एमआरआई मेसिन खरिदको सबै काम मन्त्रालयबाट : नारायणी अस्पताल
वीरगन्ज : वीरगन्जस्थित नारायणी अस्पतालले झन्डै ३० करोडमा चिनियाँ कम्पनीको एमआरआई मेसिन खरिद गरेको छ। टेन्डरमा एउटा मात्र कम्पनीले निवेदन दिए पनि त्यसलाई स्वीकार गरिएको थियो। तर, मेसिन खरिद प्रक्रियाको सबै काम स्वास्थ्य मन्त्रालयले नै गरेको अस्पताल प्रशासनको भनाइ छ।
मेसिन खरिदमा आफ्नो कुनै भूमिका नरहेको र स्पेसिफिकेसन लगायतका सबै काम स्वास्थ्य मन्त्रालयले गरेको अस्पताल प्रशासनले बताएको छ। नारायणी अस्पतालका लागि ३० करोड रुपैयाँमा चिनियाँ कम्पनी युनाइटेड इमेजिसन हेल्थकेयर प्रालिको मेसिन खरिद गरिएको थियो।
अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले एमआरआई मेसिनको प्राविधिक ‘स्पेसिफिकेसन बनाउनेदेखि टेन्डर स्वीकृत गर्ने’ सम्मको सम्पूर्ण काम मन्त्रालयले नै गरेको बताए। सिंहका अनुसार एमआरआई मेसिन खरिदका लागि आवश्यक अनुमानित लागत रकम मन्त्रालयले निकासा गरेपछि अस्पताल प्रशासनले एमआरआई मेसिनको प्राविधिक स्पेसिफिकेसन बनाउने जिम्मा मन्त्रालयलाई नै दिएको थियो।
मन्त्रालय आफैंले विज्ञ राखेर प्राविधिक स्पेसिफिकेसन बनाएर पठाएपछि सोही आधारमा अस्पताल प्रशासनले एमआरआई मेसिन खरिदका लागि राष्ट्रिय पत्रिकामार्फत २०७८ माघमा ई–टेन्डर आह्वान गरेको अस्पतालका जिन्सी शाखा प्रमुख सुशील यादवले बताए। मेसिन खरिदको टेन्डरमा काठमाडौंको लुम्बिनी हेल्थ केयर प्रालिको एक मात्रै आवेदन परेको यादवले बताए।
त्यसपछि अस्पतालले टेन्डर स्वीकृति गर्ने जिम्मा पनि मन्त्रालयलाई नै दिएको र मन्त्रालयले नै ठेक्का स्वीकृत गरेको अस्पतालका सूचना अधिकारी सिंहले बताए। ‘मन्त्रालयले तयार पारेर पठाएको प्राविधिक स्पेसिफिकेसनअनुसार अस्पतालले टेन्डर मात्रै आह्वान गरेको हो,’ सिंहले भने, ‘अनुमानित लागत रकम उपलब्ध गराउने, प्राविधिक स्पेसिफिकेसन बनाउने, टेन्डर स्वीकृत गर्ने सबै जिम्मा मन्त्रालय आफैंले गरेको हो। त्यसैकारण एमआरआई मेसिन खरिद प्रक्रियामा अस्पताल प्रशासनको निर्णायक भूमिका केही पनि छैन।’
मन्त्रालयले नै सबै काम गरेकाले उक्त टेन्डरमा अस्पतालको कुनै भूमिका नरहेको सूचना अधिकारी सिंहले बताए। तर, मन्त्रालयका उच्च अधिकारीले भने खरिद कार्यमा आफ्नो कुनै संलग्नता नहुने भन्दै अस्पताल प्रशासन नै जिम्मेवार हुने बताउँछन्।