सम्बन्धको सेतु
जीवन एउटा रोमाञ्चक कथा हो। हामी सबै प्राणीको जीवन नै कथा बन्छ। यस्तै, कथाहरूको संग्रह हो, ग्याब्रियले। जसमा १३ कथा छन्। आमा प्रेमकुमारी सुवेदीद्वारा प्रकाशित उक्त संग्रहका कथाहरू नेपाल र जापानका सहरिया समाजमा घटेका घटना हुन्। प्रेम बिछोड, युवाका भोगाइ, समाजका विभिन्न वर्गका उतारचढाव, अनेकौं परिबन्द, जीवनमा अप्रत्याशित आइपर्ने दुर्घटनाजस्ता प्रसंग कथामा पाउँदा पाठकलाई आफ्नै कथा पो हो कि भन्ने भान हुन सक्छ।
जीवनको यथार्थ र वास्तविकतालाई जोड्ने ती सबै कथा फेरि काल्पनिक हुन्। कथाहरूमा जापानी स्वाद पाइन्छ। ठाउँठाउँमा जापनिज भाषाको प्रयोगले कथा रमाइलो लाग्छ, केही नयाँ कुरा सिकेजस्तो हुन्छ। आफ्नो जीवनको थोरैमात्र झलक कथाहरूमा देखाउन खोज्नु कथाकारको राम्रो प्रयास हो। कथा र कवितामा पकड भएका कथाकार हरिश कल्पितको यो दोस्रो कृति हो। ग्याब्रियले एउटा डायस्पोरिक कृति हो। जापानमा बसोबास गर्ने नेपालीको संख्या ८७ हजारभन्दा बढी रहेको अनुमान छ। नेपाली समुदाय जापानमा सातौं ठूलो विदेशी समुदाय हो। नेपाली विद्यार्थीको विदेश अध्ययनका लागि जापान दोस्रो सबैभन्दा मनपर्ने गन्तव्यमा पर्छ।
संकलित १३ कथामध्ये सबैभन्दा मन छुने कथा ग्याब्रियले नै हो। युरोपेली भाषामा ग्याब्रियलेको अर्थ हुन्छ ईश्वर नै मेरो शक्ति हो। उक्त कथामा ग्याब्रियले एउटी जापानी केटीको नाम हुन्छ। आफ्नी छोरीलाई एउटा पिताले गर्ने माया कस्तो हुन्छ भन्ने कुरा यो कथामा झल्किन्छ। बुवा–छोरीको कथा नेपाली समाजमा खासै भेटिँदैनन्, त्यही भएर पनि होला यो कथा मर्मस्पर्शी लाग्छ। संग्रहले धेरै कुराको थोरै थोरै भए पनि विश्लेषण गरेको छ, राजनीतिक एवं सामाजिक परिवेशको । नराम्रो पक्षलाई नराम्रो नै देखाइएको छ, जुन प्रशंसनीय छ। जस्तै, माओवादी जनयुद्घको ग्रसित समाजको झझल्को।
बिदेसिएका नेपालीको स्वदेशप्रति एउटै गुनासो हुन्छ। त्यो हो जनताप्रतिको राजनीतिक खेलवाड। धेरै वर्ष त्यहाँ बसेर पनि, त्यहाँको चालचलनमा भिज्न सफल भए पनि कल्पितका कथाहरूमा स्वदेशप्रतिको गुनासो पाइन्छ। नेपालको सामाजिक, राजनैतिक, आर्थिक अवस्थालाई व्यंग्य गर्दै उनी भन्छन् : हेर्दा जति खुसी देखिन्छ, त्यति नै दुःखी छ यहाँको जिन्दगी। के गर्नु र देशमा राम्रो भएको भए को आउँथ्यो र विदेशमा गधाजस्तो जोतिनलाई। खै यो गणतन्त्र पनि घाँडो भएजस्तो छ जनतालाई। हुन पनि किन नहुनु र गणतन्त्रको नाममा लुट मच्चाएका छन्, नेताहरूले अनि कसरी चित्त बुझाउन् त जनताले पनि। जुन जोगी आए पनि कानै चिरेको झैं (पृ. १४८) ।
कुनै पनि साहित्यिक कृति कुनै समाज चिन्ने एउटा गतिलो आधार हुन्छ। लामो समयसम्मको जापान बसाइँको असर नै हो भन्नुपर्ला सायद, कथाकारले जापानीहरूको सफलताको कारण संघर्ष र मेहनत मात्र हो भनेर निकै सरल तरिकामा भनेका छन्। उनीहरूको बिहान उठेदेखि राति सुत्ने बेलासम्मको कठोर कार्यतालिका र अनुशासनलाई संक्षिप्त रूपमा यसरी भन्छन् : मेसिन लाइफ हो जापानी लाइफ (पृ. ७४) । तर जापानको व्यथा त त्यहाँका बासिन्दालाई मात्र थाहा हुन्छ किनभने त्यति धेरै विकसित भएर पनि जापान भित्रबाट खोक्रो छ भनेर उनी बारम्बार यसरी प्रस्तुत हुन्छन् : जापान सबै सुखसुविधाले सम्पन्न भए पनि सम्बन्धको चिसोपनले ग्रसित छ।
सबै आआफ्नो स्वार्थमा लिप्त, पैसाको पछि लागिरहेको समाज। यहाँ त हाँसो पनि पैसाले किन्नुपर्ने जस्तो औपचारिकता ओढेको खोक्रो समाज। सुरक्षित तर सामाजिक छैन। माया प्रेम र स्नेहको ठाउँ स्वाद र पैसाले लिएको व्यस्त आधुनिक समाज। कसैलाई कसैको चासो छैन। आत्मकेन्द्रित छन्। सबै आफूबाहेक अरू कसैलाई देख्दैनन्। हेर्दा सुन्दर तरभित्र खोक्रो। लाग्छ सबै पैसाको पछि दौडिरहेका छन्। ...हुन त पैसा अत्यन्त आवश्यक छ तर... सम्बन्ध त्योभन्दा आवश्यक हो जस्तो लाग्छ (पृ. ७२) ।
समलिंगीको सम्बन्धलाई नस्विकार्ने नेपाली समाजको यो कटुसत्यलाई पनि कथाकारले यसरी प्रस्तुत गरेका छन् : साँच्चै तिमी भाग्यमानी छौ एडम। हाम्रो देशमा त अझै गे लेस्बियनलाई हेर्ने दृष्टिकोण धेरै फरक छ। हाम्रो समाज त्यति खुल्न सकेको छैन। पुरुष–पुरुषको विवाह त असम्भव नै छ। नचाहँदा पनि समाजका लागि, परिवारका लागि भनेर बिहे गराइदिन्छन् र दुवै परिवारको जीवन तहसनहस हुन्छ। हामी अझै प्रकृतिलाई आत्मसात् गर्न सकिरहेका छैनौं। अप्राकृतिक भनी समाजमा घृणा फैलिरहेको छ (पृ. १५१) ।
कथाहरू समालोचकको दृष्टिले हेर्ने हो भने कमजोरीमुक्त छैनन्। भाषा सरल छ, कथाहरू एक सुरले बगेका छन् तर शुद्ध भने छैनन्। कथामा विगतका भनाइहरू पाइन्छन्। लाग्छ ती कथाहरू स्मृतिमा आधारित छन् र दन्त्यकथा जसरी पुस्तौं पुस्तामा हस्तान्तरण हुँदै आएका हुन्। कथामा अनावश्यक दार्शनिक गन्थनहरू छैनन्। छोटा, मीठा, रमाइला छन् तर एउटै कुरा बारम्बार दोहेरिएका पाइन्छन्। फरकफरक प्रकृति र समाजका मान्छेमा उत्पन्न हुने फरकफरक गुण र सपनाहरूको संकलन हो ग्याब्रियले। समाजमा घटिरहने घटनाहरूलाई सधंै बोलिरहने कुराको संवादबाट प्रस्तुत गरिएका जिन्दगीका भोगाइले गर्दा पनि किताब एकपटक उठाएपछि नपढी राख्न सकिँदैन। यो कथाको सारांश भनेकै जीवनको भोगाइ हो।
मान्छेका बारेमा जति बुझ्न खोजे पनि सकिँदैन किनभने ऊ अगम्य अर्थात् रहस्यमय छ। मान्छे र संस्कार बुझ्ने क्रममा कथाहरूले सुन्दर गति लिएका छन्। जब कुनै घटना वा दृश्य प्रस्तुत हुन्छ तब कथाकारको भावात्मकता र विवेचनात्मकताले कथाको स्वरूप रंगिँदै गएको पाइन्छ। त्यही रंगीन प्रस्तुति र प्रगाढ छापले उनका कथा आकर्षक बन्न पुगेका छन्। आफ्ना विचार वा दृष्टिकोणसहित कथाका प्रमुख पात्रलाई सन्तुलित र व्यवस्थित तुल्याउन सफल देखिएकाले उनका कथाहरूले उच्च प्रतिस्पर्धा गरेको देखिन्छ। समीक्षात्मक दृष्टिले कृतिमा अनेक विशेषता देखा पर्छन्। बेग्लाबेग्लै पक्ष र विशेषताका अनेक लेख तयार हुन सक्छन्। तापनि समग्रमा बौद्धिक परिपाकयुक्त यो उनको उत्कृष्ट कृति मननीय र पठनीय देखापर्छ।