परिवर्तनमा नयाँ पुस्ता

परिवर्तनमा नयाँ पुस्ता

‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’

महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो कविता अंशले आह्वान गरेजस्तो लक्ष्य आजका नयाँ पुस्ताको प्राथमिकतामा छ ? के उनीहरू कुनै महान् लक्ष्यको अभावमा भोलिको खराब युगको सांकेतिक भ्रूणको प्रतिबिम्ब त बनिरहेका छैनन् ? सार्वजनिक संकल्प, लोककल्याण, जीवनजगत्, राष्ट्र, राष्ट्रियता र सबैभन्दा मानवताप्रति उनीहरूको भौतिक र मनोवैज्ञानिक प्रयास के छ ? नयाँ पुस्तामा यी सबै अभिन्न पक्षबारे प्रगतिशील उद्देश्यभन्दा आफ्नो सुरक्षित भविष्यको कसरतमा पुँजीवादी संकीर्ण सोचबाट ग्रसित हुनेहरूको संख्या अनपेक्षित रूपमा बढिरहेको छ।

स्वदेशमा रचनात्मक उद्यमको अभ्यास गर्दै श्रमबजारमा आफूलाई उपस्थिति गराउनुभन्दा या सम्बन्धित कार्यक्षेत्रको प्रत्यक्ष अनुभवबाट आफ्नो सक्षमतालाई परिस्कृत गर्नु उत्तम हो। यसरी सार्वजनिक परीक्षणको कसरत गर्नुभन्दा जसरी पनि विदेश पलायन हुने मनोवृत्ति बढेको छ। जीवनको सबैभन्दा ऊर्जाशील समय उतै खर्चिने भौतिक र मनोवैज्ञानिक रुझानको विकास भएको छ। दिनहुँ पलायन हुने हजारौं भीडले यही प्रवृत्तिलाई उत्तेजित बनाइरहेको छ। जसको प्रभावले कृषि संस्कृतिलगायत

रैथाने पौरखको संवद्र्धन, प्रवद्र्धन, आधुनिकीकरण तथा बजारीकरण गर्नुको साटो पलायन हुन युवालाई सामाजिक दबाब बढेको छ। आजभोलि स्वदेशी उद्यमता र स्वाभिमानको होइन, वैदेशिक मुद्राको साखले समाजमा प्रभुत्व जमाएको छ।
युवालाई स्वदेशमै आफ्नो दक्षता जसरी पनि प्रतिस्पर्धाको निम्ति योग्य बनाउने र व्यावसायिक वा सार्वजनिक प्रदर्शन गर्नुभन्दा पलायन हुन सजिलो भएको छ। अनि राज्यलाई दोष दिएर बनाउने बहानाको संस्कृतिले सामाजिक रूपमा सबैभन्दा धेरै समकालीन र दीर्घकालीन क्षति पुर्‍याएको छ। समाजमा भौतिक र मनोवैज्ञानिक विचलनले सामाजिक प्रभुत्वलाई ग्रसित बनाएको छ। पहुँचमा रहँदा होस् या गलत कर्मबाट नै किन नहोस् ? जसरी पनि आर्थिक संकलन गर्ने र निजी भोगविलासको निम्ति जीवनको ऊर्जाशील समयको फराकिलो हिस्सासमेत अंगबन्डा गर्ने उनीहरूको प्रवृत्ति सामाजिक रूपमा बोझिलो बन्दै छ।

संसारमा पुँजीवादी प्रभुत्वसँगै नयाँ पुस्ता व्यक्तिवादी र संकीर्ण भएको हो ? सामाजिक र मानवीय उत्तरदायित्वबाट विचलित भएको हो ? यदि हो भने नयाँ पुस्ताले बहन गर्नुपर्ने सार्वजनिक उद्देश्यप्रतिको आधारभूत दायित्वमाथि जिम्मेवार को हुन्छ ? कोही व्यक्तिवादी जञ्जिरबाट मुक्त नहुँदा उसले सुखी र सुरक्षित भविष्यलाई सिफारिस गर्ने नैसर्गिक अधिकार राख्छ। चाल्र्स एफ किटरिङले भनेजस्तो– ‘भविष्यमा जीवन बिताउनुपर्ने भएकाले यसको चिन्ता लागिरहन्छ।’ तर नयाँ पुस्ताको लक्ष्य जो कोहीको भन्दा भिन्न, असामान्य, गुणात्मक, बहुआयामिक र प्रगतिशीलको समष्टि हुनुपर्छ। राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर लोककल्याणकारी मान्यताको दस्ताबेज हुनुपर्छ।  

पलायन हुनुको बाध्यात्मक अवस्थाबाहेक स्वदेशमा नै संघर्ष गरिरहेको वा अवसरको निम्ति विद्रोह गर्ने युवा पुस्ताको ठूलो हिस्साले राष्ट्रियता र लोककल्याणबारे सार्वजनिक लक्ष्य कस्तो राखेको छ ? देशको सुन्दर भविष्यबारे कस्तो सपना बुन्छ ? समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन हरेक उपस्थितिमा कतिको तादरुकता देखाएको छ ? विकासको सबालमा सामूहिक विमर्शप्रति वैचारिक हस्तक्षेप गर्न सक्षम छ कि छैन ? जनजीविका र सामाजिक एवं राष्ट्रिय मुद्दामा भौतिक र वैचारिक सहभागिताको निम्ति विद्रोह गर्ने ल्याकत राख्छ कि राख्दैन ? आजको युवा पुस्ता यी सबै सवालमा आफ्नो सक्षमता प्रदर्शन गर्न हिजोकै अवस्थामा छैन। न त गन्तव्यमा नै पुगिसकेको छ। त्यसैले यो समयको निवेदनलाई स्वीकार्दै नयाँ पुस्ताको योग्यता, दक्षता, सक्षमता, क्रियाशीलतालाई देशको समृद्धिमा प्रयोजनार्थ राष्ट्रिय रूपमा संस्थागत प्रक्षेपण हुनुपर्छ ।

नयाँ पुस्ताको हितमा अहिलेसम्म यस्तो रचनात्मक पहल भएको छैन। त्यसको सबैभन्दा मारमा नयाँ पुस्ता हुने गर्छन्। यो पुस्ताले कुनै महान् लक्ष्य नराखे इतिहासले श्राप गर्ने र राखे पनि वर्तमानले सहजै नस्वीकार्ने प्रतिकूल मौसम गरिब मुलुकमा आज पनि छ। विज्ञान र प्रविधिको विकासले पृथ्वी झन् साँघुरिँदै छ। ब्रह्माण्डमा मानव बस्तीको अर्को सम्भाव्यताबारे प्रयोगात्मक पहल भइरहेको २१औं शताब्दीमा पनि विश्वका दुई तिहाइभन्दा बढी मुलुक गरिबीको रेखामुनि छन्। स्रोत, साधन, सम्भावना नभएर होइन, चुस्त प्रशासन, अनुकूल राज्य प्रणाली, उर्बर सपना, सामूहिक संकल्पको अभावमा सिंगो युग गरिबीको दलदलमा डुबेको हो। यो दलदल अनायास तयार भएको होइन। देश विकासमा युवा जनशक्तिलाई सही तरिकाले प्रयोग गर्न नसक्दा बनेको राष्ट्रिय विकृति हो। केही विकसित देशका निम्ति साना राष्ट्रको गरिबीपन नाफाको सूचक बने पनि स्वदेशमा यसको दुर्गन्ध सामाजिक, सांस्कृतिक, आर्थिक, प्राविधिक, भौतिक, राजनीतिक विकासमा महामारीको प्रकोपजस्तै बनेको छ। यो महामारीको अन्त्यको निम्ति नयाँ पुस्ताले सामूहिक संकल्पसहितको दीर्घकालीन प्रगतिशील लक्ष्य लिनैपर्छ।

विडम्बना समाजको सबैभन्दा पिँधमा रहेको गरिब मनुवाले परिवर्तनको सुरु आफैंबाट गर्न कुनै महान् सपना बुनेर त्यसलाई फलाउन फुलाउन सार्वजनिक सहायताको आह्वान गर्‍यो भने उसको सपनामाथि वर्गीय हस्तक्षेप सुरु हुन्छ। ऊभित्रको सक्षमता र सम्भावनामाथि सामूहिक पृष्ठपोषण होइन, आक्षेप र कटाक्षको सबैभन्दा ठूलो सिकार हुन ऊ तयार हुनुपर्छ। गरिबीको रेखामुनि रहेका अविकसित मुलुकका नयाँ पुस्ताले सबैभन्दा पहिला यो चुनौतीको सामना गर्ने हिम्मत गर्नुपर्छ। विश्व सत्य यही हो कि बदलिँदो समयले निम्त्याएका अनेक आयामको विविधताबाट अमूर्त हस्तक्षेपद्वारा नयाँ पुस्ता निर्माण भएका हुन्छन्। सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिकको वातावरणीय परिवेशमा नयाँ पुस्ताले स्वीकार गर्ने दूरगामी उद्देश्यको भू्रण पैदा हुन्छ।

मानवीय मान्यताभन्दा पृथक् डार्बिनको प्राकृतिक छनोटको सिद्धान्तअनुसार मानसिक फेरबदलको प्राकृतिक दाबीअनुरूप नै आधुनिकतातर्फ आकर्षित हुने मानसिक चरित्र नयाँ पुस्ताले देखाउँछन्। तर चेतनाको पुरातन निर्देशनबाट सञ्चालित मानौं समाज या सत्ताले विडम्बना ‘अराजक पुस्ता’ भनेर जबर्जस्ती बुझ्ने गर्छ। नयाँ पुस्ताको दक्षता, योग्यता, सम्भाव्यतालाई समृद्धिका निम्ति प्रयोगात्मक उपयोग गर्दै तिनको मनोविज्ञानलाई सम्बोधन गर्ने ल्याकत नराख्ने संसारमा कुनै पनि समाज वा देश आज पनि दुर्गतिबाट ग्रसित छन्। नयाँ पुस्ताका सबै असन्तुष्टि अराजक हुँदैनन्। सबै प्रश्न दण्डनीय हुँदैनन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.