परासी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्के
परासी: पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीका स्वास्थ्यकर्मी काममा फर्केका छन्। काम गर्ने वातावरण र सुरक्षाको ग्यारेण्टी नभएसम्म काम नगर्ने भन्दै आन्दोलनमा उत्रिएका चिकित्सकसहितका स्वास्थ्यकर्मी सोमबारदेखि काममा फर्केका हुन्।
एक बिरामीको विषयलाई लिएर भएको घटनामा स्वास्थ्यकर्मीलाई गालीसहित हातपात भएको भन्दै स्वास्थ्यकर्मीले शनिबारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका थिए। जिल्लास्थित राजनीतिक दलसहितको सर्वपक्षीय बैठकले स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण सृजना हुने र जिल्ला प्रशासनबाट सुरक्षा ग्यारेण्टीको प्रत्याभूति पाएपछि स्वास्थ्यकर्मी काममा फर्केको अस्पतालका प्रबन्धक सुरेन्द्र अधिकारीले बताए।
पीडित महिलाको उपचारका क्रममा लागेको खर्च प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको लैंङ्गिक हिंसा सम्बन्धीको कोषबाट राहत रकम उपलब्ध गराउने र काम गर्ने वातावरणको सृजना गर्ने प्रतिवद्धतापछि स्वास्थ्यकर्मी काममा फर्केको अस्पतालले जनाएको छ।