नामै फेसबुक डाँडा !
जाजरकोट : डाँडाको नामै फेसबुक डाँडा। तपाईंलाई अचम्म लाग्न सक्छ! तर, मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका दशेरा सडक खण्डमा पर्ने एउटा डाँडाको नाम नै फेसबुक डाँडा राखिएको छ।
फेसबुक डाँडा नाम राखिएको एक वर्ष पुग्न लाग्यो। मध्यपहाडी लोकमार्ग कालोपत्रे गरी सकेपछि सडक छेउमा विभिन्न स्थानका नाम लेख्ने क्रममा स्थानीय युवाले पाँच वर्ष अघिदेखि नै भन्दै आएको फेसबुक डाँडा नामाकरण गरिएको हो।
छेडागाड नगरपालिका–३ हाँडेतोला गाँउमा पर्ने यो डाँडा अहिले फेसबुक डाँडाको नामले प्रख्यात भएको स्थानीय हरिहर अधिकारीले बताए।
अरू ठाउँमा कतै फोन नटिपे पनि यही ठाउँमा फोन टिप्थ्यो उनले भने, ‘फोन टिप्नुका साथै टुजी फेसबुक चल्ने गर्थ्यो। गाउँका युवायुवती फेसबुक चलाउन यही डाँडामा आउँथे। राति अबेरसम्म बसेर चलाउने गर्थे। दिनभर पनि फेसबुक चलाउने युवायुवती खाली हुँदैनथे। फेसबुक डाँडातिर जाउँ न साथीभाइसँग कुरा गरेर आउँला भनेर कुरा गदै जाँदा सबैको लागि परिचित नाम भएकोले सडक निर्माणको क्रममा सडक छेडमा विभिन्न स्थानको नाम र ट्राफिक संकेत लेख्ने क्रममा सडक निर्माण कम्पनीलाई फेसबुक डाँडा लेख्न लगाएका हौं।’
५/६ वर्षअघि छेडागाडकै मछाइनाको टावरले यस ठाँउमा काम गर्ने भएकाले फोन र फेसबुक चल्ने गर्थ्यो। अहिले गाउँनजिकै दैलेख, सुर्खेत र जाजरकोटको सिमाना नजिक भकारेको लेकमा नेपाल टेलिकमको टावर निर्माण गरिएको छ। अहिले उक्त गाउँमा टेलिकमको फोरजी सेवा नै सञ्चालनमा आएको छ।
छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले पनि केही वर्ष पहिले छेडागाडका धेरै ठाउँमा टेलिफोन नटिप्ने तर हाँडेतोला गाउँको हाल नामकरण गरिएको फेसबुक डाँडामा मात्र फोन टिप्ने र फेसबुक चल्ने भएकोले उक्त डाडाँको नाम फेसबुक डाँडा राखिएको बताए।
मध्यपहाडी सडकको दशेरा दैलेख खण्डमा यात्रा गर्ने क्रममा फेसबुक डाँडा नाम देख्नेबित्तिकै धेरै मानिसहरू गाडीबाट ओर्लिएर टिकटक बनाउने, फोटा खिच्ने र सेल्फी लिने गरिएको उपप्रमुख थापाले बताए।
सञ्चारको कति असुविधाबाट छेडागाडबासी गुर्जिनु परेको रहेछ भन्ने इतिहासको साक्षी यही नामले पनि पुष्टि गरेको छ उनले भने अहिले पनि नगरपालिकाका १३ वटै वडामा सञ्चारको उत्तिकै समस्या छ। कतिपय गहिरो खोच परेको ठाउँमा र घरभित्र फोन टिप्दैन। कतिपय अझै अग्लो डाडाँमा जानुपर्ने र रूख चढेर फोन गर्नुपर्ने बाध्यता रहेको छ।