अन्योलमा टीट्वेन्टी लिग

अन्योलमा टीट्वेन्टी लिग

काठमाडौं : पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टीट्वेन्टी लिग सुरु हुन अब एक दिन मात्रै बाँकी छ। प्रतियोगितामा सहभागी टिमले धमाधम टोली पनि घोषणा गरिरहेका छन्। तर, प्रतियोगिता शुक्रबारबाट हुनेमा भने नेपाल क्रिकेट संघ (क्यान) कै पदाधिकारी आश्वस्त छैनन्। ‘नेपाल टीट्वेन्टी लिग पूर्व घोषित मितिमै हुन गाह्रो छ। अहिलेसम्म यथेष्ठ तयारी नै हुन सकेको छैन’, क्यानका एक पदाधिकारी भन्छन्, ‘खेलाडीको भिसा र श्रम स्वीकृतिको काम पनि हुन सकेको छैन।’ 

क्यानले प्रतियोगिताका लागि अहिलेसम्म राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृतिसमेत लिएको छैन। यस्तै क्यानले विदेशी खेलाडीलाई अनअराइभल भिसा र श्रम स्वीकृति पनि दिलाउन सकेको छैन। राष्ट्रिय खेलकुद परिषद्का कानुन शाखा प्रमुख नारायणराज अर्याल टीट्वेन्टी लिगलाई परिषद्ले स्वीकृत दिँदा सर्वोच्च अदालतको अवहेलना हुने बताउँछन्। 

‘एभरेष्ट प्रिमियर लिगका आमिर अख्तरले क्यान र भारतीय कम्पनी सेभेनथ्री स्पोर्ट्सबीचको सम्झौता गैरकानुनी रहेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। त्यो मुद्दाको किनारा नलाग्दै परिषद्ले स्विकृति दिनु अदालतको अपहेलना गर्नु हो’, अर्याल भन्छन्, ‘प्रक्रिया नमिलाई विदेशी खेलाडी ल्याउने काम भएको छ। विदेशी खेलाडीको भिसादेखि श्रम स्वीकृतिसम्मको काम पनि अन्योलमै छ।’ 

नेपाल सुपर लिगमा सहभागी ६ टोलीले जिम्बावे, श्रीलंका, मलेसिया, अफगानिस्तान, इङ्ल्यान्ड, पाकिस्तान, भारत, वेस्ट इन्डिज र यूएईका ३१ खेलाडी ल्याउन लागेका थिए। केही खेलाडी नेपाल आइसक्दा पनि उनीहरूको श्रम स्वीकृतिको टुंगो लाग्न सकेको छैन। 

क्यानले यसअघि नै राष्ट्रिय खेलकुद परिषद् र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको स्वीकृति लिएको जनाएको थियो। तर, त्यो स्वीकृति अमूर्त रहेको कानुन शाखाका प्रमुख अर्याल बताउँछन्। ‘पहिले लिएको स्वीकृति अमूर्त छ। त्यसमा नेपाल टीट्वेन्टी लिगलाई स्वीकृति दिएको भन्ने स्पष्ट छैन’, अर्याल भन्छन्। 

पहिलेको स्वीकृतिलाई परिषद्ले नमानेपछि क्यानले मंगलबार पत्र लेख्दै स्वीकृतिका लागि माग गरेको थियो। त्यो पत्र पनि कार्यसमितिको निर्णयबाट नगरी पाँच सदस्यीय समितिबाट गरेकाले त्यसमा पनि खोट देखिएको अर्याल बताउँछन्। ‘क्यानले गर्ने बृहत प्रतियोगिताका लागि कार्यसमितिबाट निर्णय गर्नु आवश्यक हुन्छ। तर, क्याले पाँच सदस्यीय कमिटीले प्रतियोगिताको स्वीकृतिको माग गरेको छ। त्यसमा पनि तीन जनाको मात्रै हस्ताक्षर छ’, अर्याल भन्छन्, ‘यसले प्रतियोगितालाई लिएर क्यानकै पदाधिकारीबीच पनि मतभेद रहेको स्पष्ट देखिन्छ।’

उनले टीट्वेन्टी लिगको रणनीतिक साझेदारका रुपमा रहेको सेभेनथ्री स्पोर्ट्स कम्पनी पनि गैरकानुनी रहेको बताए। ‘सेभेनथ्री स्पोर्ट्स कम्पनी पनि गैरकानुनी छ। त्यो कम्पनी नेपालमा दर्ता नै भएको छैन’, अर्यालले भने, ‘सेभेनथ्री स्पोर्ट्स गैरकानुनी रहेकाले उनीहरूले अरु तीन वटा कम्पनी दर्ता गर्न लागेका रहेछन्। त्यसका लागि परिषद्को राय माग भएको थियो। हामीले विभिन्न कारणले दर्ता गर्न नमिल्ने भन्ने राय दिएका छौं।’ उनका अनुसार कम्पनीको उद्देश्यमा ‘सट्टेबाजी’ गर्ने प्रावधान पनि राखिएकाले परिषद्ले दर्ता गर्न नमिल्ने राय दिएको हो। 

नेपाल टीट्वेन्टी लिगको पहिलो संस्करण यही पुस ८ देखि २६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ। क्यानले यसअघि नै प्रतियोगिताको उद्घाटन खेल काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच खेल हुने बताइसकेको छ। पहिलो संस्करणमा ६ टोलीको सहभागिता रहने छ। जसमा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्स र लुम्बिनी अल स्टार्स छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.