कतारको असन सुक वाकिफ

कतारको असन सुक वाकिफ

कतार वर्षौंदेखि नेपालीको वैदेशिक रोजगारीको गन्तव्य। अहिले त झन् फुटबलको महासंग्राम विश्वकपलाई लिएर यो देश चर्चाको शिखरमा छ। नेपाल र नेपालीसँग सुखद र दुःखद् सन्दर्भहरूसँग जोडिएको यो देश, त्यसैले होला पहिलेदेखि नै मध्यपूर्वको यो मुलुकमा केही समय बस्ने मौका मिले हुन्थ्यो भन्ने भित्री इच्छा थियो। अन्ततः ‘तँ चिता म पुर्‍याउँछु’ भन्ने नेपाली उखान चरितार्थ भयो। 

छोटो समयका लागि दोहा बस्ने गरी रोजगारी प्राप्त भयो। त्यसै सिलसिलामा सन् २०२२ फेब्रुवरीको अन्तिम साता दोहास्थित हमाद विमानस्थलले कतारमा मलगायत साथीहरू सत्य, रूपा, प्रकाश, प्रज्ज्वल, सुरेन्द्रलाई न्यानो स्वागत गर्‍यो। अनि केही महिनाको बासस्थान दोहाको अल साफिया रोडमा अवस्थित होटल गोल्डेन टुलिप बन्यो। त्यसबेला कतार विश्वकपका लागि आफूलाई सिगार्न तल्लिन थियो। बाटोघाटो, फुटपाथ, बगैंचा आदि निर्माणको काम युद्धस्तरमा चलिरहेको थियो। 

नयाँ ठाउँमा आफू बस्ने वरिपरि घुम्न, हेर्न लायक के कस्ता ठाउँ होलान् भनेर जान्ने कौतुहलता जाग्ने नै भयो। दोहामा नौलो नै भएकोले अफिसको एक सहकर्मीलाई सोधें ‘यहाँ घुम्न लायक ठाउँ के के छन् ?’ ‘सुकवाकिफ गको छौ ?’ उसले मलाई प्रतिप्रश्न गर्‍यो। मैले छैन भनेपछि उसले भन्यो ‘तिमी बस्ने होटल नजिकै छ त, यो यहाँको सबैथोक पाइने परम्परागत बजार पनि हो।’ उसले सबैथोक भन्नेबित्तिकै मलाई हाम्रै असनको सम्झना गरायो। साँच्चै नै उसले भने झैं त्यो ऐतिहासिक बजार हामी बसेको होटलबाट पैदल दूरीमै रहेछ। त्यसपछिका दिनहरूमा सुक वाकिफ हाम्रो सन्ध्याकालीन भ्रमणको नियमित गन्तव्य बन्न थाल्यो। 

इतिहास 
अरबी भाषा ‘सुक वाकिफ’ को अर्थ अंग्रेजीमा ‘द स्ट्यान्डिङ मार्केट’भन्ने हुन्छ। अर्थात् सुरुवाती अवस्थामा यो बजारमा सामान किन्ने, बेच्ने अथवा साटासाट गर्ने मानिसले उभिइउभिई कारोबार गर्ने भएकोले यो बजारको नाम ‘सुक वाकिफ’ रहन गएको रहेछ। यो बजार समुन्द्री किनारमा भएकोले भुइँ ओसिलो हुनाले बस्न असजिलो भएर विगतमा मानिसहरू यहाँ उभिई उभिई कारोबार गर्दा रहेछन्। 

यो बजारको इतिहास २ सय ५० वर्षभन्दा पुरानो भएको मानिन्छ। पहिलेपहिले वेन्डोयर्सनामक अरबी  फिरन्ते जाति र स्थानीय मानिसहरूबीच सामान साटासाट र व्यापार हुने थलोका रूपमा सुरुवात भएको यो बजार समयक्रमसँगै स्थायी र कतारको एक प्रमुख बजार र पर्यटकीय गन्तव्यको रूपमा विकसित भएको छ। 

पुनर्निर्माण 
सन् २००३ मा आगलागीबाट बजारमा क्षति पुगेपछि २००६ मा पुनर्निर्माण सुरु भएर २००८ मा यसको  पुनर्निर्माण सम्पन्न भएको हो। यसलाई कतारको मौलिक परम्परा र संस्कृति झल्कने गरी पुनर्निर्माण गरिएको छ। यहाँ काठ माटोको प्रयोग गरी पुरानै शैलीका संरचना आधुनिक सुविधासहित निर्माण गरिएको छ। 

आकर्षक व्यापारिक केन्द्र 
कतारमा कैयौं अत्याधुनिक व्यापारिक केन्द्रहरू खुलेका भए पनि यो बजार स्वदेशी र विदेशीको आकर्षणको केन्द्र बन्न पुगेको छ। बजारमा हाम्रो असनमा जस्तै नुनदेखि सुनसम्म पाइन्छ। परम्परागत कपडा, ड्राई फ्रुट्स, अत्तर, धुप, मसला, भाँडा, जुत्ता, सुनलगायत दैनिक जीवनयापनका प्रायः सबै सामानहरू उपलब्ध छन्। यसका अलावा यहाँबाट चिनोका रूपमा लिइन सकिने विभिन्न कलात्मक समानहरू उपलब्ध छन्। जुनसुकै समान लिन जाने मान्छेलाई पनि सुक वाकिफले रित्तो फर्काउँदैन। 

कला, संस्कृति र पुरातत्त्वको संगम

सुक वाकिफको पुनर्निमाणको क्रममा पुरानो शैली अपनाइएको छ। यहाँका संरचनाहरूले पुरानो कतारी वास्तुकला बुझ्न मद्दत गर्छन्। यो बजारले इतिहासलाई कायम राख्दै विगत र आधुनिकतालाई जोडेको छ। यसका अलावा अरबी संस्कृति र कला झल्काउने आर्ट ग्यालरीहरू कलाका पारखीहरूको समय बिताउने थलो हुन सक्छन्। मुख्यतः सुक वाकिफको सडकमै रहेको बुढीऔंलाको आकृतिको स्वर्णिम स्तम्भले कलाको अनुपम नमुना पेस गर्नुका साथै बजारको सौन्दर्यमा थप टेवा पुर्‍याएको छ। 

  • सुक वाकिफ बजारको इतिहास २५० वर्षभन्दा पुरानो मानिन्छ। पहिले–पहिले वेन्डोयर्सनामक अरबी  फिरन्ते जाति र स्थानीयबीच सामान साटासाट र व्यापार हुने थलोका रूपमा परिचित थियो।
  • बजार समुन्द्री किनारमा भएकोले भुइँ ओसिलो हुनाले बस्न असजिलो भएर विगतमा यहाँ उभिई उभिई कारोबार हुन्थ्यो।

खानाका पारखीको गन्तव्य 
खाना पारखीहरूलाई सुक वाकिफ आकर्षक थलो हो। बजारका फराकिला बाटोको किनारमा रेस्टुरेन्टहरूका बाहिरैपट्टि बसेर गुलजार बजारको अवलोकन गर्र्र्दै खानाको स्वाद लिइरहेका मानिसहरूको भीड नै हुन्छ त्यहाँ। बाटोछेउमा पाइने स्थानीय खानादेखि लिएर त्यहाँ संसारका अधिकांश देशका खाना पाउने रेस्टुरेन्टहरू छन्। आइसक्रिम, मिठाई, जुस पसलहरू यहाँका आकर्षण हुन्। 

मनोरञ्जन स्थल
कारोबारका लागि मात्र नभएर मानिसहरू कामपछिको फुर्सदको समयमा टहलिन यहाँ आउँछन्। खुल्ला पटाङ्गिनीमा रहेका बेन्चमा बसेर साँझपख बजारमा विभिन्न देशका पर्यटक र स्थानीयहरूको चहलपहल  हेर्नुको मज्जा  बेग्लै छ। यसका अलावा यहाँ घुम्न र सामान किन्नका लागि आउने अभिभावकहरू बालबालिकाहरूलाई मनोरञ्जनका विभिन्न माध्यमहरू छन् यहाँ। साँझ ढल्कँदै गएसँगै स्केटिङ गर्ने घोडचढी, ऊँट चढ्ने, मिनी रेल चढ्ने बालबालिकाहरू प्रशस्तै देखिन्छन्। 

नेपालीको उपस्थिति र हामीले सिक्नु पर्ने
यस बजारमा विभिन्न पेसामा नेपालीको उपस्थिति उल्लेख्य मात्रामा रहेको छ। यो बजारको पुनर्निर्माणमा धेरै नेपालीहरूको श्रम सीपको उपयोग भएको त्यहाँ कार्यरत नेपालीहरू बताउँछन्। सफाइ, होटल, पसल सबैतिर नेपालीको उपस्थिति बाक्लै छ। कुनै पसलमा गएर नेपालीमा बात मार्न सुरु गर्ने हो भने त्यहाँ कोही न कोही नेपाली भेटिन्छन्। सोही बजारमा सफाइ मजदुरका रूपमा कार्यरत मोरङतिका एक मित्रले मेरो जिज्ञासा मेट्दै भनेका थिए ‘सबै गरेर लगभग  दुई, तीन सय नै होलान्।’ यसरी यो ऐतिहासिक महत्त्वको यो ठाउँलाई राम्रो बनाउन नेपाली कामदारहरूको भूमिका उल्लेखनीय छ। 

नेपाल आफैंमा कला, संस्कृति र इतिहासमा धनी मुलुक हो। हाम्रोमा यस्ता पुराताŒिवक महत्त्वका ठाउँहरू प्रशस्तै छन्। पुरानो कला, संस्कृृति र वास्तुकलालाई कायम राख्दै हाम्रा ठाउँहरूलाई जीर्णोद्धार गरेर यस्ता स्थलहरूको संरक्षण गर्दै आधुनिकता कसरी दिन सकिन्छ भनेर यहाँबाट सिक्न सकिन्छ। र यसो गर्दैमा यस्ता ठाउँहरूको महत्त्व घट्ने नभई बढ्ने कुराको उदाहरण सुक वाकिफलाई लिन सकिन्छ, तपाईं पनि कुनै बेला कतार पुग्नुभयो भने सुक वाकिफ घुम्न नछुटाउनुस् होला !
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.