माछी पालन हे दाइ हो ...
हाम्रो देशमा एउटा लोकप्रिय गीत छ, ‘माछी मारन हे दाइ हो... आजलाई चटनी।’ छिमेकी देश भारतमा एउटा कविता प्रचलित छ, ‘मछली जलकी रानी है, जीवन उसका पानी है।’ चीनमा पनि अर्को मनन्योग्य उक्ति छ, ‘कुनै मानिसलाई माछा दिए उसलाई एक दिन मात्र खान पुग्छ, तर माछापालन गर्न सिकाउनु भनेको जीवनभर माछा खुवाउनु हो।’ यस्ता गीत, कविता र उक्तिले माछालाई एउटा असल खाद्य पदार्थ, महत्त्वपूर्ण जलीय जीव र माछापालन गरेर सधैंका लागि खान पुग्ने अवस्थाको सिर्जना गर्नु पर्छ भन्ने सन्देश दिन्छन्।
वैदिक र पौराणिक मान्यताअनुसार विष्णु देवताको दस अवतारमध्ये माछा पहिलो अवतार हो। माछालाई प्राचीनकालदेखि सगुन र शुभ चिह्नका रूपमा लिने गरिएको छ। आजसम्म पनि अनेक धर्म, जाति र सम्प्रदायमा हुने शुभकार्य, पूजा र खानपिनमा माछा नभई नहुने कुरा हो। माछाजलीय वातावरण र पारिस्थितिक प्रणालीलाई जोगाएर राख्ने महत्त्वपूर्ण जीव पनि हो। माछा राम्रो पोषण भएको आहारा हो। यसमा मानव शरीरलाई चाहिने प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, पोटासियम, फस्फोरस, फलाम, सल्फर, म्याग्नेसियम, तामा, जिंक, आयोडिन, नियासिन, थाइमिन र विशेषरूपमा ओमेगा तीनजस्ता तत्त्व प्रशस्तै पाइन्छन्। तसर्थ माछापालन र यसको भोजन, अपरिहार्य भएको छ। हेरमिनियो रब्बलका अनुसार आजभन्दा चार हजार वर्षपहिले चीनबाट माछापालन सुरु भएको हो। साथै करिब दुई हजार वर्षपहिले दक्षिणपूर्व एसियामा धानखेत र रिजरभ्वायरमा माछापालन गरिएको मानिन्छ। सन् १७३३ मा जर्मनीका एक किसानले आधुनिक तरिकाले माछाको संकलन, प्रजनन र पालन गर्न सुरु गरेका थिए। उनले सुरु गरेको त्यो प्रविधिलाई परिष्कार गर्दै आज विश्वभर वैज्ञानिक प्रविधिबाट माछापालन भइरहेको छ। नेपालमा पनि कुनै न कुनै रूपमा करिब आठ दशक अघिदेखि माछापालन भइरहेको छ।
डा. दीपबहादुर स्वाँर र अग्नि नेपालले मत्स्य शृंखलामा उल्लेख गरेअनुसार नेपालमा मल्ल राजाहरूले काठमाडौंमा अनेक पोखरी खनाएका थिए। तर माछा भने पालन गरिएको थिएन। शाहवंशका राजा रणबहादुर शाहले बालाजुमा बाइसधाराको निर्माणसँगै धाराभन्दा माथिको भित्तातिर एउटा ठूलो पोखरी बनाए। जसमा सहर र कत्ले जातका स्थानीय माछा राख्न लगाएका थिए। त्यसपछि चन्द्रशमशेर र जुद्धशमशेरले सिंहदरबार, त्रिपुरेश्वर र जावलाखेलको चिडियाखानाभित्र पोखरी बनाएर खाने माछा र सौन्दर्य माछापालन गरेका थिए।
एकजातीय, बहुजातीय, एकीकृत र व्यावसायिक माछापालनका प्रचलित तरिकाहरूलाई अपनाउन सकिन्छ। त्यस्ता तरिका र प्रविधिहरू अपनाएर स्थिर पोखरी, गतिशील पोखरी, धानखेत, पिँजडा, इन्क्लोजर, प्राकृतिक घोल, रिजरभ्वायर, एक्वारियम र खुला जलाशयमा माछापालन गर्न सकिन्छ। नेपालमा यी सबै प्रविधि, तरिका र पद्धतिबाट माछापालन भइरहेको छ। २०५६ सालदेखि पहाडी र हिमाली क्षेत्रको उपयुक्त किसिमको चिसोपानीमा उच्च मूल्यको रेन्बो ट्राउट माछापालन पनि भइरहेको छ।
विश्वका सबै प्रकारका जलाशयमा करिब २८ देखि ३४ हजार प्रजातिका माछा छन् भनिन्छ। यी माछालाई स्थानअनुसार २ लाख १८ हजार नामले चिनिन्छ। सबै जातका माछा खानयोग्य र पालन गर्न सकिने किसिमका पनि हुँदैनन्। मत्स्य विकास कार्यक्रमको वार्षिक प्रतिवेदन र तथ्यांक पुस्तिकाअनुसार नेपालमा हालसम्म २ सय ५२ जाति प्रजातिका माछाहरू पाइएका छन्। पालनका लागि कमनकार्प, सिल्भरकार्प, बिगहेडकार्प, ग्रासकार्प, भाकुरा, रहु, नैनी, टिलापिया, पंगास, पुन्टियस, रूपचन्दा, माँगुर र रेन्बो ट्राउट सिफारिस गरिएका छन्। रूपचन्दा र माँगुर पाल्न सरकारको अनुमति लिनुपर्छ।
नेपालमा समुद्र नभए पनि माछापालन गर्न सकिने नदी, खोला, ताल, पोखरी, सिञ्चित धानखेत, रिजरभ्वायर, नहर–कुलो र ठूला सडक छेउका खाल्डाहरू गरी कुल ८ लाख २८ हजार १ सय ७१ हेक्टर जलाशय क्षेत्रफल छ। यो अपार जलक्षेत्रमा माछापालन गर्न सकेको अवस्थामा रोजगारी सिर्जना, आयआर्जन र गरिबी निवारणमा ठूलो टेवा पुग्छ। यसबाट देशको गार्हस्थ उत्पादनमा समेत वृद्धि हुने देखिन्छ। अहिले मत्स्यपालनले देशको गार्हस्थ उत्पादनमा १.५९ प्रतिशत र कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा ४.२२ प्रतिशत योगदान दिएको छ। नेपालमा उपलब्धताको हिसाबले ३.४३ किलो माछा प्रतिव्यक्ति प्रतिवर्ष खपत भइरहेको छ। यहाँका तराई, पहाड र हिमाली क्षेत्रका विभिन्न प्रकारका जलाशयमा माछापालन गरेर वा सोझै समातेर उत्पादन लिने गरिएको छ। नेपालमा २०७३/०७४ मा ८३ हजार ८ सय ९८, २०७४/०७५ मा ८६ हजार ५ सय ४४, २०७५/०७६ मा ९१ हजार ८ सय ३२, २०७६/०७७ मा ९७ हजार २ सय ७१ र २०७७/०७८ मा १ लाख ४ हजार ६ सय २३ मेट्रिकटन खानेमाछा उत्पादन भएको तथ्यांक छ। हाम्रा लागि यो उत्पादन पर्याप्त नभए पनि सन्तोषजनक भने छ।
नेपालमा राजाको दरबार र उद्यानमा एक दुईवटा साना पोखरीबाट रहर वा सोखले सुरु गरिएको थियो। माछापालन हाल झन्डै ६० जिल्लामा व्यावसायिक खेतीका रूपमै फैलिएको छ। माछापालनको थप विकासका लागि पालन गर्ने उपयुक्त स्थान, प्रविधि, तरिका र योजनासहित अगाडि बढ्नु आजको आवश्यकता हो। अब हामीले माथिको गीतलाई परिमार्जन गर्दै फेरि गाउन सक्छौं कि ‘माछी पालन हे... दाइ हो सधैंलाई चटनी माछी पालन हे...।’
भट्टराई, मत्स्य विज्ञ हुन्