जोमसोम बसपार्क निर्माण अन्तिम चरणमा
जोमसोम: मुस्ताङ सदरमुकाम जोसमोममा निर्माणधीन बसपार्क अन्तिम चरणमा पुगेको छ । सहरी विकास तथा भवन डिभिजन विभागले २०७३ सालमा जोमसोम बसपार्क निर्माणको काम सुरु गरेको थियो ।
२ करोड ५१ लाख रुपैयाँ लागत स्टमेट गरिएको जोमसोम बसपार्कको अहिले ९० प्रतिशत काम सम्पन्न भईसकेको छ। सडक सञ्जाल सहज भएसँगै मुक्तिनाथ मन्दिरको दर्शन र मुस्ताङ घुम्ने पर्यटक सवार सवारी साधनले जोमसोम बजारक्षेत्रमा पार्किङ सुविधा असहज बनेको छ।
पार्किङ अव्यवस्थित बनेपछि विभागले व्यवस्थित पार्किङसहितको बसपार्क निर्माण थालेको हो। सघन सहरी तथा भवन निर्माण आयोजनाले जोमसोममा निर्माणधीन बसपार्कलाई एकीकृत पूर्वाधार विकास कार्यक्रम अन्तर्गत बसपार्कको अधुरो संरचना निर्माणको काम अघि बढाएको आयोजनाका ईन्जिनियर प्रविन अधिकारीले बताए। बसपार्कको टिकट काउन्टर, शौचालय, खानेपानी, कम्पाउण्ड वाल र दुईतर्फी प्रवेशद्वार निर्माण सम्पन्न भईसकेको उनले बताए।