गणेश लामासहित काभ्रेमा तीन जना कांग्रेस नेतालाई कारबाही सिफारिस
काभ्रे : नेपाली कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्यसहित तीन जनालाई कारबाही गर्न सिफारिस गरेको छ। जिल्ला कार्यसमिति बैठकले केन्द्रीय सदस्यद्वय मधु आचार्य र गणेश लामा र पाँचखाल नगरपालिकाका मेयर महेश खरेललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको हो।
तीन जनै नेताले मंसिर ४ को निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको जिल्ला सभापति तीर्थ लामाले अन्नपूर्णलाई जानकारी दिए। सम्पन्न निर्वाचनमा पार्टीको उम्मेदवार हराउनका लागि भूमिका खेलेको भन्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको लामाले बताए।
त्यस्तै कम मत आएको पालिकामा सम्बन्धित पालिका समितिले स्पष्टीकरण सोध्नसक्ने निर्णय गरेको लामाले बताए। काङ्ग्रेसको उम्मेदवार शिवप्रसाद हुमगाईँ एमाले उम्मेदवार गोकुल बास्कोटासँग पराजित भएका थिए।
त्यस्तै प्रदेशसभातर्फ विजयी उम्मेदवार कन्चनचन्द्र बादे र प्रतिनिधिसभाका उम्मेदवार शिव हुमगाईँबीचको मतान्तर कम हुनुको कारणबारे समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको जिल्ला सचीव गुणराज मोक्तानले जानकारी दिए।