कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार अन्नपूर्णकर्मी धामीलाई
दार्चुला : कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार २०७९ अन्नपूर्ण पोस्ट् दैनिकका दार्चुलाका संवाददाता सुन्दरसिंह धामीलाई प्रदान गरेको छ। मिडिया विकास समाज नेपालले दार्चुलामा क्रियाशीलमध्ये सृजनशील पत्रकारलाई हौसला प्रदान गर्न प्रत्येक वर्ष प्रदान गर्ने कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार धामीलाई दिइएको हो ।
मिडिया विकास समाज नेपाल दार्चुलाको कार्य समितिको बैठकले यस वर्षको पुरस्कारको टुंगो लगाएको मिडिया विकास समाज नेपालका अध्यक्ष पदन बडालले जानकारी दिए । सुशासन, पारदर्शिता, जवाफदेही र सञ्चारको क्षेत्रमा क्रियाशील नागरिक संस्था मिडिया विकास समाज नेपालले सृजनाशील पत्रकारलाई प्रोत्साहन गर्न एक लाखको अक्षय कोषको स्थापना गरी हरेक वर्ष कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
पुरस्कारको राशी ५ हजार १ सय ५१ रुपैयाँ रहेको संस्थाका अध्यक्ष बडालले बताए । २०६८ सालदेखि हालसम्म १२ जना पत्रकारलाई यो पुरस्कार प्रदान गरिएको मिडिया विकास समाज नेपाल दार्चुलाले जनाएको छ ।