बाली विज्ञान पढाउन पानी र जमिन अभाव
फिदिम: पाँचथरको यासोकस्थित पृथ्वी माध्यमिक विद्यालयमा सञ्चालित बाली विज्ञान कक्षा प्रयाप्त पानी र जमिनको अभावले प्रभावित बनेको छ। विद्यार्थीहरुलाई अभ्यासका लागि जमिन र पानीको अभाव हुँदा कक्षा प्रभावित भएको हो।
‘पछिल्लो समयमा बाली विज्ञानमा विद्यार्थीहरुको आकर्षण बढेको छ,’ प्रधानाध्यापक ऋषिराम गजुरेलले भने ‘तर, अभ्यासका लागि प्रयाप्त जमिन र पानी नहुँदा कक्षा प्रभावित हुने गरेको छ।’ यो विद्यालय सञ्चालन भएको ठाँउ सुख्खाग्रस्त क्षेत्रमा पर्छ। यहाँ पीउने पानीको समेत समस्या छ।
स्रोत साधानको अभावले प्रयाप्त मात्रामा अभ्यास गर्न नपाईएको कक्षा १० मा अध्ययनरत अंकित खड्काले बताए। ‘हामीलाई प्रयाप्त मात्रामा प्राक्टिकल गर्ने ठाँउ नै भएन,’ खड्काले भने ‘सीमित ठाँउमा प्राक्टिकल गर्दा समस्या हुन्छ।’
यहाँ बृहत पम्पिङ खानेपानी आयोजना सञ्चालित छ। आयोजनाबाट प्रयाप्त मात्रामा पानी उपलब्ध नभएकाले प्राक्टिकलमा समस्या हुने गरेको बाली विज्ञानकी शिक्षिका (प्रशिक्षक) मूना मिश्रले बताईन्।
‘विद्यालयको जमिनलाई खेल मैदान बनाएपछि विद्यार्थीलाई अभ्यास गराउन प्रयाप्त जमिन छैन,’ मिश्रले भनिन् ‘थोरै जमिनमा धेरै विद्यार्थीलाई अभ्यासन गराउन कठिन भईरहेको छ। भएको जमिनमा पनि पानीको सुविधा छैन।’ बाली विज्ञान कक्षाका लागि प्रयाप्त मात्रामा पानी उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।
विद्यालयको नाममा रहेको १३ रोपनी जमिनमा खेल मैदान बनाएपछि अभ्यासका लागि जमिन अभाव भएको हो। यो विद्यालयमा ९ देखि १२ कक्षासम्म बाली विज्ञान पढाई हुन्छ। विभिन्न कक्षामा ८८ जना विद्यार्थी बाली विज्ञान पढ्दैछन्।
‘बिगत वर्षहरुभन्दा विद्यार्थीको चाप बढिरहेको छ,’ मिश्रले भनिन् ‘विद्यार्थीहरुको चाप बढेपछि स्रोत साधन सीमित भएकाले कक्षा प्रभावित भईरहेको छ।’ प्राविधिक शिक्षालाई प्रभावकारी बनाउने सरकारले स्रोत साधन थप गर्नुपर्ने शिक्षकको माग छ।
नेपाल सरकारले २०७० सालदेखि प्राविधिक शिक्षा सञ्चालन सुरु गरेको हो। त्यही समयमा सरकारले ९९ वटा विद्यालयमा प्राविधिक शिक्षा लागु गरेको थियो। सोही वर्षदेखि पृथ्वी माध्यमिक विद्यालयमा बाली विज्ञान सुरु भएको हो।
प्राविधिक शिक्षाका लागि सरकारले अहिलेसम्म स्थायी शिक्षकको व्यवस्था गरेको छैन। बाली विज्ञान कक्षा सञ्चालन गर्न कृषि प्रशिक्षकलाई नै कक्षा सञ्चालन गर्न करारमा नियुक्ति दिएको छ। कृषि प्रशिक्षकलाई शिक्षण सम्बन्धी तालिम समेत दिईएको छैन।
‘हामीहरुलाई शिक्षण सम्बन्धी तालिमसमेत नदिइएकाले समस्या भईरहेको छ,’ मिश्र भन्छिन् ‘प्राविधिक शिक्षाका लागि सरकारले स्थायी शिक्षकको व्यवस्था गर्नुपर्छ। उनीहरुलाई शिक्षण सम्बन्धी तालिम दिनुपर्छ।’