सर्वाधिक महँगो कतार विश्वकप
विश्वकै सर्वाधिक लोकप्रिय खेल हो, फुटबल। यो खेलको वर्तमान जति गौरवशाली छ, यसको इतिहास त्यति नै विवादित र संघर्षपूर्ण छ। गत नोभेम्बर २० अघि कतार विश्वकप पनि सम्भवतः इतिहासकै सबैभन्दा विवादास्पद विश्वकप हुने भन्दै पश्चिमा सञ्चारमाध्यममा धमाधम समाचारहरू आइरहे। मानवअधिकारीवादी संस्थाहरूको हवाला दिँदै पछिल्लो डेढ दशकमा विश्वकपका लागि पूर्वाधार निर्माण गर्दा हजारौं कामदारको ज्यान गएको समाचार प्रकाशित भए।
त्यसैलाई आधार बनाउँदै अन्तर्राष्ट्रिय श्रमिक संगठनदेखि एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र अन्य अधिकारकर्मी संगठनहरूले कतारको एकतर्फी विरोध गरिरहे। उनीहरूले विदेशी कामदारका लागि क्षतिपूर्ति दिलाउन विश्वकपको पुरस्कार राशिबाट ४४ करोड डलरको कोष स्थापना गर्न फिफा र कतारलाई आग्रहसमेत गरेका थिए। तर, कतारले ती समाचारलाई वास्ता गरेन। जसरी हुन्छ विश्व फुटबलको महाकुम्भलाई सफल बनाउनु पर्छ भनेर दिनरात लागिपर्यो।
जब नोभेम्बर २० (मंसिर ४) मा अल आयत रंगशालामा विश्वकप फुटबलको भव्य उद्घाटन भयो। त्यसपछि विरोधीहरूको स्वर पनि मत्थर भयो। सबै विश्वकपमा रम्न थाले। अहिले कतारले विश्वकप आयोजनामा गरेको अर्बाैंको लगानी र कुशल व्यवस्थापनको चर्चा सबैतिरबाट भइरहेको छ। करिब ३० लाख जनसंख्या भएको मुलुकले लाखौं मानिसलाई आतिथ्यता प्रदान गरेर कतारले सबैलाई आश्चर्यचकित पारेको छ।
आयोजक राष्ट्र कतारले २२औं संस्करणको विश्वकपलाई महँगो विश्वकप बनाउन पनि कुनै कसर बाँकी राखेन। विश्वकप आयोजनाका लागि कतारले सात स्टेडियमसँगै एक हवाई अड्डा, मेट्रो प्रणाली, विभिन्न सडक सञ्जाल र एक सय होटल निर्माण गरेको थियो। विश्वकप फाइनलका लागि लुसेल रंगशालाको वरिपरि एउटा सिंगो सहर नै बनाइएको थियो। जसका लागि करिब २२० अर्ब डलर खर्च गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको दाबी छ। यसअघिका विश्वकप आयोजनामा गरिएको लगानीसँग तुलना गर्दा यो अहिलेसम्मकै सर्वाधिक खर्च मानिएको छ। सन् २०१८ को विश्वकप आयोजनाका लागि रुसले ११.६ अर्ब डलर, सन् २०१४ मा ब्राजिलले १५ अर्ब डलर, सन् २०१० मा दक्षिण अफ्रिकाले ३.६ अर्ब डलर र सन् २००६ मा जर्मनीले ४.६ अर्ब डलर खर्चिएका थिए। यस्तै सन् २००२ मा जापान र कोरियाले संयुक्त रूपमा सात अर्ब डलर खर्च गरेका थिए। यस हिसाबले यसअघिका सबै विश्वकप आयोजनाका लागि खर्चिएको कुल आधिकारिक रकमभन्दा बढी रकम कतारले एउटै संस्करणको आयोजनामा खर्चिएको छ। कतारले अधिकांश रकम पूर्वाधार निर्माणमा खर्च गरेको छ। विश्वकप खेलहरूको आयोजनाका लागि भने १.७ अर्ब डलर मात्रै खर्च हुने आकलन छ। यो सन् २०१८ को रुस विश्वकपभन्दा कम हो। चार वर्षअघि रुसले १.८ अर्ब डलर खर्च गरेको थियो।
१२ वर्ष अघि आयोजनाको अधिकार
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले १२ वर्षअगाडि मध्यपूर्वको कतारलाई विश्वकप आयोजना गर्ने अधिकार दिएको हो। सन् २०१० को डिसेम्बर २ का दिन कतारले विश्वकप आयोजनाको जिम्मेवारी पाएको थियो। यसका लागि चौथो चरणसम्म मतदान भएको थियो। कतारले जापान, अस्ट्रेलिया, दक्षिण कोरिया र अमेरिकालाई पछाडि पार्दै आयोजनाको अधिकार पाएको थियो। त्यतिबेला अमेरिकी राष्ट्रपति बाराक ओबामाले फिफाको निर्णयको आलोचना नै गरेका थिए। जतिबेला कतारले विश्वकप आयोजना अधिकार पाएको थियो, त्यतिबेला कतारसँग एउटा मात्रै रंगशाला थियो। त्यो पनि पुनर्निर्माण गर्नुपर्ने अवस्थामा। त्यसपछि कतार सरकारले सात वटा स्टेडियम निर्माणका लागि मात्रै ३० हजारभन्दा बढी विदेशी कामदार झिकाएको थियो। त्यसमा अधिकांश दक्षिण एसियाली राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, नेपाललगायतका देशबाट कामदार लगेको थियो।
मोरक्कोको छलाङ
फिफा विश्वकपमा आशा गरिएका टोलीको प्रदर्शन फिक्का रहँदा उत्तर अफ्रिकी राष्ट्र मोरक्कोले गर्विलो प्रदर्शन मात्रै गरेन, फुटबल पण्डितहरूको पूर्वानुमानलाई पनि गलत सावित गरिदियो। मोरक्को विश्वकप फाइनल प्रवेशबाट एकै पाइलाले मात्र चुक्यो। तर, कतारमा उसको प्रदर्शन गर्व गर्न लायक रह्यो। बुधबार राति दोस्रो सेमिफाइनलमा साबिक विजेता फ्रान्ससँग २–० गोलले पराजित भए पनि मोरक्कोले धेरैको मन जित्न सफल भयो। मोरक्को विश्वकपको इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी र अरब मुलुक रह्यो। सन् १९१२ देखि १९५६ सम्म उत्तर अमेरिकी देश मोरक्को फ्रान्सेली उपनिवेशकै रूपमा रहेको थियो। यसै कारणले पनि मोरक्कोमा फुटबल निकै लोकप्रिय रह्यो। डर्ब सुल्तानमा जन्मेका मोहम्मद जरिर मोरक्कोको फुटबलका अहिलेसम्मकै सबैभन्दा ठूला स्टार हुन्। सन् १९७० को विश्वकपमा उनी मोरक्कोका लागि गोल गर्ने पहिलो खेलाडीसमेत बनेका थिए। तर, कतार विश्वकपले मोरक्कोमा धेरै फुटबल ‘स्टार’हरू जन्माएको छ।
ट्युनिसिया कतार विश्वकपको समूह चरणबाटै बाहिरियो। साबिक विजेता फ्रान्सलाई १–० गोलले पराजित गरे पनि उसले अन्तिम १६ मा स्थान बनाउन सकेन। ट्युनिसिया विश्वकपबाट चाँडै बाहिरिएपछि त्यहाँका फुटबलप्रेमीको समर्थन पायो, मोरक्कोले। पश्चिम सहारा क्षेत्रका लागि ट्युनिसिया र मोरक्कोबीच विवाद चलिरहेको छ। गत अगस्टमै मात्र मोरक्कोले ट्युनिसबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो। त्यसअगाडि ट्युनिसियाली राष्ट्रपति काइस सइदले पश्चिम सहाराबाट स्वतन्त्रताका लागि प्रयास गरिरहेको पोलिसारियो फ्रन्टलाई समर्थन गरेका कारण राजदूत फिर्ता बोलाइएको थियो। यसका बाबजुद धेरैले ट्युनिसियालीहरूले मोरक्कोलाई समर्थन गरेका थिए। सन् १९९० यता क्यामरुन, घाना र सेनेगल गरी तीन अफ्रिकी राष्ट्रले विश्वकपको क्वार्टरफाइनलसम्म यात्रा तय गरेका थियो। मोरक्को भने सेमिफाइनल पुग्ने अहिलो अफ्रिकी देश बनेको हो।
भौतिक पूर्वाधारमा धेरै खर्च
कतारले दोहा मेट्रो प्रणालीका लागि मात्रै ३६ अर्ब डलर खर्चिएको छ। सात नयाँ रंगशाला बनाउन र आठौंको मर्मत गर्न मात्रै ६.५ अर्ब डलर खर्चिएको जनाएको छ।
विश्वकपपछि तीनवटा रंगशाला मात्रै प्रतियोगिता प्रयोगमा रहने भएको छ। ९ सय ७४ रंगशाला पूर्ण रूपमा भत्काइँदैछ भने बाँकी रंगशालालाई अन्य प्रयोजनमा प्रयोग गरिने भएको छ।। ९ सय ७४ सिपिङ कन्टेनरहरू प्रयोग गरेर निर्माण गरिएको त्यति नै रंगशालामा विश्वकप फुटबलका सात खेल सञ्चालन भएका थिए। पुनप्रर्योग गर्न मिल्ने कन्टेनरहरूबाट निर्माण गरिएको यो रंगशाला भत्काएर कन्टेनरहरूलाई विभिन्न राष्ट्रमा पठाइने जनाइएको छ।
सन् २०१० मा विश्वकप आयोजनाको जिम्मेवारी पाएपछि १२ वटा रंगशाला बनाउने योजना भएको कतारले कोरोना महामारीलगायतका कारणले आठ वटा मात्रै रंगशाला तयार गरेको थियो। जसमध्ये सात वटा रंगशाला नयाँ बनाएको थियो भने खलिफा अन्तर्राष्ट्रिय रंगशाला भने पुनर्निर्माण गरिएको थियो। कतारका अनुसार लुसेल रंगशाला अब विद्यालय र सपिङ मलमा परिणत गरिनेछ। अल बायत रंगशाला भने पाँचतारे होटलमा परिणत हुनेछ। दुई वटा रंगशाला भने स्थानीय क्लबहरूले प्रयोग गर्ने भएका छन्। अहमद अली बिन रंगशाला अल रेबान क्लब र अल जानोब रंगशालाको स्वामित्व अल वाहराहले लिनेछ। खलिफा अन्तर्राष्ट्रिय रंगशाला भने कतारी फुटबल संघले आफ्नो स्वमित्वमा लिनेछ। यसबाहेक केही रंगशाला भने सन् २०२४ मा हुने एसियन कपका लागि प्रयोगमा ल्याइने छ।
फिफाको आम्दानी कति ?
कतार विश्वकपबाट विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई ४.६ अर्ब डलरभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ। यसमध्ये सबैभन्दा ठूलो हिस्सा टेलिभिजन प्रसारणको अधिकार बिक्रीबाट प्राप्त गर्ने जनाइएको छ।
फिफाले टेलिभिजन प्रसारणको अधिकार बिक्रीबाट कुल आम्दानीको ५६ प्रतिशत अर्थात् झन्डै २.७ अर्ब डलर कमाउने जनाइएको छ। यस्तै २९ प्रतिशत अर्थात् १.३ अर्ब डलर विज्ञापनबापतबाट कमाउनेछ। यस्तै टिकट बिक्रीलगायतबाट करिब ६ सय ७५ मिलियन डलर आम्दानी गर्नेेछ।
यस्तो छ पुरस्कार राशि
कतार विश्वकपमा झन्डै ४४ करोड डलर पुरस्कारका रूपमा छुट्ट्याइएको छ। जसमध्ये विजेताले ४ करोड २० लाख, उपविजेताले ३ करोड, तेस्रो हुनेले २ करोड ७० लाख र चौथो हुनेले २ करोड ५० लाख डलर प्राप्त गर्ने छन् । यस्तै क्वार्टरफाइनलसम्म पुग्ने टोलीले १ करोड ७० लाख, अन्तिम १६ सम्म पुग्ने टोलीले १ करोड ३० लाख र बाँकी १६ टोलीले ९० लाख डलर पाउनेछन्।
कतारलाई फाइदा कि घाटा ?
सन् २०२२ को अन्त्यमा कतारको अर्थतन्त्र ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण अर्थविद्हरूले गरेका छन्। अर्थात् विश्वकप आयोजनाले कतारको अर्थतन्त्रमा २० अर्ब डलर बढीको योगदान गर्ने आकलन गरिएको छ। फाइनल अघिसम्म करिब नौ लाख मानिसले कतारमै पुगेर विश्वकप हेरिसकेका छन्। कतारले करिब १२ लाख व्यक्तिले प्रत्यक्ष खेल हेर्ने अनुमान गरेको थियो। फाइनलमा फ्रान्स र अर्जेन्टिनाले दोहाको उडान थप गरेकाले १२ लाखकै हाराहारीमा दर्शक कतार पुग्ने आकलन गरिएको छ। रंगशालामा मदिरा बेचबिखन गर्न नपाइनेलगायतका कडा नियमका बाबजुद दर्शकको संख्याले कतारलाई निकै उत्साहित बनाएको छ।
विश्वकप आयोजनाबाट कतारलाई तत्कालै प्रत्यक्ष नाफा नभए पनि नयाँ पूर्वाधारहरूले बढाउने आर्थिक गतिविधि, त्यसले गर्ने रोजगारी सिर्जना, आयोजना र त्यसपछि बढ्ने पर्यटक र सफल आयोजनाले बढाउने ‘ब्रान्ड भ्यालु’ले समग्रमा धेरै फाइदा पुग्ने अर्थविद्हरूको दाबी छ। सन् २००२ को विश्वकप आयोजना गरेका जापान र कोरियाले ५.५ देखि ९.३ अर्ब डलरको घाटा बेहोरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएका थिए। जबकि यी दुई वटै देशमा चार अर्ब डलरभन्दा बढीको नाफा हुने अनुमान थियो।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले सार्वजनिक गरेको रिपोर्टअनुसार विश्वकपमा हुने सबैजसो प्रत्यक्ष आम्दानी फिफाको ढुकुटीमा जान्छ। आयोजनाकै लागि विभिन्न कम्पनीहरूसँग गरिने करछुटका समेत सम्झौताले आयोजकलाई हुने फाइदा घटाउने गरेको पाइएको छ। फिफाले आयोजक राष्ट्रको आयोजक समिति, पुरस्कार राशि, खेलाडी र सहयोगी कर्मचारीका लागि रकम उपलब्ध गराउँछ। यसपालिको कतार विश्वकपबाट फिफाले हालसम्मकै धेरै ७.५ अर्ब डलर आम्दानी गरेको अल जजिराले जनाएको छ।
विश्वकपका लागि निर्मित मेट्रो, राजमार्ग, होटल, सहरलगायतका पूर्वाधारबाट भविष्यमा फाइदा उठाउने लक्ष्य कतारले राखेको छ। दोहालाई सन् २०३० को एसियाली खेलहरूको आयोजक सहर घोषणा गरिएको छ। यससँगै विश्व फुटबलका विभिन्न व्यावसायिक क्लबहरूमा समेत लगानी गरेको कतार विश्वकपको सफल आयोजनाबाट विश्वव्यापी आयोजनास्थल बन्ने योजनामा छ। खाडी मुलुककै दुबईलगायत सहरसँग पर्यटक आगमनमा प्रतिस्पर्धा गर्न अहिले निर्माण भएका पूर्वाधार उपयोगी हुने कतारको विश्वास छ।
प्राकृतिक ग्यास र कच्चा तेलको ठूलो भण्डार र निर्यातमा आधारित कतार ३० लाखभन्दा कम जनसंख्या भएको देश भए पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा संसारकै चौथो देश मानिन्छ। मध्यपूर्वका अन्य देशहरूसँग पर्यटक आगमन र विशेषगरी खेल पर्यटन बढाउन अहिले निर्माण भएका पूर्वाधार सहयोगी सावित हुनेछ। कतारले १० वर्षका लागि फर्मुला वान ग्रान्ड पिक्स आयोजनाका लागि सम्झौता गरिसकेको छ। त्यसैले विश्वकपको सफलताले खेल पर्यटन अझै बढ्ने विश्वास कतारको छ।
पुरानै विजेताको निरन्तरता
कतार विश्वकपमा पनि पुरानै विजेता दोहोरिने भएका छन्। सन् १९३० देखि सुरु भएको विश्वकपमा अहिलेसम्म जम्मा आठ राष्ट्रले मात्रै पालैपालो विश्वकप ट्रफी उचालिरहेका छन्। यस पटक पनि साबिक विजेता फ्रान्स र अर्जेन्टिना फाइनलमा पुगेका छन्। त्यसैले यस पटक पनि पुरानै विजेताको निरन्तरता हुनेछ। फ्रान्स सन् १९९८ र २०१८ को विजेता हो। यसैगरी अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो।
पछिल्लो पटक सन् २०१० मा नयाँ विजेता राष्ट्र थपिएको हो। सन् २०१० को विश्वकपमा स्पेन नयाँ विजेता बनेको थियो। स्पेनले नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै पहिलो पटक विश्वकप ट्रफी उचालेको थियो। त्यसअघि सन् १९९८ मा फ्रान्सले पहिलो पटक उपाधि जितेको थियो। पहिलो ट्रफी उचालेको २० वर्षपछि फ्रान्सले चार वर्षअघि दोस्रो विश्वकप उपाधि जितेको थियो।
जसको पहलमा सुरु भयो विश्वकप
विश्व फुटबल महासंघ (फिफा)का तेस्रो अध्यक्ष हुन्, जुल्स रिमेट। उनी सबैभन्दा लामो समयसम्म फिफाका अध्यक्ष बनेका व्यक्ति पनि हुन्। उनले सन् १९२१ देखि सन् १९५४ सम्म फिफामा बिताएका थिए। सन् १८७३ को अक्टोबर १४ मा जन्मिएका फ्रान्सेली नागरिक रिमेट सन् १९१९ देखि सन् १९४२ सम्म फ्रान्सेली फुटबल संघको अध्यक्षको जिम्मेवारीमा पनि रहेका थिए।
विश्वकप फुटबल सुरु गर्नुमा रिमेटको महŒवपूर्ण भूमिका छ। सन् १९३० मा आफू अध्यक्ष हुँदा रिमेटले नै विश्वकप फुटबल सुरु गरेका थिए। त्यसैले पनि विश्वकप विजेतालाई दिइने ट्रफीको नाम नै ‘जुल्स रिमेट ट्रफी’ राखिएको थियो। उनले सन् १९२८ मा विश्वकप फुटबलको अवधारणा अगाडि सारेका थिए। सन् १९३० मा पहिलो विश्वकप आयोजनाको अधिकार उरुग्वेलाई दिइएपछि युरोपेली राष्ट्रहरूले असन्तुष्टिसमेत जनाएका थिए।
त्यसैले विश्वकप सुरु हुनुभन्दा दुई महिना अघिसम्म पनि युरोपेली राष्ट्रहरूले विश्वकपमा सहभागिता पक्का गरेका थिएनन्। तर, रिमेटकै अग्रसरतमा पछि फ्रान्स, बेल्जियम, रोमानिया र युगोस्लाभियाले प्रतियोगितामा भाग लिने निर्णय गरेका थिए। फुटबलको माध्यमबाट विश्व भाइचारा र आपसी सद्भाव बढाउन महत्त्वपूर्ण योगदान पुर्याएका कारण रिमेटको नाम सन् १९५६ को नोबल शान्ति पुरस्कारका लागि मनोनयनमा समेत परेको थियो। सन् १९५६ को अक्टोबर १६ मा आफ्नो ८३औं जन्मदिन मनाएको दुई दिनपछि उनको निधन भएको थियो। उनलाई मरणोपरान्त सन् २००४ मा फिफाले ‘फिफा अर्डर अफ मेरिट’ समेत प्रदान गरेको थियो।
हजारौं आप्रवासी कामदारको मृत्यु
कतारले विश्वकप आयोजनाको जिम्मेवारी लिएदेखि साढे ६ हजारभन्दा बढी मजदुरले ज्यान गुमाएको र तीमध्ये अधिकांश दक्षिण एसियाली राष्ट्रका आप्रवासी रहेको समाचार प्रकाशित भएको थियो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भारत, पाकिस्तान, बंगलादेश, नेपाल र श्रीलंकाका ६ हजार ७ सय ५१ मजदुरले ज्यान गुमाएका थिए। अन्तर्राष्ट्रिय सञ्चार माध्यमको तथ्यांकअनुसार सन् २०१० डिसेम्बरदेखि हरेक साता औसतमा १२ आप्रवासी कामदारले ज्यान गुमाएका थिए। जसमा सन् २०११ देखि २०२० को अवधिमा दक्षिण एसियाका भारत, बंगलादेश, नेपाल र श्रीलंकाका ५ हजार ९ सय २७ श्रमिकले ज्यान गुमाएका थिए। कतारस्थित पाकिस्तानी दूतावासका अनुसार यो अवधिमा पाकिस्तानका ८ सय २४ जना मजदुरको ज्यान गएको थियो। जसमा सबैभन्दा बढी भारतका २ हजार ७ सय ११ छन्। यस्तै नेपालका १ हजार ६ सय ४१, बंगलादेशका १ हजार १८, पाकिस्तानका ८ सय २४ र श्रीलंकाका ५ सय ५७ जना रहेको तथ्यांकमा उल्लेख छ।
अधिकांश श्रमिकको मृत्युमा कतारले ‘प्राकृतिक कारण’ भन्दै पन्छिने गरे पनि अधिकांश श्रमिकको मृत्यु अग्लो भवनबाट लड्दा, झुन्डिँदा र चर्को गर्मीमा गैरकानुनी रूपमा लामो समयसम्म काम गराउँदा भएको मानवअधिकारवादी संस्थाहरूले दाबी गरेका थिए। अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघले ‘दी केस एगेन्स्ट कतार’ नामक प्रतिवेदन नै तयार पारेको थियो। प्रतिवेदनमा कतारमा विदेशी कामदारको स्थिति निकै दयनीय रहेको र विदेशी कामदारलाई खप्नै नसक्ने प्रचण्ड गर्मीमा काम गर्न लगाइएको उल्लेख गरिएको थियो। यस्तै कामदारको बस्ने र खाने व्यवस्था पनि नाजुक रहेको औंल्याइएको थियो। मानवअधिकारवादी संस्थाहरूको चर्को आलोचना र दबाबपछि कतारले सन् २०१७ मा केही विवादास्पद श्रम ऐनमा परिवर्तन गरेको थियो भने मरुभूमिको गर्मीमा काम गर्ने व्यवस्थामा सुधार गर्दै न्यूनतम पारिश्रमिकको पनि व्यवस्था गरेको थियो ।