सुख्खाग्रस्त क्षेत्रमा खेती गरेर राम्रो आम्दानी लिँदै पूर्वसैनिक लावती
फिदिम: ‘काकाकुल गाँउ’ अर्थात् पाँचथरको कुम्मायक गाँउपालिकामा व्यावसायिक सब्जी खेतीको कुरा अनौठो नै हुन्छ। जहाँ पिउने पानीकै चरम संकट छ त्यहाँ खेती कसरी भन्ने प्रश्न स्वभाविक पनि हो। पानीकै अभावले धेरैले गाउँ नै छाडे । कुम्मायकमा बसाइसराइँको पहिलो कारण पानी नै थियो।
यही काकाकुल गाउँमा पूर्वसैनिक तेजप्रकाश लावतीले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन्। सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको यो गाउँमा कुम्मायक-१ सफाबुङका लावतीले फरक शैलीले व्यवसाय गर्दा आम्दानी पनि बढेको छ।
‘कुम्मायक आप्लुङ कृषि फर्म’ दर्ता गरेर लावतीले ११ रोपनी जमिनमा खेती थालेका छन्। पानीको समस्या भए पनि एक पटक नयाँ प्रयोग गर्ने मनसायले जोखिम मोलेर काम थालेको उनले सुनाए। लावतीले भने, ‘खेती गर्न सिंचाईको ठूलो समस्या छ। मैले प्लाष्टिकका पोखरी बनाएर काम गरिरहेको छु। विभिन्न समयको पानी प्लास्टिकका पोखरीमा जम्मा गरेर सिँचाइ गर्ने गरेको छु।'
सेनाको जागिरबाट अवकास पाएपछि लावतीले गरेको कामले धेरैलाई लोभ्याएको छ। उनले भने,'जोखिम मोलेरै फरक शैली अपनाउँदा अहिलेसम्म राम्रै भएको छ।'
लावतीको कृषि फर्ममा टमाटर, काउली, बन्दा, प्याजका बेर्ना, हरियो सागलगायतका सब्जीहरु लहलहाउँदो छन् ।
कृषि फर्ममा टमाटर मात्रै वर्षमा तीन पटक उत्पादन हुन्छ। उनले नजिकैको यासोक बजारमा कृषि उपज बिक्री गर्छन्। उत्पादन गर्न अफ्ठ्यारो भए पनि बेच्न सजिलो रहेको उनले बताए। उत्पादन भएका सबै तरकारी सहजरुपमा बिक्री हुने उनले बताए ।
तरकारी बेचेर वर्षेनी तीन लाख रुपैयाँभन्दा बढी बचत गर्ने गरेको उनले सुनाए ।
लावतीलाई खेती गर्न प्रोत्साहन, जागिरे जीवनमा भन्दा धेरै कमाइ
उदाहरणीय रुपमा तरकारी खेती गरेका उनलाई प्रोत्साहन पनि मिल्न थालेको छ। कृषि ज्ञान केन्द्र पाँचथरले लावतीलाई दुई लाख रुपैयाँ अनुदान दिएको छ। वडा कार्यालयले प्लाष्टिक टलेन उपलब्ध गराएको छ। स्थानीय सरकारले प्राविधिक सहयोग गरे खेतीलाई अझै बढाउने उनको योजना छ।
नेपाली सेनाबाट अवकास पाएपछि २०७५ सालदेखि लावतीले सब्जी खेती सुरु थालेका हुन्। ‘सुख्खाक्षेत्रमा केही उत्पादन हुँदैन भनेर अल्छि गर्दा बारी बाँझै रहन्थ्यो,’ लावती भन्छन् ‘मेहनत गर्दा राम्रो आम्दानी भईरहेको छ । जमिन बाँझिन पाएको छैन ।’ सेनाको जागिरबाटभन्दा खेतीबाट राम्रो बचत भएको उनले सुनाए ।
२०५७ सालमा नेपाली सेनाको जवानमा भर्ती भएका लावतीको सुरुमा ३ हजार ३ सय मासिक तलब थियो । २०७३ सालमा अवकाश प्राप्त हुँदा तलब बढेर १८ हजार रुपैयाँ पुगेको उनले सुनाए। ‘अवकासपछि के गर्ने भनेर केही समय अलमल पनि भयो,’ उनले भने ‘बिदेश जाने योजनालाई थाति राखेर सब्जी खेती सुरु गरेको थिए । राम्रो आम्दानी भएपछि खेतीलाई बढाएको हो ।’
लावतीले गाँउका नौ जना छिमेकीसँग मिलेर सामूहिक खेती गरेका थिए। सामूहिक खेतीबाट चित्त बुझ्दो आम्दानी नभएपछि उनी एक्लैले खेती थालेका हुन्। ‘सामूहिक खेती गर्दा सबैको भावना नमिल्दो रहेछ,’ लावतीले भने, ‘भावना नमिलेपछि मेहनत कम भयो । चित्तबुझ्दो उत्पादन नभएपछि एक्लै खेती सुरु गरे ।’
एक्लै फर्म सञ्चालन गर्दा फाइदा बढेको उनले बताए।