फेवाताल किनारमा साहित्य महोत्सवको तयारी
पोखरा: पोखरामा साहित्य महोत्सवको तयारी थालिएको छ। फेवाताल किनार बाराहीघाटमा पुस ६ गतेदेखि ११ गतेसम्म बुकवर्म फाउन्डेसनले १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिभलको तयारी गरेको हो।
शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले प्राकृतिक सुन्दरताले श्रृङ्गारिएको पोखरामा हुन लागेको साहित्य महोत्सवको तयारी अन्तिम चरणम पुगेको बताए। फेस्टिभलमा विभिन्न देशका लेखक, कलाकार, पत्रकार, साहित्यकारको सहभागिता हुने उनले बताए।
महोत्सवमा अघिल्ला संस्करणमा जस्तै करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक पत्रकार, कलाकारको सहभागिता रहने उनले बताए। महोत्सवमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र रोचक सामाग्री समावेश गरिने इभेन्ट म्यानेजर सुजाना खत्रीले जानकारी दिइन् । साहित्य महोत्सवमा दैनिक हजारौं साहित्यानुरागी भेला हुने आयोजकको विश्वास छ।
हरेक सत्रमा वक्ताहरुसँग नयाँ विषयबारे विमर्श र साक्षात्कार गरिने फेस्टिभलका सदस्य केशवशरण लामिछानेले बताए। यो वर्ष फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवम पत्रकार अक्षय मुकुल, सह-प्रध्यापक एवंम लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्तित व्यक्तित्वहरुको सहभागिता हुने आयोजक संस्थाले जनाएको छ।