यादि। यी लिपिका भाषा पनि भिन्दाभिन्दै छन्।
प्रचलित नागरी लिपि
नेपालभर जीवित भाषासाहित्य नेपाली हो। यसको आफ्नै स्वतन्त्र लिपि नहुनाले आफ्नो साहित्यिक अभिव्यक्ति र चेतनाको प्रस्तुतीकरणको निमित्त देवनागरी लिपिको सहायता लिएको छ। नेवारी भाषा, किराँती भाषा र मैथिली भाषाले पनि आफ्नै स्वतन्त्र लिपि कायम गरेका छन्। ती लिपि पनि ब्राह्मी लिपिको स्थान भेद र काल भेदले गर्दा रूपान्तरण वा विकसित भएका हुन्। यी पनि कुठिलाक्षर भन्दा पछिल्लो हुनाले नेपाली समाजमा व्यवहार नहुनाले र पुराना भएका हुनाले दुर्बोध भएका छन्। अतः ती सबै भाषाभाषीले आफ्नो व्यवहार सजिलैसित चलाउन र अर्को भाषाभाषीसँग सम्पर्क कायम गराउन नागरी लिपि नै ग्रहण गरेका छन्।
यो एउटै लिपिको व्यवहारले गर्दा नेवारी भाषा र नेपाली भाषामा समानताका साथै आत्मीयता देखिएको छ। अरू भारतीय भाषाहरूमा पनि देवनागरीका जति आश्रित छन् त्यति सबै भाषासँग नेपाली भाषाको सानिध्यजस्तो देखिन्छ। प्राचीन नागरी वा नन्दनागरी लिपिबाट नै यसको विकास भएको हो। विद्वान्हरूको विचारमा भारतमा संस्कृत र हिन्दीको लिपि र नेपालमा नेपाली र नेवारी पनि नागरी नै हो। अरू पाली र प्राकृत भाषा पनि यही लिपिमा छन्।
भारतीय विद्वान्हरूले देवनागरीको विकासक्रममा ब्राह्मी–गुप्ता–कुटिला–शारदा–नागरीलाई मानेका छन्। त्यही ब्राह्मीबाट नेपाली परम्पराअनुसार लिपिको विकासक्रम भएको मानिन्छ। जस्तै–ब्राह्मी–पूर्वलिच्छवि–उत्तरलिच्छवि–रञ्जना–भुजिमोल–पाचुमोल–नन्दनागरी–देवनागरी लिपि। यो क्रम नेपाल सरकारको पुरातत्त्व विभागको लिपिविकास तालिकाअनुसार छ। पूर्वोक्त लिपिहरूको साधनामा ब्राह्मी लिपिलाई नै नेपाली लिपि विकासको सबैभन्दा पहिलो रूप मानिएको छ। यो लिपिमा लेखिएका ग्रन्थहरू भने पाइएका छैनन्। नेपालको भैरहवा र निग्लिहवामा पाइएका अशोककालीन दुई खम्बा छन्। यिनै दुई खम्बालाई नेपालले ब्राह्मी लिपिको महत्त्वपूर्ण सम्पत्ति मानिन्छ।
पूर्वलिच्छवि लिपि
यो लिपि ब्राह्मीबाटै विकसित भएर बनेको हो। यही लिपिलाई भारतमा गुप्ता लिपि भन्थे। नेपालमा लिच्छविहरूको शासनकाललाई दुई किसिमले विभाजन गरेका छन्– पूर्वलिच्छवि र उत्तरलिच्छवि। पूर्वलिच्छविको वृषदेवको समयदेखि शिवदेव प्रथमको समयसम्म र उत्तरलिच्छविको अंशुवर्माको समयदेखि मल्लहरूको शासन सुरु हुने समयसम्म थियो। पूर्वलिच्छवि लिपिमा लेखिएको प्रमुख साधन चाँगुनारायणको लिच्छविकालीन अभिलेख मानदेवको समयको हो। यो आजभन्दा करिब १५ सय वर्ष पुरानो मानिएको छ।
विक्रमको नवौं शताब्दीसम्मको पूर्वलिच्छवि लिपिका ताडपत्रका ग्रन्थहरू अभिलेखालयमा सुरक्षित छन्। पूर्वलिच्छवि लिपिबाट केही कुटिल ढंगले मात्राहरूको संयोग गरी बनाइएको लिपिलाई उत्तरलिच्छवि लिपि भनिएको छ। पूर्वलिच्छवि लिपिमा केही सुधार गरी बनाइएको वा पछिल्लो लिच्छविकालमा प्रयोग भएकोलाई उत्तरलिच्छवि लिपि नाम राखिएको छ। उत्तरलिच्छवि भन्नाले करिब ६४५ सालदेखि १०६५ सालसम्मको समय (अंशुवर्मादेखि गुणकामदेव प्रथमसम्मको राजाहरूको शासनकाललाई लिइन्छ) हो। यही समयमा प्रयोग भएका लिपिलाई उत्तरलिच्छवि लिपि मानिएको छ। यो लिपिमा लेखिएका ग्रन्थहरू अभिलेखालयमा सुरक्षित छन्। पूरातत्त्वको लिपि तालिकामा किराँती लिपि र भोट लिपि पनि समावेश छन्। यी दुईबाहेक अरू नेपाली लिपिको क्रमानुसार तल चर्चा गरिएको छ।
उत्तरलिच्छवि लिपिपछि रञ्जनाको क्रम छ। रञ्जना लिपि कलात्मक दृष्टिबाट विशेष महत्त्वको छ। नेपालमा मल्लकालीन समयका हस्तलिखित ग्रन्थहरू र बौद्ध ग्रन्थहरू नेवारी भाषाका ग्रन्थहरू यही लिपिमा छन्। यो लिपिको समय १०६६ सालपछिको हो। रञ्जनापछि भुजिमोल लिपिको समय आउँछ। रञ्जना अक्षरको तल्लो भाग कलात्मक भएजस्तै भुजिमोल लिपिको अक्षरको माथिल्लो भाग कलात्मक बनाइएको छ।
यसपछि मानिने पाचुमोल लिपिमा कुनै कलात्मक उपकरण छैन। लिपिको सामान्य रूप स्थिर गरिएको छ। यसलाई नेवारी लिपि पनि भनिएको छ। यो लिपिमा नेवारी भाषामा नेवारी भाषाका बौद्ध ग्रन्थहरू र संस्कृतका पुराना ग्रन्थहरू पनि लेखिएको छ। यही क्रममा ‘नन्द नागरी लिपि’ छ, जुन आजको नागरी लिपिको ज्यादै निकटमा छ। यसैबाट नागरी लिपि बनेको हो। यसपछि हिजोआज चलेको देवनागरी लिपिको प्रसंग आउँछ। काठमाडौंं उपत्यकामा नागरी लिपि १५औं शताब्दीदेखि चलेको पाइएको छ। यसको प्रमाणको रूपमा धेरै शिलापत्र, ताम्रपत्र र लालमोहरहरू छन्। मल्ल राजाहरूले नेवारीभाषामा केही विशेष अवस्थामा बाहेक अरू सामान्य कामकाजसम्बन्धी लेखमा नागरी लिपिको नै प्रयोग गरेको पाइएको छ।
राष्ट्रिय अभिलेखालयमा भएको ‘बाल्मीकि रामायण’ संसारमा भएको देवनागरीको लिपिको सबैभन्दा प्राचीन ग्रन्थ मानिन्छ। यसको अध्ययन गर्दा देवनागरीको पूर्वरूप थाहा पाइन्छ। यो ग्रन्थ आजभन्दा एक हजार वर्षअघि अर्थात् १०७६ सालमा लेखिएको भन्ने अंकित छ। उपत्यकामा चलेको ‘नेवारी लिपि’ रञ्जना र भुजिमोल र पाचुमो लिपिहरू नै हुन्। यी लिपिमध्ये कुनैलाई पनि ‘नेवारी लिपि’ भनिन्छ।
नेपालमा पाइएका अरू लिपिमा किराँत लिपि, भोट लिपि र मैथिली लिपिहरू प्रसिद्ध छन्। मैथिली लिपि प्राचीन नागरी लिपिको पूर्वी विकासक्रममा बनेका लिपिमध्ये एक हो। यो लिपि बंगालीजस्तै छ। यसको क्षेत्र मिथिला प्रदेश हो। यहाँ रहेका शक्तिशाली डोम राजवंश भने गुमनाम पारिएका छन्। मैथिलीहरूले बंगालका सेन राजाले चलाएको संवत्लाई लक्ष्मण संवत् भनी आफ्नो मानेर व्यवहार गरेका छन्। विक्रम संवत् ११७६ हुँदा लक्ष्मण संवत् सुरु भएको हुनाले ती दुई संवत्को अन्तर ८५२ वर्ष हुन्छ। राष्ट्रिय अभिलेखालयमा भएका मैथिली लिपिका ग्रन्थहरूमा लक्ष्मण संवत् दिइएको छ। मैथिली लिपिको सुरुआत विक्रमको दशौं शताब्दीतिर भएको अनुमान गरिएको छ।
किराँत लिपि
किराँती सभ्यतामा जति उत्तरीहरूको प्रभाव छ, त्यत्तिकै यस लिपिमा दक्षिणीको प्रभाव पनि परेको जस्तो देखिन्छ। अर्थात् किराँत लिपि पनि यतातिरकै लिपिसमेत मिल्दोजुल्दो छ। नेपालको इतिहासमा किराँत वंशको शासनकाल सोमवंशी राजाहरूको भन्दा पहिलेको मानिएको छ। प्रथम किराँती राजा ‘यलम्बर’ हुन्। यिनका सातौं पुस्तामा ‘जितेदास्ती’ भए। यही समयमा कपिलवस्तुबाट गौतमबुद्ध नेपाल (काठमाडौंं उपत्यका) आएका थिए भन्ने इतिहासकारहरूको भनाइ छ। यति प्राचीन समयमा पनि सभ्यता, संस्कृति आदिले सुसम्पन्न किराँती राज्यमा लिपिको निर्माण अवश्य नै थियो होला। कुन किसिमको वा कस्तो लिपि थियो चाहिँ भन्न सकिँदैन। यसरी लिपिको उत्पत्ति र विकास भएको पाइन्छ। विभिन्न जातिको आआफ्नै लिपि र मातृभाषा छ। सबैको साझा, सम्पर्क र बोलीचालीको भाषा भने देवनागरी नै बनेको छ।