ओली-प्रचण्डको अन्तरंग कुराकानी, बन्ला वाम गठबन्धनको सरकार?

ओली-प्रचण्डको अन्तरंग कुराकानी, बन्ला वाम गठबन्धनको सरकार?

काठमाडौं : राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको चौथो दिन नवनिर्वाचित सांसदहरूले शपथग्रहण गरे। नयाँ बानेश्वरस्थित संसद भवन पुगेका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरे। उनले सञ्चारकर्मीसँग भने, 'सबै प्रक्रिया सहज ढंगले अघि बढ्छ। सरकार यही गठबन्धनको बन्छ।’

गठबन्धनको सरकार बने पनि आफू प्रधानमन्त्री बन्ने/नबन्नेबारे उनले एकिन जवाफ दिन सकेनन्। 'प्रधानमन्त्रीबारे सल्लाह गर्दैछौं' भन्दै प्रचण्ड पन्छिएका थिए।

हुन पनि हो, प्रचण्ड प्रधानमन्त्री हुने निर्क्योल अझै भइसकेको छैन। तर यतिबेला उनी राजनीतिको केन्द्रबिन्दुमा छन्। सत्तारुढ दलभित्रै प्रधानमन्त्रीका लागि तीव्र लबिङ गरिरहेका प्रचण्ड विपक्षी भनिएका नेकपा एमालेसँग पनि निरन्तर सम्बाद गरिरहेका छन्। नेकपा विभाजनपछि एकअर्कालाई हेर्नसमेत नरुचाउने ओली-प्रचण्ड पछिल्ला दुई दिनदेखि सार्वजनिकरूपमै कानेखुसी गरेर चर्चामा छन्। 

बुधबार राष्ट्रपति कार्यालयमा छोटो सम्बाद गरेका ओली-प्रचण्डले बिहीबार संसद भवनमा एकसाथ चियापान कार्यक्रममा सरिक भएका थिए। दुई नेताको निकट्ताले प्रष्ट भनिरहेको छ- नयाँ सरकारमार्फत् दुवै जना 'पावर सेयरिङ'मा बस्न चाहन्छन्। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमालेलाई राष्ट्रपति दिए प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न तयार रहेको प्रस्तावले पनि यो कुरालाई पुष्टि गर्छ।

प्रचण्डले बिहीबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटेर आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गरेका थिए। सोही प्रस्ताव बोकेर यादव साँझ बालकोट पुगेका थिए। स्रोतका अनुसार यादवले प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओलीसँग प्रस्ताव गरेका थिए। चुनावी तालमेलसमेत गरेका यादव ओलीका लागि भरपर्दो हुनसक्ने भनेरै प्रचण्डले कुरा बुझ्न पठाएको खुमलटार स्रोत बताउँछ। त्यसका लागि प्रचण्डले गठबन्धन छोडेर आउनुपर्ने ओलीले शर्त तेर्स्याएको एमालेका एक नेताले बताए।

'यादवजीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुपर्‍यो भन्दै आउनुभएको थियो। अध्यक्षज्युले त्यसका लागि गठबन्धन छोडेर आउनुपर्‍यो नि भनेर जवाफ दिनुभएको थियो,' ती नेताले भने। 

देउवामाथि चर्को दबाब

प्रचण्डले प्रधानमन्त्री देउवामाथि दबाब बढाउँदै लगेका छन्। माओवादीका दोस्रो तहका नेतामार्फत् निरन्तर सम्बाद गराइरहेका प्रचण्डका पक्षमा बिहीबार नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महेन्द्र राय यादव बालुवाटार पुगेका थिए। उनीहरूले पनि प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा अगाडि बढाउनुपर्ने सुझाव दिएका थिए।

भट्टराईले गठबन्धनभित्र छलफल गरेर सबै पद बाँडफाँड गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका थिए। हुनतः भट्टराई आफैँ पनि राष्ट्रपति पदका लागि लबिङ गर्दै आएका छन्।

बिहीबार साँझ भने प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालाई लिएर बालुवाटार पुगेका थिए। सरकार गठनको समयसीमा नजिकिँदै गर्दा दुई अध्यक्षले देउवामाथि दबाब बढाएको स्रोत बताउँछ।

प्रचण्डजस्तै माधव कुमार नेपालले पनि राष्ट्रपति बन्ने आकांक्षा देखाएक छन्। उनले निकट नेताहरूसँग त्यसको पक्षमा सम्बाद बढाउन पनि आग्रह गरेका छन्। यद्यपि संसद भवनमा उनले उक्त कुरामा कुनै सत्यता नरहेको दाबी गरे। राष्ट्रपतिको उम्मेदवार बन्ने विषयमा सोधिएको प्रश्नमा उनले आफूले कल्पनाका आधारमा जवाफ नदिने बताए। 'नेपाली राजनीतिले गरेको आफ्नो भूमिकाको अपेक्षाअनुसार अघि बढ्छु,' उनले भने।

राप्रपाको आफ्नै अडान

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस र एमालेको सरकार बन्नुपर्ने बताए। संसद भवमा सञ्चारकर्मीसँग उनले स्थिरताका लागि दुई पार्टीको सरकार बन्नुपर्ने बताए। ‘सरकार निर्माणमा हाम्रो चासो छैन। तर कांग्रेस र एमाले मिलेर सरकार बनोस् भन्ने चाहना हो। स्थिरताका लागि भए पनि कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ,' उनले भने।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जानेबारे अहिलेसम्म कुनै निर्णय नभएको बताए। 'सरकारमा जाने नजानेबारे एक दुई दिनमै निर्णय हुन्छ। हाम्रा एजेण्डा सम्बोधन हुने हकमा सरकारमा जान्छौं,' उनले भने। उनले अन्य दलका नेतासँग छलफल भए पनि माधव नेपालसँग हुन बाँकी रहेको बताए। त्यसपछि मात्रै ठोस निर्णय लिने उनको भनाइ छ।

दलको नेता चुनिए प्रचण्ड, जसपामा तनाव कायमै

माओवादी अध्यक्ष प्रचण्ड संसदीय दलमा सर्वसम्मत चयन भएका छन्। सिंहदरवारमा भएको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा चयन गरेको हो। त्यस्तै प्रमुख सचेतकमा हितराज पाण्डे चुनिएका छन्। वर्षमान पुन र जनार्दन शर्माले आकांक्षा देखाएपछि उपनेता भने चयन हुन सकेन।

यसअघि सात राजनीतिक दलले संसदीय दलको नेता टुंग्याएका थिए। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संसदीय दलको नेता टुंगो लगाएका हुन्। जसपा र नागरिक उन्मुक्ति पार्टीले भने दलको नेता छान्न सकेको छैन। जसपामा आकांक्षी बढी भएपछि दलको नेता छान्न सकस भएको हो। नागरिक उन्मुक्तिले अध्यक्ष रञ्जिता श्रेष्ठलाई चयन गर्ने भनिए पनि आधिकारिक निर्णय गर्न नसकेको हो।

यस्तो छ सरकार गठन प्रक्रिया

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न पुस १० (आइतबार)सम्म समयसीमा दिएकी छन्। बहुमत पुर्‍याउने दलले आइतबार ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ।

धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६(२) बमोजिम राष्ट्रपतिले आह्वान गरेकी हुन्।

उपधारा २ बमोजिम सात दिनभित्र सरकार नबने उपधारा ३ मा जान्छ। उक्त उपधारामा लेखिएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ।’

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत पुर्‍याउन १ सय ३८ सिट चाहिन्छ। कांग्रेस र एमालेबाहेक कुनै पनि दुई दल मिल्दा बहुमत पुग्ने अवस्था छैन। कांग्रेसले ८९ एमालेले ७८ सिट जितेका छन्। माओवादीले ३२, रास्वपा २०, राप्रपा १४, जसपा १२, एकीकृत समाजवादी १०, जनमत ६, लोसपा ४, नागरिक उन्मुक्ति ३, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १/१ सिट जितेका छन्। स्वतन्त्रले ५ सिट जितेका छन्। 

यो पनि पढ्नुस् :

प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डबीच 'म्युजिकल चेयर'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.