पत्रकारका अकाउन्ट खारेज गर्दै ट्वीटर
टेक्सास : ट्वीटरले धमाधम पत्रकारका अकाउन्ट खारेज गर्न थालेको छ। वाल स्ट्रिट जर्नल(डब्लूएसजे)काअनुसार एलोन मस्कले किनेपछि चर्चित मिडिया आउटलेटका पत्रकारको ट्वीटर अकाउन्ट निस्क्रिय भइरहेका छन्।
किन रद्द गरिएको भन्ने ट्वीटरले खुलाएको छैन। सीएनएन, दी वासिङ्टन पोस्ट, न्यूयोर्क टाइम्स र मासबलमा आवद्ध पत्रकारहरूको अकाउन्ट रद्द भएको डब्लूएसजेले बताएको छ।
ट्वीटरको विश्वास र सुरक्षा विभाग प्रमुखले ई–मेलमार्फत प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। बिहीबार मात्रै ट्वीटरले प्रतिस्पर्धी सामाजिक सञ्जाल मास्टोडनको अकाउन्ट निस्क्रिय पारेको थियो। यद्यपि, किन रद्द भएको भन्ने ट्वीटरले खुलाएको छैन। यो विषयमा मास्टोडनका अधिकारीले पनि प्रतिक्रिया दिन अस्वीकार गरे।
मस्कले गत अप्रिलमा करिब ४४ बिलियन अमेरिकी डलरमा ट्वीटर किनेका थिए।