भक्तपुरको याछेंमा ५९ बालिकाको सामूहिक बेल विवाह

भक्तपुरको याछेंमा ५९ बालिकाको सामूहिक बेल विवाह

भक्तपुर : भक्तपुरको याछेंमा मंगलबार ५९ बालिकाको सामूहिक बेल विवाह कार्य सुरु भएको छ । विवाह कार्य बुधबार सम्पन्न हुनेछ । नेवार कन्या कुमारीलाई ५ देखि ९ वर्षको उमेरमा गरिने दुईदिने सामूहिक बेलविवाह कर्म सुरु भएको हो । 

मंगलबार दुस्वः (भित्रिने) र बुधबार पिस्वः (बाहिरिने) गरी प्रारम्भिक दिन र समापन दिनको रुपमा दुई दिनसम्म बेलविवाह कर्म गरिनेछ । बेल विवाह कर्ममा जिल्लाका विभिन्न स्थानका बालिकाहरु परिवारसहित विशेष पोशाकमा सजिसजाउ गरी सहभागी भएका छन् । यसबाहेक पनि काठमाडौं, पनौती, साँगा, थिमि, बोडेलगायतका ठाउँहरुबाट पनि बेलविवाह गराउन आएको आयोजकले जनाएको छ । 

आयोजक समाज सेवा समिति याछें ६ भक्तपुरका सचिव राजाराम नापितले प्रति बेलविवाह दुई हजार पाँच सय रुपैयाँ शुल्क उठाएर आफूहरुले बेल विवाह कार्य गराइदिएको जानकारी गराए । यो खर्च बेल विवाह व्यवस्थापनलगायतका कार्यमा खर्चिने उनले जनाए । 

आयोजकले त्यहाँ सबै बन्दोवस्त मिलाएको थियो । वाइफाइदेखि , चिया नास्ता, बेल विवाह कार्यका लागि आवश्यक दुईजना पण्डितसहित आजाजू, जोशी, चित्रकार, नापितलगायतका व्यक्तिहरुको पनि बन्दोवस्त गरिदिएको थियो । मितव्ययिता अपनाएर कम खर्चमा बेल विवाह कर्म सम्पन्न गर्न सामूहिक बेल विवाह कर्म आयोजना गरेको आयोजकले जनायो । 

स्थानीय वृद्ध रामभक्त नाखण्डले समितिले विगत २८ वर्षदेखि प्रत्येक वर्ष निरन्तर सामूहिक बेल विवाह कार्य आयोजना गर्दै आएको जनाए । टोलका स्थानीयहरुबाट गठित समितिले पालैपालो अध्यक्षता ग्रहण गरेर पदाधिकारीहरुले जिम्मेबारी लिइ बेल विवाह गराउँदै आएको उनले जनाए । सामूहिक बेल विवाहले खर्च कम हुने उनको भनाइ छ

नेवार समुदायमा बेलकर्मको ज्यादै महत्व छ । जोशी, आचार्य, शर्मालगायतबाट साइत देखाएर जुराएपछि बेल विवाहको मिति निश्चित गरी विवाह कार्य सम्पन्न गर्ने चलन छ । यो क्रममा बेल विवाहमा बेलसँगै सुनको प्रतिमा राखेर सूर्यनारायणलाई अर्पण गरी सुवर्णकुमारसँग विवाह गराई कन्यादान गर्ने गरिन्छ । 

कन्यादान कार्यमा प्रत्येक बालिकाका मातापितासहित परिवारजन तथा आफन्त गरी सयौंको सहभागिता रहने गर्दछ । यस क्रममा विवाह हेर्न आउनेहरुको संख्या पनि उतिकै धेरै हुने गर्दछ । 

विवाह कर्मको क्रममा सहभागी कन्याहरु पनि रमाउने गर्दछन् । बेल विवाहको एउटा मुख्य आकर्षण मित लगाउने कार्य हो । यस क्रममा बेल विवाहमा सहभागी कन्याबीच मित लगाउने प्रचलन छ । 

विवाहमा सहभागी भएकाहरुमध्ये दुई कन्याबीच मित लगाउने गरिन्छ । मित लगाएपछि उनीहरुबीच जीवनभर सम्बन्ध रहन्छ । विवाह, ब्रतबन्धलगायतका सबै कर्महरुमा नातागोता, आफन्त, छरछिमेकसरह मितलाई पनि निमन्त्रण गराई भोज खुवाउनेपर्ने चलन छ । 

संस्कृतिविद् ओम धौभडेल बेलसँग विवाह गरिने भएकाले नेवार समुदायकी महिला कहिले पनि विधुवा नहुने विश्वास रहेको बताउँछन् । पतिको मृत्यु भए पनि उनी विधुवा नहुने मानिने उनको कथन छ ।नेवारी समुदायमा बेल विवाहलाई विभिन्न कर्ममध्येको एक महत्वपूर्ण कर्म मानिन्छ । विशेष गरी रजस्वला हुनु अगाडि कन्याको बेल विवाह गर्ने प्रचलन छ ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.