बालबालिकाको उपचार गर्न औषधी बोकेर ठुलाबगर पुगे डाक्टर
जाजरकोट: जाजरकोटको दुर्गम बस्ती पुगेर बालरोग विशेषज्ञ डा नवराज केसीले बालबालिकाको उपचार गरेका छन्। नलगाड नगरपालिकाका-१, ठुलोबगर बस्तीका बालबालिकाको निशुल्क उपचार गर्न सुर्खेतबाट डाक्टर केसी औषधी बोकेर ठुलाबगर पुगेका हुन्। उनले ६५ बालबालिकाको नि:शुल्क उपचार गरेका छन्।
केसीको सहयोगमा ठुलाबगरमा बालरोगको उपचार शिविर नै संचालन गरिएको थियो। ठुलाबगरका बालबालिकाको स्वास्थ्य चेकजाँच गरी निशुल्क औषधी दिइएको छ। बस्तीका अधिकांश बालबालिकामा जाडोमा देखिने निमोनिया, रुघाखोकी, दमजस्ता स्वास्थ्य समस्या देखिएको केसीले बताए। केही बालबालिकामा मुटुको समस्या पनि देखिएको उनले बताए।
मुटुमा समस्या देखिएका बालबालिकालाई थप उपचारको लागि सुर्खेत बोलाइएको डा. केसीले बताए।