नुवाकोटमा १५ ले जोगाए जमानत
नुवाकोट : रहरमै उम्मेदवारी दिने प्रवृत्तिका कारण नुवाकोटमा थोरै उम्मेदवारले मात्र थ्रेसहोल्ड कटाएका छन्। मंसिर ४ गते भएको निर्वाचनमा नुवाकोटबाट उम्मेदवार भएका १५ जना उम्मेदवारले मात्र थ्रेसहोल्ड कटाएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा नुवाकोटमा ६३ जना उम्मेदवार थिए। जसमध्ये १५ जनाले मात्र कुल सदर मतको १० प्रतिशत मतको सीमा ‘थ्रेसहोल्ड’ कटाएका छन्। निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नपाउने उम्मेदवारको धरौटी फिर्ता नहुने कानुनी व्यवस्था रहेका कारण ४८ जना उम्मेदवारले धरौटी फिर्ता लिन नपाउने जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले बताए।
दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेको नुवाकोटको क्षेत्र नं. १ मा निर्वाचित माओवादी केन्द्रका हितबहादुर तामाङ, तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष बद्री मैनाली र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. प्रधुम्न महतले मात्र थ्रेसहोल्ड कटाएका छन् । धरौटी जफत हुने उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुदर्शन सिटौला, जनता समाजवादी पार्टी नेपालका देवराज घिमिरे, नेमकिपाका रवीन्द्र डंगोल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी लक्ष्मी रसाइली, हाम्रो नेपाली पार्टीका सफलता बोगटी, राप्रपा नेपालका पुष्पा न्यौपाने, नेकपा मालेका केशवप्रसाद उप्रेती, मंगोल नेशनल अर्गनाइजेसनका सुरेन्द्र तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भुवन तामाङ, नेपाली कांग्रेस बीपीका श्यामबहादुर तामाङलगायत र तीनजना स्वतन्त्र रहेका छन्।
क्षेत्र नं. १ मा १७ जना उम्मेदवार चुनावी मैदानमा थिए। क्षेत्र नं. १ प्रदेशसभा क्षेत्र नं. १ मा ७ जना उम्मेदवारमा दुई जनाकोमात्र धरौटी जोगिएको छ। एमाले र माओवादी उम्मेदवारको धरौटी जोगिएको हो। अन्य पाँच दलका उम्मेदवारको धरौटी जफत भएको छ।
क्षेत्र नं. १ को प्रदेशसभा क्षेत्र नं. २ मा ९ जना उम्मेदवार रहेकोमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबाहेक अरु सबै सात जना उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सदरमुकाम बिदुर समेटिएको क्षेत्र नं. २ मा ११ जना उम्मेदवार रहेकोमा थ्रेसहोल्ड कटाएका तीनजनाको मात्र धरौटी जोगिएको छ।
निर्वाचित उम्मेदवार नेपाली कांग्रेसका अर्जननरसिंह केसीका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डे र नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले कुल सदरमतको १० प्रतिशत कटाएका छन्। अन्य ८ जना उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिए।
धरौटी जफत भएका उम्मेदवारमा राप्रपाका झनकबहादुर प्याकुरेल, नेमकिपाका गणेशमान वाटाँकछी, लोसपाका धनकुमारी सुनार, मंगोल नेशनल अर्गनाइजेसनका प्रेममाया तामाङ, जसपा नेपालका हिमाल जोशी र स्वतन्त्र उम्मेदवारहरू गायत्री दाहाल, बिनोदकुमार तामाङ र सुदर्शन पुडासैनी रहेका छन्। क्षेत्र नं. २ को प्रदेशसभा (क) मा १३ जना उम्मेदवारमध्ये थ्रेसहोल्ड कटाएका माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारको मात्र धरौटी जोगिएको छ।
थ्रेसहोल्ड नकटाउने १० उम्मेदवारको धरौटी जफत भएको छ। क्षेत्र नंं. २ को प्रदेशसभा (ख) मा ६ जना उम्मेदवारमध्ये दुई जनाकोमात्र धरौटी जोगिएको छ भने चार जनाको जफत भएको छ। उम्मेदवारले प्रतिनिधिसभाका लागि १० हजार र प्रदेशसभाका लागि पाँच हजार रुपैयाँ धरौटी बुझाएका थिए। चुनावमा उम्मेदवार हुने रहरका कारण थोरै मतमात्र पाउँदा अधिकांश उम्मेदवारको धरौटी बापतको रकम गुमेको हो।