वडाध्यक्षको कार्यकक्षमा लगाएको ताला तोडियो
तनहुँ: शुक्लागण्डकी नगरपालिका-९ का वडाध्यक्ष धनबहादुर पुलामीको कार्यकक्षमा लागेको ताला खोलिएको छ।
नगरपालिकाका उपप्रमुख खुमबहादुर विक, प्रशासन शाखा प्रमुख लक्ष्मण लम्साल, इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक यामनारायण अर्याल, वडाअध्यक्ष पुलामी र वडासदस्यहरूको उपस्थितिमा ताला तोडिएको हो।
वडासदस्य दिपक महतले वडाध्यक्षले एकलौटी निर्णय गरेको आरोप लगाउँदै वडाध्यक्षको कार्यकक्षमा ताला लगाएका थिए। उपप्रमुख खुमबहादुर विक र वडासदस्य महतबीच टेलिफोन संवादपछि ताला खोलिएको हो। महतले राखेका असमति र असन्तुष्टिको समाधान छलफलबाट खोज्ने सहमति गरी ताला खोलिएको नगर उपप्रमुख विकले बताए। काम गर्दै जादाँका असमतिलाई छलफलबाट समाधान खोज्नपर्ने विकले बताए ।
महतले भने आफूसँग कुनै सहमति नभएको बताएका छन् । उनले भोलि पनि मूल गेटमै ताला लगाउने चेतावनी दिएका छन्।