कांग्रेस संसदीय दलको निर्वाचन आज, देउवा र थापाबीच भिडन्त
काठमाडौं : कांग्रेस संसदीय दलका नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन्। जसका लागि बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुँदैछ।
देउवाका प्रस्तावक नेता रामचन्द्र पौडेल र थापाका प्रस्तावक अर्का नेता डा. शेखर कोइराला छन्।
डा. कोइरालाले संस्थापन इतर पक्षबाट दलका नेतामा दाबी गरे पनि अन्तिममा थापालाई छाडेका हुन्। देउवाका समर्थक उपसभापति पूर्णबहादुर खड्का र थापाका समर्थक उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल छन्।
दलका नेता चुनिन ४५ मत ल्याउनुपर्ने हुन्छ। कांग्रेसका सांसद ८९ जना छन्। मंगलबार अपराह्नसम्म थापाका पक्षमा ३९ सांसद पुगेको दाबी नेताहरूले गरेका छन्। तर, युवा नेता पौडेल पनि थापाको समर्थक बसेकाले ‘तटस्थ’ भन्न रुचाउने केही सांसद यही पक्षमा खुल्ने नेताहरूको भनाइ छ।
‘सधैं एकै व्यक्ति सत्ता वरिपरि घुमिराख्दा पार्टीप्रतिको आकर्षण पनि घट्न सक्ने खतरा देखिएको छ’, नेता पौडेलले भने, ‘त्यसकारण अग्रजलाई सम्मान गर्दै गगनजीको समर्थक बसेको हुँ।’
देउवानिकट नेता पनि तटस्थ देखिएका ५ जनाजति सांसद आफ्नो पक्षमा आउने दाबी गर्छन्। ‘संसदीय दलमा हुने प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिनुपर्छ’, देउवाका समर्थक बसेका उपसभापति पूर्णबहादुर खड्काले भने, ‘शेरबहादुर देउवा भारी मतान्तरले जित्नुहुनेछ।’ स्थानीय र संसदीय निर्वाचनमा देउवाले पार्टीलाई पहिलो बनाएकाले नेता÷कार्यकर्ताले त्यसको मूल्यांकन गर्ने खड्काले बताए।
थापाका प्रस्तावक डा. कोइरालाले भने स्थायित्व र रूपान्तरणका लागि थापालाई प्रस्ताव गरेको प्रतिक्रिया दिए। ‘पार्टीको आगामी सभापतिको सहमतिको विषयमा भोलिका दिनहरू हेर्दै जाने हो’, उनले भने, ‘यो विषयमा गगनजीले स्पष्टसँग बोलिसक्नुभएको छ।’