मुस्ताङको वारागुङमा अल्ट्रासाउण्ड सेवा
जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पहिलो पटक ग्रामीण भेगका गर्भवतीलाई लक्षित गरी प्रसूति सम्बन्धी भिडियो एक्सरे(अल्ट्रासाउण्ड) सेवा सञ्चालनमा ल्याइएको छ।
पालिकाले विभिन्न किसिमको स्वास्थ्य परीक्षण गर्न ल्याव समेत सञ्चालनमा ल्याएको छ।
गाउँपालिकाले कागबेनी स्वास्थ्य शाखाबाट बिहीबार भिडियो एक्सरे तथा ल्याव एकै साथ सञ्चालनमा ल्याएको हो।
गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गरी प्रसूति सेवालाई सरल, सहज, भरपर्दो र सेवामैत्री बनाउन सेवा सुरु गरेको स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिए।
गाउँपालिकाले गत आर्थिक वर्ष विनियोजित १५ लाख बजेटले ‘भिडियो एक्सरे’ उपकरण खरिद गरी सेवा सञ्चालनमा ल्याएको हो।
भौगोलिक रूपले विकट वारागुङ मुक्तिक्षेत्रका ग्रामीण क्षेत्रका महिलालाई यातायातको असुविधाका कारण स्वास्थ्य शाखामा जान नसकेको अवस्थामा घरमै गएर भिडियो एक्सरे सेवा प्रदान गर्न सकिने स्वास्थ्य संयोजक बोहराले बताए।
यसअघि सदरमुकाम जोमसोम पुगेर प्राप्त गर्न सकिने यो सुविधा अब पालिकाको स्वास्थ्य शाखाबाटै उपलब्ध हुने भएपछि सेवाग्राही महिलालाई सहज हुने भएको छ।