‘खाद्यान्न जोहो गर्न ४ दिन लगाएर सदरमुकाम आउनुपर्छ’
तपाईं सदरमुकाम गमगढी के कामले आउनु भएको हो ?
घरमा मैलै ऊनबाट राडी पाखीहरू बनाएको थिएँ। यिनै पाखी, मफलर बेचेर चामल किनेर घर लैजान आएकी हुँ। दुई दिनसम्म बजारमा घुमाइँहाले, बिक्री भएका छैनन्। बिक्री भएको भए यसबाट आएको पैसाले दुई/तीन महिना पुग्ने चामल किनेर घर लैजाउँला भनेको हो। सामान बिक्री भएको छैन, चामल कसरी किन्ने ? सारै महँगो रै छ बजारमा।
दुई दिन लगाएर सदरमुकाम चामल जोहो गर्नु आउनुभयो। तपाईंको गाउँ नजिकै खाद्य डिपो छ। पुलु बजारमा पनि त चामल किन्न पाइन्छ होला नि ?
मेरो गाउँबाट दुई घण्टा टाढा पुलुमा खाद्य डिपो छ। डिपो भएर के गर्नु, त्यो डिपोबाट चामल नपाएको एक वर्ष भइसक्यो। डिपोमा कर्मचारी पनि देखेका छैनौं । खाद्य डिपो ताला लगाएको मात्र देखिन्छ। जडीबुटी पशु चौपाया बेचेर कमाएको पैसा र गाउँमा निर्माण हुने योजनामा काम गरेर जम्मा गरेको पैसा भए पनि चाहे जति सस्तो मूल्यमा खाद्यान्न नपाएपछि दुई दिन आउन र दुई दिन जान लगाएर सदुरमुकाममा चामल जोहो गर्न आउनुपरेको हो। पुलु बजारमा पनि चामल त पाउँछ तर महंगोे छ।
खाद्य संस्थानकै भरमा किन बस्नुहुन्छ। तपाईंहरूले खेतीपाती गर्नु हुँदैन र ?
खेतीपाती गर्छौं नि । कोदो, सिमी, आलु, नाफल, चिनो, फापर उत्पादन हुन्छ। तर, वर्षभरी गरेको खेतीपातीले मुगुम कार्माराङ गाउँपालिकाका सबै वडा र बस्तीका मान्छेलाई तीन महिना पनि राम्रोसँग खान पुग्दैन। वर्षभरी गरेको खेतीपातीले खान नपुग्ने भएपछि खाद्य संस्थान र व्यापारीहरूको भर नपरी के गर्नु ?
खाद्य संस्थान कि गमगढी बजारबाट किनेर लैजानुहुन्छ चामल ?
खाद्य संस्थानले चाहेजति चामल दिँदैन भन्ने सुनेको छु। हामी टाढाको मान्छे एकपटक आउँछौं। एकपटक आएकाबेला ६ महिनासम्म पुग्ने खाद्यान्न लैजानुपर्छ। एक घर परिवारलाई खाद्य संस्थानले भने जति चामल नदिने भएपछि बजारका व्यापारीबाटै किन्नुपर्ला। खाद्य संस्थानमा सहुलियत दरमा पाइने भए पनि बजारबाटै खाद्य संस्थानको मूल्यभन्दा महँगो मूल्यमा किनेर लैजानुपरेको छ।
गमगढीमा किनेको खाद्यान्न घरसम्म कसरी पुर्याउनु हुन्छ ?
खच्चडबाट ढुवानी गरेर लैजान्छौं। गमगढीबाट मेरो गाउँसम्म प्रतिकेजी चामलको ३२ देखि ३५ रुपैयाँसम्ममा खच्चडवालाले लैजान्छन्। वर्षा हुनुभन्दा अगाडि गमगढीबाट छायलसम्म ट्र्याक्टरमा ढुवानी गरेर लैजान्थ्यो। छायलबाट २० देखि २२ रुपैयाँले प्रतिकेजी गाउँसम्म ढुवानी हुन्थ्यो। साउनदेखि बर्षात्ले गमगढी छायल सडक अवरुद्ध भएपछि गमगढीबाटै महँगोमा ढुवानी भाडा तिरेर लैजाने गरेका छौं।
गमगढी र पुलु बजारको चामलको मूल्यमा अन्तर कति छ ?
गमगढीमा एसएमजी मोटो ३० केजीको १ हजार ४५० पर्छ। तिरुपति जिरामसिनो २५ केजी बोराको २ हजार ४ सय पर्ने रैछ। खाद्य संस्थानमा बजारको भन्दा राम्रो खालको मोटो चामलको मूल्य १ हजार ७० र जिरा मसिनो २५ केजीको १ हजार ८ सय मूल्य रहेछ।
- पाखी र मफलर बेचेर चामल किन्न आएकी हुँ।
- मेरो गाउँबाट दुई घण्टा टाढा पुलुमा खाद्य डिपो छ। त्यहाँ चामल नपाएको एक वर्ष भइसक्यो। डिपोमा कर्मचारी पनि देखेका छैनौं। डिपोमा ताला लगाएको मात्र देखिन्छ।
- हामी टाढाको मान्छे एकपटक आउँछौं। एकपटक आएका बेला ६ महिनासम्म पुग्ने खाद्यान्न लैजानुपर्छ।
- कोभिडपछि चीनले नाका बन्द गर्दा हामीलाई यस्तो दुःख आइपरेको हो। सरकारले पनि पहल गर्दैन।
- जति चुनाव आए पनि हाम्रा समस्या जिउँकातिउँ छन्।
- नेताहरू भोट माग्न आउँदा सबै चिज चुल्होमै पुराउँला जस्तो गर्छन्। जितेपछि कहिल्यै फर्केर आउँदैनन्।
पुलु खाद्य डिपोमा मोटो चामलको १ हजार ५ सय र जिरा मसिनोको १ हजार ८२५ मुल्य पर्छ। तर, त्यो डिपोमा चामल नै छैन। पुलु बजारमा व्यापारीहरूले मोटो चामलको १ हजार ८ सय देखि २ हजारसम्म पर्छ भन्छन्। जिरा मसिनो २५ केजीको ३ हजार २ सयदेखि ३ हजार ५ सयसम्म पर्छ।
पुलु र गमगढीको मूल्य अन्तर धेरै रहेछ नि त ?
हजुर हो नि। खाद्य संस्थानले पुलुमा भएको डिपोमा खाद्यान्न पुराएको भए हामीहरूले यति दुःख गरेर गमगढीबाट चामल लैजान पर्दैनथ्यो। संस्थानले खाद्यान्न ढुवानी गरे पनि भनेको बेला र चाहेजति चामल कहिल्यै पाएका छैनौं। अब सहुलियतमा बिक्री गर्ने चामल सरकारले पुराउन नसकेपछि हामी जनताले महँगोमा किन्नै पर्यो नि।
यो पटकको बाढी पहिरोले गर्दा सडक अवरुद्ध भएर पनि होला ढुवानीले गर्दा मूल्य अन्तर बढेको हुन सक्छ। जे भए पनि हामी जनतानै मारमा पर्ने हो।
पुलु डिपोमा खाद्यान्न हुँदा कति पाउनु हुन्थ्यो ?
अगिल्लो वर्ष यही पुस महिनामा ल्होसारलाई भनेर चामल बिक्री गरेको थियो। त्यो बेला पैसा हुनेहरूले एक दुई क्विन्टल पनि पाए। पैसा कम हुनेहरूले ३० देखि ४० केजी पाएका थिए। त्यो बेलाबाट खाद्य डिपोबाट एक दाना चामल पाएका छैनांै। चामल ढुवानी गर्न जिम्मा लिएको ठेकेदारले डिपोमा खाद्यान्न नपुर्याइ बीच बाटोमै बिक्री गर्नाले पनि डिपोमा भने जतिको चामल नपुग्दा म जस्ता अरू सर्वसाधारणले खाद्यान्न नपाउने गरेका हौं।
खाद्य संस्थानमा नपुगी बजारको चामल किनेर लैजान लाग्नु भएको रै छ त ?
मेरो ४ जनाको परिवार छ। बजारदेखि मेरो गाउँ ताखा दुई दिन टाढा पर्छ। टाढाको मान्छे भनेर कर्मचारीले बुज्दैनन्। मलाई छ महिनासम्म पुग्ने चामल आवश्यक छ। छ महिनासम्म पुग्ने चामल म एक्लैलाई खाद्य संस्थानले दिँदैन। संस्थानबाट त्यतिका चामल किनेर लैजान पाए त पैसो धेरै बच्ने थियो। एक जनालाई बढी दिए दुई/तीन प्याक देलान त्यतिले पुग्दैन। अब महँगोेमै भए पनि बजारबाटै किन्नुपर्ने नै भयो।
अझ हामी लामा समुदायका प्रायः घरपरिवारहरू एउटै सेतो चामलको भात खाँदैनौं। सेतो चामलसँग रातो चामल मिसाएर भात पकाउँछौं। रातो चामल मुगुम कार्मारोङ गाउँपालिकामा उब्जनी हुँदैन। सदरमुकाम गमगढी आसपास र जुम्लाको सिंजा मुगुका खत्याड गाउँपालिका र सोरु गाउँपालिकासम्म रातो चामलको खोजीमा पुग्नुपर्छ। कम दुःख छ र ? हाम्र्रो दुःख कसले देखेको छ र ?
चामल जोहो गर्न गमगढीबाहेक कुन–कुन ठाउँसम्म पुग्नु हुन्छ ?
रातो चामल खोज्न गमगढी आसपासका गाउँ र जिल्लाको खत्याड, सोरु र जुम्लाको सिंजा क्षेत्रमा पुग्छौं। सेतो चामल किन्न मुगुम कार्मारोङ गाउँपालिकाको पुलु र छायल बजार, त्यसपछिको टाढाको ठाउँ गमगढी हो। मुख्य पुलु डिपोमा खाद्यन्न नभएपछि टाढा पुग्नुपरेको हो।
दुई तीन वर्ष अगाडि यस्तो दुःख पाएका थिएनौं भन्नुहुन्छ। त्यतिबेला कसरी गर्नुहुन्थ्यो र चामलको जोहो ?
कोभिड सुरु भएपछि चीनले नाका बन्द गर्दा हामीलाई यस्तो दुःख आइपरेको हो। हरेक वर्ष साउनको पहिलो या दोस्रो सातामा एक हप्तादेखि दुई हप्तासम्म चीनको नाक्चे लाग्ना बोर्डरको ह्याजीमारमा हाट बजार लाग्थ्यो। त्यो हाट बजारमा तिब्बति व्यापारीहरू खाद्यान्न, लता–कपडा बिक्री गर्न राख्थे।
मुगुम कार्मारोङका सबै स्थानीय दुई तीन दिन पैदल हिँडेर आफूले पालेका याक, चौरी घोडाघोडी, खच्चड झोवा, भेडा बाख्रामार्फत ढुवानी गरी वर्षभरी पुग्ने खाद्यान्न, कपडालगायतका सामग्री सस्तो मूल्यमा किनेर ल्याउँथ्यौं। कोभिड भएदेखि अहिलेसम्म यो चीनले नाका खोलेको छैन। यसका लागि नेपाल सरकारले पनि पहल गर्दैन।
डिपोमा चामल पुगेन, किन्न टाढा जानुपर्छ, हामीलाई दुःख भयो भनेर स्थानीय सरकारलाई कहिल्यै गुनासो गर्नुभएन र ?
आ... हाम्रा कुरा कसले सुन्ने हो र ? कति पटक भनेका होलाउँ वडाध्यक्ष, गाउँपालिकाका हाकिम र अरू कर्मचारीलाई पनि। तर, कसैले सुन्दैन। चुनाव आउँदा मात्र जनतालाई के–के गरांैला भन्छन्। जितेपछि कसैले केही गर्दैनन्। हाम्रा दुःख जस्ताकातस्तै छन्।
भर्खरै चुनाव सकियोे। गाउँमा भोट माग्न नेताहरू पुगे होलान्। तपार्इंले यो समस्या राख्नु भएको थियो र ?
चुनाव त कति आए कति गए। हाम्रा समस्या जिउँकातिउँ छन्। खाद्यान्न पाइँदैन। आयोडिन नुन पनि पाइँदैन। अहिलेसम्म ढिके नुन खान्छौं। पोकाको नुन ल्याउन पनि दुई दिन हिँडेरै सदरमुकाम पुग्नुपर्छ। नेताहरू भोट माग्न आउँदा सबै चिज चुल्होमै पुराउँला जस्तो गर्छन्। जितेपछि कहिल्यै फर्केर आउँदैनन्। भोट माग्न आएका सबै नेतालाई भनेकै हो चामल र नुनका लागि टाढा–टाढा कहिलेसम्म पुग्ने भनेर। जितेर गएका छन्,
के गर्छन् हेरांै।
नुन लैजान पनि गमगढी नै आउनु पर्छ र ?
चामल जस्तै नुनको झन् बढी समस्या छ। नुन मान्छेलाई मात्र नभई पशुचौपायालाई समेत चाहिन्छ। हाम्रो गाँउघरमा पशु चौपाया पनि त्यतिकै पाल्छौं । फेरि हामी लामा समुदायलाई नुनको धेरै महत्व छ। दिनमा ५/५ पटक त नुन चिया मात्र खान्छौं। तीन/चार वर्षअघि तिब्बतबाट ल्याएको ढिके नुन प्रयोग गर्दै आएका छौं। पोका नुन ल्याउन गमगढी नै पुग्नुपर्छ। गमगढीको साल्ट ट्रेडिङमा १ पोका नुन ९ रुपैयाँले किन्न पाउँछ। त्यही नुन पुलु बजार वा गाउँघरमा ३५ देखि ५० रुपैयाँले पाउँछ।
नुन पाउन पनि त्यतिकै समस्या छ। सबैभन्दा बढी एकल महिला वृद्धवृद्धा र बालबालिका साना हुने घरपरिवारलाई नुन लिन आउन/जान चार दिन लाग्छ। अहिलेसम्म हाम्रो गाउँपालिकामा साल्ट ट्रेडिङ कर्पाेरेसनले नुन पनि पुराएको छैन। बेला–बेलामा जिल्लाका अरू गाउँपालिकामा नुन पुराएर वितरण गरिरहेको सुनिएको छ।
नयाँ सरकार बन्दैछ। यो सरकारबाट के आशा लिनु भएको छ ?
हामीलाई जुन सरकार आए पनि कसैले हेरेको छैन। सहुलियतमा पाइने चामल र नुनसमेत पुराउन सकेको छैन। अरू के आशा गर्नु र ? हामीलाई सजिलै चामल र नुन पाउने व्यवस्था गरेको भए हुन्थयो। आवतजावत गर्न राम्रो बाटो छैन। सदरमुकाम पुग्न ज्यानको बाजी थापेर आउनुपर्छ। त्यही बाटो पनि राम्रोसँग बनाइदिएको भए हुन्थ्यो।