राजधानीमा अब स्मार्ट लाइट

राजधानीमा अब स्मार्ट लाइट

काठमाडौं : देशको संघीय राजधानी काठमाडौं। सडक सधैं अँध्यारा। छैनन् भन्दा सडकभरी बिजुलीका पोलैपोल, छन् भन्दा जुनकिरिजस्ता सोलार बत्ती। त्यसैकारण राति हिँड्न त परै जाओस, गाडी गुडाउन पनि कठिन। सधैँ दुर्घटनाको डर। काठमाडौं महानगरपालिकाले अब भने पर्याप्त उज्यालो दिने स्मार्ट लाइट जडान गर्दैछ। विद्युत् प्राधिकरणसँगको साझेदारीमा महानगरपालिकाले मूख्य सडकमा दुई हजार स्मार्ट लाइट जोड्न लागेको हो। त्यसका लागि १२ करोड ३० लाख रुपैयाँको लागत अनुमान गरिएको छ।

काठमाडौं महानगरपालिका सार्वजनिक निर्माण विभागका निर्देशक रामबहादुर थापाका अनुसार महानगरपालिकाको ६० प्रतिशत र विद्युत् प्राधिकरणको ४० प्रतिशत लागतमा गुणस्तरीय स्मार्ट लाइट जडान गर्न लागिएको हो। सडक बत्तीको अभावमा उपत्यकामा दुर्घटना बढिरहेको जनगुनासो आएपछि महानगरले सडक बत्ती थप्ने निर्णय गरेको हो। थापा भन्छन्, ‘रातको समयमा पनि काठमाडौंलाई सुरक्षित बनाउने तथा उज्यालो सहर निर्माणका लागि गुणस्तरीय सडक लाइट जोड्न लागिएको हो। यसले गर्दा रातमा यात्रा गर्नेहरूले सुरक्षित यात्रा अनुभव गर्न सक्छन्।’

विद्युत् प्राधिकरणका विद्युतिय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना प्रमुख सागर ज्ञवालीका अनुसार महानगरको आर्थिक सहयोगमा विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त स्मार्ट लाइट जोड्न लागेको छ। स्मार्ट लाइटका लागि मूल्यांकन र अनुसन्धान भइरहेको र एक हप्ताभित्रमै टेन्डर आह्वान गरिने ज्ञवालीले जानकारी दिए।

ज्ञवाली भन्छन्, ‘सडकका बत्ती कमजोर हुने, चाँडै बिग्रने, बल्दै नवल्ने र समस्या धेरै आउने गरेपछि यसपटक गुणस्तरीय सिटी लाइट जोड्न लागिएको हो। यसअघिका लाइट यथावत राखेर काठमाडौं महानगरभित्रका मुख्य–मुख्य सडक र चोकहरूमा स्मार्ट लाइन जोडिनेछन्। दरबारमार्ग, पुतलीसडक, बानेश्वर, तिनकुने सडक, कान्तिपथ, बबरमहल, न्यूरोडलगायतका सडकमा यी बत्ती जोडिनेछन्।

ज्ञवालीका अनुसार महानगरसँग लागत साझेदारीमा सहर उज्यालो बनाउने प्रक्रियामा छौं। दुई हजार लाइटको अनुमान गरिएको छ। यसका लागि महानगरले तयारी तिब्र पारेको छ।

के हो स्मार्ट लाइट ?

स्मार्ट लाइट सफ्टवेयरबाट अनुगमन गर्न मिल्छ। कहाँको लाइट कति बल्यो ? कहाँ बलेन सफ्टवेयरमै हेर्न मिल्छ। सर्भरमा डाटा हुन्छ। कन्ट्रोल रुममा सर्भर जोडिएको हुन्छ। स्मार्ट लाइटलाई कन्ट्रोल गर्न महानगर र अर्को विद्युत् प्राधिकरणमा कन्ट्रोल रुम हुन्छ। लागत साझेदारीमा स्मार्ट लाइट जडान गर्न लागिएकाले मोनिटरिीङका लागि दुवै ठाउँमा कन्ट्रोल रुम राखिएको छ। यहिँबाट लाइटको टाइम सेट गर्न मिल्छ। लाइट आधुनिक प्रविधियुक्त डिजिटल हुन्छ। कुनबेला बाल्ने र निभाउने कन्ट्रोल रुमबाटै सेट गर्न मिल्छ। 

रातको समयमा लाइटलाई कम गर्न सक्ने सुविधा पनि स्मार्ट लाइटमा छ। स्मार्ट लाइटलाई फिडर प्यानलले कन्ट्रोल गर्छ। एउटा फिडरले ६० देखि ७० वटा स्मार्ट लाइट कन्ट्रोल गर्छ। लाइट बलेको समय पनि सर्भरमै सुरक्षित हुने भएकाले सडक बत्ती बल्दा कति खर्च भयो भन्ने विषयमा महानगर र प्राधिकरणबीच हुने लफडा पनि समाधान हुने महानगरको दावी छ। यो लाइटले सामान्य लाइटभन्दा डबल सुविधा दिने प्राधिकरणका ज्ञवालीले जानकारी दिए। उनी भन्छन्, ‘कन्ट्रोल मेकाजिनम फरक भएकै कारण यसलाई स्मार्ट लाइट भनिएको हो। अन्य लाइटको हिसावले आधा मात्रै विद्युत् खपत हुन्छ। हरेक लाइटमा छुट्टै मिटरिङ र कम्युनिकेसन सिस्टम हुन्छ। लाइटको डिजाइन पनि रोड अनुसार नै गरिएको छ। रोडको साइज र बनोट अनुसारको डिजाइनिङमा यी लाइट बन्दै छन्।’ 

यो लाइटको ५ वर्ष वारेन्टी हुनेछ। बिग्रएमा वा केही समस्या आएमा कन्ट्रयाक्टरले नै फेर्ने वा बनाउनै गरी सम्झौता गरिने महानगरका थापाले बताए। उनी भन्छन्, ‘सफ्टवेयरमा डाटा हुने भए लाइटको अनुगमनमा समस्या छैन। प्राधिकरण र महानगर दुवैले हेर्न सक्छन्। लाइट अन्तर्राष्ट्रिय  स्तरको हो।’

स्मार्ट लाइट कुन देशबाट आउने भन्ने टुंगो लागि नसकेको तथा यस्तै स्मार्ट लाइट जडान गर्न ललितपुर, महालक्ष्मी, बुढानीलकण्ठ नगरपालिकाले पनि तयारी गरिरहेको प्राधिकरणको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.