सारस संसार

सारस संसार

सारसको वैज्ञानिक नाम ग्रस एन्टिगोन हो। अंग्रेजीमा यसलाई सारस क्रेन भनिन्छ। हल्का खरानी रंगको शरीर, लामो र रातो घाँटीमा सेता टाउको अनि लामै खुट्टा हुने यस पक्षीको उचाइ झन्डै ५ फिट र तौल ७ देखि ८ किलोग्राम सम्मको हुने गर्छ। यो पक्षीको औसत आयु भने ५० वर्षसम्म रहेको अनुमान गरिएको छ।

यसरी मानिसकै हाराहारीमा अग्लो र लामो घाँटी भएको सारस विश्वकै दुर्लभ पंक्षीहरूको समूहमा पर्दछ। सामान्य चराको भन्दा धेरै लामो र चुच्चो घाँटी हुने यो चरा उड्ने चराहरूमध्येकै सबैभन्दा अग्लो चरा पनि मानिन्छ। सारसको मुख्य आहारा भनेको कीरा–फट्यांग्रा र सर्प हो। सारसको एउटा महत्त्वपूर्ण विशेषता के हो भने यसले पातैपातको गुँड बनाउँछ र वर्षात्मा गुँड तयार पार्ने गर्छ। 

वर्षमा दुईवटा अन्डा पार्ने सारसको जोडी कहिल्यै छुट्टिएर बस्दैन र जीवनभर आफ्नो जोडी पनि फेर्दैन। त्यसैले सारसलाई प्रेम र सहकालको प्रतीकका रूपमा पनि लिइन्छ। भनिन्छ यो पक्षीे यदि कसैको जमिनमा गएर बस्यो अथवा गुँड बनायो भने त्यो वर्षभरि नै त्यस जमिनमा राम्रो खेतीपाती हुने गर्दछ। त्यसो त यसले खेतबारीमा लाग्ने कीराफट्यांग्रा तथा सर्प खाइदिने हुनाले पनि त्यस रूपमा लिइएको विश्वास गरिन्छ। 

केही दशक अघिसम्म धानखेतमा प्रशस्तै देख्न सकिने यो चरा पूर्वी नेपालबाट लोप भइसकेको छ। नेपालमा हाल यो चरा रूपन्देही, कपिलबस्तु, बाँके, बर्दिया र कैलाली जिल्लाहरूमा मात्र पाइन्छ। त्यस्तै नेपालमै पाइने रैथाने प्रजातिको सारस भने विशेषगरी नेपालका भित्री मधेसका केही ठाउँहरूमा पाइन्छ।

रमाइलो कुरा के छ भने विश्वमा पाइने १५ किसिमका सारसमध्ये सात थरीका सारस बसाइँसराइ गर्छन्। तर नेपालमा पाइने यो रैथाने चरा भने बसाइँसराइ नगर्ने समूहमा पर्दछ। नेपालमै पाइने बसाइँसराइ गर्ने खालको सारस वर्गमा पर्ने चरा भने कर्‍यांगकुरुंग हो। यो र अर्को लक्ष्मण सारस भन्ने सारस पनि यदाकदा भारततिर बसाइ सर्ने गर्दछ। नेपालबाहेक यी पक्षीहरू पाकिस्तान, भारत, बंगलादेश र म्यानमारमा पनि पाइन्छन्। 

विश्व संरक्षण संघ (आईयूसीएन)को संरक्षित सूचीमा परेको सारसको संख्या नेपालमा करिब पाँच सयको हाराहारीमा रहेका छन्। यीमध्ये करिब एक सय जोडी लुम्बिीनीमै रहेका छन्। प्राप्त जानकारी अनुसार दुर्लभ पक्षी मानिने सारस बचाउन लुम्बिनी–कपिलवस्तु राजमार्ग निर्माण गर्दासमेत निकै सतर्कता अपनाइएको थियो। 

तर २०१८ सालमा आएर नेपालको तराई क्षेत्रमा मलेरिया उन्मूलन गर्न डीडीटीको व्यापक प्रयोग गरिएपछि भने यो पक्षी संकटापन्न अवस्थामा पुगेको कुरा जीव वैज्ञानिकहरू बताउँछन्। विशेषगरी धानखेत, धापिलो जमिन र नदीलगायतका स्थानमा विचरण गर्न रुचाउने सारसको विनाश सिमसार क्षेत्रको अतिक्रमण, नदीनालामा औद्योगिक फोहोरको बिसर्जन र बढ्दो पर्यावरणीय प्रदूषणको कारणले गर्दा हुन पुगेको हो भन्ने विशेषज्ञहरूको भनाइ रहेको छ। 

  • वर्षमा दुईवटा अन्डा पार्ने सारसको जोडी कहिल्यै छुट्टिएर बस्दैन र जीवनभर आफ्नो जोडी पनि फेर्दैन।
  • विश्वमा पाइने १५ किसिमका सारसमध्ये ७ थरीका सारस बसाइँसराइ गर्छन्। तर, नेपालमा पाइने रैथाने सारस भने बसाइँसराइ नगर्ने समूहमा पर्छ।
  • राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सारसलाई संकटापन्न पक्षीको रूपमा सूचीकृत।

नेपालमा अन्य क्षेत्रमा पाइने सारसभन्दा लुम्बिनी क्षेत्रभित्र पाइने सारसको विशेष धार्मिक तथा पर्यटकीय महत्त्व रहेको छ। त्यसैले लुम्बिनी आउने प्रत्येक पर्यटक सारस हेरेर मात्र फर्किने गर्छन्। गौतम बुद्धको कथासँग जोडिएर ऐतिहासिक महत्त्वसमेत बोकेको सारसलाई कतिपय धार्मिक पर्यटकहरूले भगवान् बुद्धको प्रतीक मान्ने, अझ भियतनामीहरूले त यस पक्षीलाई भगवान्कै रूपमा पूजा गर्ने जस्ता कारणले सारस हेर्नकै लागि पनि कतिपय पर्यटकहरू नेपालको लुम्बिनीमा पुग्ने गर्दछन्। 

बौद्धधर्म ग्रन्थअनुसार सिद्धार्थ गौतम दरबारको बगंैचामा बसिरहेका बेला एउटा घाइते सारस उनको काखमा खस्यो। त्यो सारसलाई उनका काकाको छोरा देवदत्तले बाँण हानी घाइते बनाएका थिए। पछि देवदत्त त्यो सारस माग्न आउँदा सिद्धार्थ गौतमले मर्न लागेको सारसलाई आफूले बचाएको दाबी गर्दै दिन मानेनन्। दुई भाइको यो विवादपछि त्यसको फैसलाको लागि राजा शुद्धोधनकहाँ पुग्यो।  राजाले भने मार्न खोज्नेको भन्दा बचाउनेको अधिकार बढी हुने बताउँदै त्यो सारस सिद्धार्थ गौतमकै हुने फैसला सुनाएपछि गौतमले नै त्यसलाई पालेका थिए।

बौद्ध धर्मग्रन्थमा त्यो चराको नाम  ‘सरहंस’ उल्लेख गरिएको भए पनि स्थानीय भाषामा यसलाई सारस भनिँदैे आएको छ। लुम्बिनी क्षेत्रअन्तर्गत पनि मायादेवी मन्दिर, विश्व शान्ति स्तूप तथा विभिन्न देशद्वारा तयार पारिएको स्तूपहरू वरिपरको लुम्बिनी विकास कोषको खास क्षेत्रभित्र पर्यटकका लागि सारस एक महत्त्वपूर्ण आकर्षण बनेको छ। लुम्बिनी आउने प्रत्येक पर्यटकले यी स्थल पुग्न छुटाउँदैनन् र सारस नहेरी फर्कंदैनन्। 

विशेषगरी घाँसपात, अन्न, कीरा र सरिसृपहरू खाएर बाँच्ने सारस बासस्थानको विनाशको कारण दिनप्रतिदिन संकटमा पर्दैछ। यसबाहेक फुल, मासु र प्वांखका लागि यसको अवैध व्यापार हुने गर्दछ। हाल तराई क्षेत्रमा बढेको वातावरणीय प्रदूषण, अव्यवस्थित विद्युतीय तारहरू, सिमसार क्षेत्रहरूको विनाश र सारसका बच्चा चोरी गरी घरमा पाल्न लैजाने प्रवृत्तिका कारण पनि सारस संकटमा परेको हो। 

साथै लुम्बिनी क्षेत्रमा रहेका बिजुलीका नांगा तारमा अल्झिएर समेत यी पक्षीहरू मर्ने गरेका छन्। त्यस्तै त्यहाँ अव्यवस्थित उद्योगहरूबाट भइरहेको प्रदूषणले पनि सारसको कुल संख्यामा ह्रास आइरहेको विशेषज्ञहरू बताउँछन्। यसरी नेपालमा सारसहरूको संख्यामा ह्रास आइरहेको अवस्थालाई दृष्टिगत गर्दै सारस संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले समेत सारसलाई संकटापन्न पक्षीको रूपमा संरक्षित चराको अनुसूचीमा सूचीकृत गरेको छ।

तसर्थ धार्मिक, पर्यटकीय र पर्यावरणीय दृष्टले समेत अत्यन्त उपयोगी मानिने दुर्लभ पक्षी सारसलाई लोप हुनबाट जोगाउन सम्बद्ध सबै पक्षबाट इमान्दारपूर्वक प्रयास हुनुपर्ने खाँचो देखिएको छ। यसको लागि सर्वप्रथम त यसको बासस्थानकै संरक्षण र व्यवस्थापनतार्फ यथोचित ध्यान पुर्‍याउनु आवश्यक छ। खासगरी सिमसार क्षेत्र र धापिला जमिन वरपरका ठाउँहरू यसको मुख्य बासस्थान हुने भएको हुँदा यी क्षेत्रहरूको उचित संरक्षण एवं व्यवस्थापनतर्फ सरकार र अन्य सम्बद्ध निकायहरूको ध्यान पुग्नुपर्ने टड्कारो खाँचो देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.