राजनीतिका बाछिटा
जुनसुकै लोकतान्त्रिक मुलुकमा हुने आम निर्वाचनलाई त्यस देशका आम नागरिकका सपनासँग जोडेर हेर्ने गरिन्छ। आम निर्वाचनपश्चात् निर्माण हुने सरकारले नागरिकका सपना हकहितमा बदल्ने दृढ संकल्पसहित आगामी यात्रा आरम्भ गर्ने गर्दछ। त्यसैले आम निर्वाचनलाई राष्ट्र निमार्णका निम्ति राष्ट्रिय पर्व हो भनिन्छ। निर्वाचनले राजनीति स्थायित्व प्रदान गर्छ र राजनीतिक स्थायित्वले विकास, समृद्धि, सुशासनका साथै नीतिगत तहमा उब्जेका प्रश्नहरूसमेत हल गर्छ। जसकारण राजनीतिलाई मूल नीति र निर्वाचनलाई लोकतन्त्रको श्वासप्रश्वास हो भन्ने गर्छन्। दल र मतदाताको सम्बन्ध कस्तो छ भन्ने विषयको छिनोफानो समेत आवधिक निर्वाचनमार्फत निर्धारण हुन्छ। बहुमत मतदाताको मतदानबाट निर्वाचित हुने जनप्रतिनिधि नै संविधान र कानुनले व्यवस्था गरेबमोजिमको समयावधिका लागि वैधता प्राप्त गर्छन्।
वस्तुतथ्य; आम निर्वाचन देश, जनता, विकास र समृद्धिका निम्ति बिहानीको उषा किरण हो। तर हामीले उपयोग गरिराखेको निर्वाचन प्रणालीबाट राजनीतिक स्थायित्वको अपेक्षा गर्न गाह्रो देखिन्छ। यद्यपि अर्को व्यवस्था नहुँदासम्म यसको प्रयोग गर्नेले गलत गरे पनि संसदीय व्यवस्था भएको मुलुकमा आवधिक निर्वाचन दिने परिणाले नै सरकार निर्माणको द्वार खोल्छ।
जुन देश आवधिक निर्वाचन समयमा सम्पन्न गर्छन्, ती देशका सरकारले जनताको आवश्यकताबमोजिम विकास गरेको देखिन्छ। समयमा निर्वाचन हुने कुरा र निर्वाचनपछि आउने परिणामले देशको विकास र समाजमा सुशासन कायम गर्ने कुरामा महत्त्वपूूर्ण भूूमिका निर्वाह गरेको हुन्छ। जुनसुकै मुलुकका निम्ति आम निर्वाचन र निर्वाचनले दिने परिणाम मुलुक निर्माणको मियो हो। आम नागरिकको न्यायोचित विकास र समृद्धिका निम्ति राजनीतिक स्थायित्व पहिलो सर्त हो। सरकार गठन विघटन हुने खेलले जनताको मात्रै होइन देशको समेत हित गर्दैन। संसारमा यस्ता धेरै देशहरू छन् सत्ता खिचातानीका कारण देशको अस्तित्वसमेत खतरामा परेको छ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको घोषणापश्चात् २०७९ मंसिर ४ गते दोस्रो आम निर्वाचन सम्पन्न भएको छ। तर निर्वाचनले दिने परिणाम कुनै पार्टीका निम्ति सुखद हुने गरी दिएको छनै। बरु उल्टै आगामी दिन देशका निम्ति कष्टकर र भयावह हुने देखिन्छन्। प्रतिपक्ष कमजोर पार्न र मंसिर ४ पछि बन्ने सरकारको समेत सुनिश्चितता गर्न बनेको गठबन्धनले सोचेजस्तो परिणाम नल्याउँदा गठबन्धनमा आबद्ध दलका नेताहरू हतास मनस्थितिमा देखिन्छन्। जसका कारण गठबन्धन भित्रबाटै असन्तुष्टिका स्वरहरू सुनिन थालेका छन्।
प्रधानमन्त्री, राष्ट्रपतिलगायतका पद प्राप्तिको भागबन्डामै गठबन्धनभित्र भाँडभैलो हुने देखिन्छ। पहिलो चरणमा प्रधानमन्त्री को हुने भन्ने दौड सुरु भइसकेको छ, र प्रधानमन्त्री हुन अवाञ्छित गतिविधि हुन थालिसकेका छन्। अर्कोतिर नयाँ सरकार गठनका निम्ति छिमेकी देशका उच्च पदस्थ कर्मचारीहरूको अनावश्यक पहल कदमी बढेको देखिन्छ। नयाँ सरकार गठनको पूूर्वसन्ध्यामा भइरहेका गतिविधि नियाल्दा लाग्छ मंसिर ४ मा सम्पन्न चुनावको परिणाम पहिल्यै सुनियोजित गरेर ल्याइएको हो कि जस्तो। विगतदेखि नेपालको राजनीतिमा धेरै अदृश्य र रहस्यमयी घटनाहरू हुने गरेका छन्। जस्तै जननेता मदनकुमार भण्डारीको रहस्यमयी जिप दुर्घटना, दरबार हत्याकाण्ड, दसवर्षे सशस्त्र विद्रोह, बाह्रबुँदे दिल्ली सम्झौता, नेकपाको विघटन र परमादेशमार्फत प्रधानमन्त्रीको नियुक्तिजस्ता काण्डका पछाडिको सत्यतथ्य अहिलेसम्म इतिहासमा मात्र कैद छ। नेपालको राजनीतिमा कतिबेला के हुन्छ, कहाँबाट कसरी हुन्छ भन्ने कुरा पूवार्नुमान गर्न त्यति सजिलो छैन।
चाहे त्यो २०४६ सालमा सम्पन्न जनआन्दोलन अघि होस् वा पछिल्लो कालखण्डमा होस् नेपालमा देशभक्त शक्ति सधैं कमजोर हुने गरेको इतिहास साक्षी छ। २०१५ सालमा बीपी कोइरालालाई कमजोर बनाउने देशीविदेशी लिगेसी अहिले पनि छ। नेपालमा जुनसुकै नामका दल र जेसुकै विचार पछ्याउने भए पनि अन्ततोगत्वा संघर्ष देशभक्त धार र सम्झौतापरस्त धारको बीचमा हुने गरेको देखिन्छ जसको अन्तरसंघर्षका कारण नेपालको राजनीतिमा प्रत्येक दशकमा नेपाली जनताले आन्दोलन गर्नुपर्ने स्थितिको सिर्जना हुँदै आएको छ।
मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा आएको मत परिणामले राजनीतिक अस्थिरतालाई मात्र होइन अरू धेरै विकृतिलाई आमन्त्रण गरेको छ। े राजनीतिलाई हेर्ने बुझ्ने आम नागरिकको नजरमा केही न केही बदलाव ल्याउने र मूूल्य, मान्यता र सिद्धान्तमा आधारित राजनीतिकभन्दा पनि उतारचढावमा आधारित राजनीतिक लाइनको देखासिकी हुने देखिन्छ। समग्रमा भन्दा नागरिकका समस्या उजागर र समाधान गर्ने संसद् भवन जात्रा भवनमा परिणत हुने त्यत्तिकै खतरा बढेको छ।
राजनीतिक स्थायित्वका निम्ति प्रमुख दलको दायित्व
राजनीतिक नेतृत्वका निम्ति सम्भावना र चुनौती एक सिक्काका दुई पाटा हुन्। चुनौतीलाई अवसरमा परिणत गर्न सक्ने कौशलता भएको व्यक्ति नै नेता हो। विगतमा पनि नेपालको राजनीतिक सही बाटोमा डोर्याउन नेपालका नेताहरूले आफ्नो राजनीतिक योग्यता प्रदर्शन गरेका थुप्रै दृष्टान्त छन्। व्यवस्था परिवर्तनका निम्ति भएका आन्दोलनमा देखाएको सुझबुझ होस् वा नेपालको संविधान २०७२ को घोषणा गर्दा होस् नेपालका प्रमुख दलका नेताहरू एक ठाउँमा उभिँदा नै देशले धेरै राजनीतिक उपलब्धि प्राप्त गरेको इतिहास गवाह छ। भर्खरै सम्पन्न निर्वाचनले कुनै दललाई एकल सरकार निर्माण गर्ने गरी बहुमत दिएको छैन। नयाँ सरकार निर्माणका निम्ति नेतृत्व गर्ने दलले धेरै साना दलका ढोका ढकढक्याउन् पर्ने देखिन्छ। यो अवस्थाबाट निर्माण भएको सरकारले न त जनताका काम गर्न सक्छ न त देशमा सुशासन कायम गर्न सक्छ।
आम नागरिकको अवस्था परिवर्तन गर्नलाई स्थायी सरकार अनिवार्य हुनै पर्छ। तर अहिलेको अवस्थामा स्थायी सरकार बन्ने कुरा असम्भव प्रायः छ। आउन सक्ने विषम परिस्थितिको आकलन नगरी सत्ताका निम्ति मरिहत्ते गर्ने र अप्राकृतिक लेनदेन सत्ता गठबन्धनको नाममा हुने देखिएका छन्। अहिले तिनै पात्रहरू गठबन्धको केन्द्र भागमा भएको अवस्था छ त्यसैले धेरै आशंका हुन् स्वाभाविक नै हुन्छ। देशमा अहिले पनि राजनीतिक संक्रमणकाल कायम छ।
संघीयता, लोकतन्त्र र संविधानको औचित्य माथि प्रश्न गर्ने शक्तिहरू कमजोर अवस्थामा छैनन्। बरु उल्टै प्रमुख राजनीतिक दलका नेताहरूको सत्ता लुछाचुँडीका कारण संगठित र बलिया हुँदै आइरहेका छन्। त्यसैले सम्भावित चुनौतीलाई आकलन गर्दै यतिबेला विचारका आधारमा दल ध्रुवीकरण वा एकता हुने अवस्थाभन्दा पनि राजनीति स्थायित्व र राष्ट्रिय आवश्यकताका आधारमा एकता हुने अवस्था आएको छ। अहिलेको राष्ट्रिय आवश्यकता भनेको जनताको खुसी र देशको समृद्धि नै प्रमुख हो।
अर्कोतिर विश्व राजनीतिमा धेरै उतारचढाव आइरहेका छन्। ती उतारचढावका बाछिटाबाट नेपालको राजनीतिलाई बचाउनु पर्ने दायित्वसमेत नेपालका प्रम्ख दलको नै हो। मंसिर ४ को जनादेशलाई जनताको हितमा सदुपयोग गर्न पनि नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूले नै सोच्नुपर्ने देखिन्छ। नेपाली जनताका विकास र समृद्धिका सपना पूरा गर्ने उद्देश्य राख्दै २०७४ र २०७९ गरी दुई आम निर्वाचन सम्पन्न भएका छन्। यो एक दशकभित्र जनताले अनुभूति हुने गरी काम हुन सकेनन् भने नागरिकका मनभित्र रहेका प्रश्नहरू सडकमा प्रकट नहोलान् भन्न सकिन्न। त्यसैले जनताको हितलाइ केन्द्र भागमा राख्दै हिजो आन्दोलनमा गरिएका वाचा पूरा गर्न दुई ठूूला प्रमुख दलले दुई पाइला पछाडि एक पाइला अगाडि गर्नुपर्ने अवस्था आएको छ।