भन्सार प्रमुखले ल्याए भन्सार नतिरी सामान

भन्सार प्रमुखले ल्याए भन्सार नतिरी सामान

टीकापुर : कैलालीको दक्षिणी सीमावर्ती खक्रौलास्थित सत्तीभन्सार कार्यालयका प्रमुख विमलकुमार साह शुक्रबार भारतीय बजार तिकुनियाँबाट भन्सारकै से१झ ३०२ नम्बरको गाडीमा चारवटा एसी ल्याइरहेको अवस्थामा भेटिए। 

तर भन्सार कार्यालय प्रमुखले भन्सार नै नतिरी एसी ल्याउन मिल्छ त भन्ने अन्नपूर्ण पोस्ट्को जिज्ञासामा उनले यसलाई व्यावहारिक रूपमा लिन आग्रह गरे। ‘घरायसी प्रयोजनका लागि ल्याएको हुँ, फोटो नखिच्नुस् यसलाई व्यावहारिक रूपमा लिनुस्’र्, उनले भने, ‘यो कार्यालय पनि घर नै हो, कार्यालयकै लागि ल्याएको हुँ।’ 

२०७७ पुस ३ गते भन्सार कार्यालयमा हाजिर भएका उनी झन्डै दुई वर्ष बसेका थिए। उनले चोरी तस्करीमा संलग्न गिरोहसँगको मिलेमतोमा सामान भित्र्याउने गरेको स्थानीयवासीले आरोप लगाउँदै आएका थिए। 

साहकै कारण भन्सार कार्यालयको राजस्वमा समेत गिरावट आएको छ। आर्थिक वर्ष २०७९/०८० मा १४ करोड ९४ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले पाँच महिनाको अवधिमा जम्मा २ करोड ४७ लाख ८५ हजार रुपैयाँ संकलन गरेको छ। आर्थिक वर्ष ०७८/०७९ मा २० करोड ५८ लाख ६१ हजार संकलन लक्ष्य रहेकोमा कार्यालयले १० करोड ६७ लाख ९३ हजार संकलन गरेको थियो। यो लक्ष्यको झन्डै ५२ प्रतिशत मात्रै हो। 

कार्यालय प्रमुखका रूपमा साह आउनुअघि भने सत्तीस्थित भन्सार कार्यालयले वर्षभरिको लक्ष्य चार महिनामै असुल गरेको थियो। कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ को ६ करोड ७ लाख रुपैयाँको लक्ष्य लिएको कार्यालयले पहिलो चौमासिकमै ६ करोड ८ लाख संकलन गरेको थियो। सो वर्षमा १५ करोड ८३ लाख ७ हजार रुपैयाँ संकलन गरेको थियो। 

कार्यालय प्रमुख नै चोरी तस्करीमा संलग्न गिरोहसँग मिलेमतो गर्न थालेपछि कार्यालयको राजस्व निरन्तर ओरालो लागेको हो। शुक्रबार कार्यालयमै भेटिएका उनले चोरी तस्करीका घटना बढेको स्वीकार गरेका थिए। 
साहले सेटिङमा काम गर्ने गरेपछि भन्सार तिरेर कारोबार गर्ने व्यापारीहरू पलायन भएका छन्। स्थानीय सुरेश शर्मा पण्डितले भने, ‘भन्सार गरेर ल्याउँदा सामान महँगोे पर्न थाल्यो, चोरी तस्करीबाट सामान धमाधम गइरहेको छ, कार्यालय प्रमुखमै संलग्नतामा यस्तो भएको हो। उनले चोरी तस्करी नियन्त्रणका लागि कुनै पहल गर्न सकेनन्।’

कार्यालय प्रमुख साहले आफ्ना जेठान नाता पर्ने घनश्याम चौधरीलाई करारमा कार्यालयको ड्राइभरमा नियुक्त गरेका थिए। चौधरीकै संलग्नतामा साहले तस्करसँगको मिलेमतोमा सामान निकासी गर्ने गरेको स्थानीय बताउँछन्। ‘कार्यालय प्रमुखको जेठान हुन्, कार्यालयकै ड्राइभर पनि हुन्, उनले नै सबै सेटिङ मिलाउने गरेका थिए,’ स्थानीय एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘चोरी तस्करीमा पूरै उसैको भूमिका थियो।’ 

भारतीय बजार तिकुनियाँबाट एसी ल्याउँदै गरेको फेला परेका साहले समाचार प्रकाशन नगर्न हारगुहार गरेका थिए। स्थानीय सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि उनी शनिबार बिहानै कार्यालय छोडेर गएको बताइएको छ। कार्यालयका नायब सुब्बा तुलसीराम थारुलाई निमित्त प्रमुखको जिम्मेवार दिँदै उनी बाहिर गएका हुन्। 

‘शनिबार पत्र लेखेर निमित्त दिनुभएको रहेछ’, नासु थारुले भने, ‘मैले आइतबार मात्रै कार्यालयमा आएपछि निमित्त प्रमुखको पत्र पाएँ।’ चौधरीले भारतीय बजारबाट ल्याइएको एसीबारे आफूलाई केही जानकारी नभएको बताए। ‘एसी त कार्यालयको एक कोठामै राखिएका छन्’ थारुले भने, ‘यसबारेमा मैले केही बुझेको छैन, कहाँबाट ल्याएका हुन्, किन ल्याएका हुन् केही थाहा छैन।’

भन्सार विभागका सूचना अधिकारी पूण्यविक्रम खड्काले कार्यालय प्रमुख साहले भारतीय बजारबाट गाडीमा ल्याउँदै गरेको एसीबारे आफूहरूलाई जानकारी आएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.