संकटमा वैकल्पिक राजनीति

संकटमा वैकल्पिक राजनीति

राजनीतिक इतिहासअनुसार आफू असाध्य कमजोर भएका बेला जबर्जस्ती बलियो देखाउन शासकहरूले सडक, गल्ली, चोक जताततै जनता उतारेको पाइन्छ। यही प्रपञ्चको सिको पटकपटक शासकहरूले गरेका छन्। चाहे सरकारमै आफू अप्ठ्यारोमा परेको बेला होस् या चुनावमा आफूलाई शक्तिशाली देखाउन। हेलिकप्टर यात्राकै क्रममा सरकारको नेतृत्व गरेको दलकी सम्मानित नेत्रीले डडेलधुरामा गएर हेलिकप्टरमा यात्रा गर्न सक्नेलाई मात्र भोट दिनुहोस् भनेर जनतालाई आग्रह गर्न भ्याइन्। सत्ता र सरकारमा हँुदा सिन्को नभाँच्ने तर जनताका जनजीविकाको सवालमा निर्मम बन्ने अवस्था पनि देखियो। यी सारा कुरालाई ठीक प्रमाणित गर्न लोकतन्त्रलाई भीडतन्त्रमा बदल्ने, हाट बजारमा पशु बटुलेझैं ठाउँठाउँमा मानिसलाई बटुल्छन्। यो नै सत्ताधारीहरूले गर्ने साहसिक कार्य हो।

लोकतन्त्रमा शासन सत्ताको आधार विधि हुन्छ, भीड होइन। सडकमा भीड बनाउनु हस्तक्षेपकारी नागरिक बनाउनु होइन, जनताको दिमागमा वर्चस्व जमाउनु हो। राज्यलाई कर तिर्ने रैती र सधैंभरि भोट हाल्ने तर अधिकार नखोज्ने प्रजा बनाउनु हो। जसले शासकविरुद्ध सोच्दैनन्, बोल्दैनन् र प्रतिशोध गर्दैनन्। यस्तै बुख्याचा दुनियाँ बनाई राख्न दलपतिबीच नारा, भाषण र भावभंगिमाको कडा प्रतिस्पर्धा भयो। यो महादौडमा सरकार पक्ष नै गतिशील देखियो। चुनाव घोषणा भएपछि कामचलाउ सरकारका प्रधानमन्त्री देउवा बोली नबुझिएकै सही सकेसम्म कुनै ठाउँमा नपुग्ने मनसाय प्रकट गरेनन्।

आफूले नभ्याएको खण्डमा आफ्नो आज्ञाकारी अनुचरलाई राजाज्ञा दिएर पठाए। भीडको मानसिकताको जानकार र भीड निर्माणमा सिद्धहस्त सरकारका केही थान नेताले सुख, समृद्ध र समाजवादको नाराको आविष्कार गर्छन्। अनि जनतालाई मनको लड्डु घिउसँग खुवाएरै छोडे। नेपाली राजनीतिमा शायद यो नै सबैभन्दा महत्त्वपूर्ण र दुर्लभ योगदान हो। सरकार र सत्तामा बसेर सुखी नेपाली समृद्ध नेपालका लागि मूर्त काम गर्ने होइन, भट्टी गफको शैलीमा मुख मात्रै चलाए पुग्छ। त्यसो भएरै सायद इमानदार, क्षमतावान् तथा भिजनरी अनुभवहीन नयाँ राजनीतिक खेलाडीहरूले नेपाली राजनीतिको भेउ नै पत्ता लगाउन सकेका छैनन्।

भनिन्छ, हरेक देशले आफ्नो हैसियतअनुसारको नेता पाएको हुन्छ। अथवा त्यहाँको जनताअनुसारको नेतृत्व पाएको हुन्छ। तर यहाँ जनताअनुसारको नेतृत्व हो कि, नेतृत्वअनुसारको जनता बुझ्न अलि गाह्रो छ। किनकि हरेक नेताले आफूजस्तै जनता तयार गर्न मिहिनेत गर्ने हो। जनता भनेको भीड हो। सडक कब्जा गर्न भीड उतार्ने नेतृत्वले, भीडलाई नै नियन्त्रण गर्ने नेतृत्वले कस्तो हैसियत राख्ला ? त्यसैले त आज सम्मानित नेतृत्व जन्मिन सकेको छैन। कार्यकर्ताको त कुरा नै छोडौं, जसले सत्तासीनको चाकडी गर्छ। स्तुतिगान गर्छ, विपक्षीको निन्दा र चुक्ली गर्छ ऊ पक्कै पद, पैसा र पुरस्कारको हकदार हुन्छ। यो सुवर्ण अवसर पाएपछि कुन चाहिँ मूर्खले यस्तो काम नगर्ला र ? पद, पैसा र पुरस्कार इमानदारिताबाट नपाइने भएकाले आज सर्वसाधारणसमेत चेतनशून्य काम गर्न उद्धत छन्। उनीहरूमा आलोचनात्मक चेत पाउन मरुभूमिका पानी खोजेजस्तै हो।

यस्तो राजनीतिक अस्तव्यस्तताबीच नागरिकले तमाम सास्ती व्यहोर्नु परेको छ। तर पनि नेपालमा सोचेजस्तो र आवश्यकता परेजस्तो वैकल्पिक शक्ति उदाउन सकेको छैन। वैकल्पिक राजनीतिको सुरुआत २०४६ को जनआन्दोलनपछि देवेन्द्रराज पाण्डेको लोकदलबाट सुरु भए पनि यसको विकास र विस्तार नेकपा माओवादी र केही मधेसवादी दलले गरे भन्न सकिन्छ। तर समय पदचापलाई बुझ्न नसकी ती दलहरू उनै परम्परागत दलझैं सत्तालिप्सा र अवसरवादमा मात्र लिप्त भए। त्यसैले जनताले उनीहरूको सत्तारोहणको एक दशक नपुग्दै कुनै न कुनै किसिमले वैकल्पिक शक्तिको आवश्यकता महसुस गर्न थाले। स्व. उज्ज्वल थापाले खोलेको विवेकशील दल र रवीन्द्र मिश्रको साझा पार्टीको एकीकरण भएपछि केही राजनीतिक सरोकारवालाले वैकल्पिक शक्तिको निर्माणको सम्भावना बलियो भएको ठोकुवा गरे। तर ती दुवै दलसँग वैकल्पिक राजनीतिका अन्तरवस्तु थिएनन्। सुशासन र भ्रष्टाचार नियन्त्रण नै उनीहरूको मूलभूत एजेन्डा थिए।

वैकल्पिक पार्टी भनेको नयाँ पार्टी होइन, बरु नयाँ दिशा र कार्यक्रम हो। नयाँ दिशा र कार्यक्रमबिनाको संसद्भित्रको एक थान पार्टीलाई वैकल्पिक राजनीतिको उपमा दिनु राजनीतिक विज्ञताको अपमान हो। वैकल्पिक राजनीतिको सार सुशासन र भ्रष्टाचार नियन्त्रण हुन सक्दैन। किनकि सुशासन, कुशासन र भ्रष्टाचार भनेका कार्यशैलीका परिणाम मात्र हुन्। कारण वा अन्तर्वस्तु होइनन्। कुशासनका कारण शासक वर्गको वर्गीयता, सामाजिक व्यवस्थाको संरचना र गलत वैचारिक धरातल हुन्। हाल नेपालमा वैकल्पिक राजनीतिका हिमायतीहरूले राजनीतिको एजेन्डा नै सुशासनलाई बनाएका छन्। यस्तो राजनीतिमा मध्यम वर्गीय पेसागत क्षेत्रमा नाम चलेकाले नेतृत्व गर्छन्।

आफ्ना फ्यानबीचमा गरिएको सतही र लोकप्रिय प्रचारले सहरिया मध्यमवर्गीय युवाको एउटा जमातलाई आकर्षित गर्न खोजेको देखिन्छ। देशमा चल्दै आएको लगातारको भिडन्तबाट डराएको र दिक्दार भएको मध्यम वर्गको सानो हिस्सा सुसंस्कृत राजनीति गर्छु भन्ने पार्टीतिर आकर्षित हुनु अस्वाभाविक पनि होइन। वैकल्पिक राजनीतिले वकालत गरेको एउटा कथ्य के हो भने राजनीतिको मैदानमा युवा मात्र आउनुपर्छ। हामी सबैले यो कुरा ख्याल गर्नुपर्छ कि युवा हुनु सक्षम हुनु होइन। बुढा भएका नेताले बुढेसकालमै राजनीति सुरु गरेका पनि होइनन्। यस्तो खालको रूपवादी प्रचारले केही हुल युवा आकर्षित भए पनि समाजको पिँधको अन्तर्विरोधको समाधान र व्यापक श्रमिक वर्गको मुक्तिका लागि आधारभूत कार्यक्रम र कार्यदिशा के हुन् ? वैकल्पिकको दाबी गर्नेसँग उत्तर छैन।

परम्परागत संसद्वादी पार्टीजस्तै पाँच वर्ष रूपवादी अपवाह फैलाउने, कहिले चुनाव आउला भनेर अघिल्लो चुनावमा भत्किएका मन सम्हाल्दै बस्नु वैकल्पिक राजनीतिको मर्म होइन। मूलधारका राजनीतिक दलप्रति बढ्दै गएको वितृष्णाबाट लाभान्वित हुने मोहमा मूलधारका दल र नेताप्रति घृणा, उत्तेजना र क्रोध ओकलेर पब्लिक सेन्टिमेन्ट क्यास गर्न वैकल्पिक राजनीतिका योजनाकार उद्धत भएका देखिन्छन्। यिनीहरूसँग देशका देखाउने समस्या तमाम छन् तर समाधानका योजना, कार्यक्रम र उपाय केही पनि छैनन्। केही थान नयाँ अनुहार विजयी भए पनि के गर्ने ? कसरी गर्ने ? कहिले गर्ने ? भन्ने प्रश्नको उत्तर छैन। न नीति, न योजना, न कार्यक्रम। न त सपना र साझा संकल्प।

आर्थिक सामाजिक उत्पीडनका विरुद्ध आदिवासी, जनजाति र दलितहरूले अस्तित्वको लडाइँ गरिरहेका बेला उच्च कुलीन वर्गीय एकदुई थान रवि लामिछानेहरूको उदय भएको छ। यो उदयको कारण परम्परागत दलको अलोकप्रियताले पोखिएको आवेश मात्र हो। केही राजनीतिक पण्डितहरूले यसलाई नेपाली राजनीतिमा दुर्लभ विजयको संज्ञा दिँदै वैकल्पिक शक्तिको निर्माण भएको दाबी गरिरहेका छन्। नेपाली राजनीतिमा यो कार्य नयाँ बोतलमा पुरानै रक्सी भर्ने प्रक्रिया मात्र हो। यो उदय लाखौं आदिवासी, जनजाति र दलित तथा उत्पीडितहरूका लागि हुन्छ भन्ने कुराको कुनै गुञ्जायस छैन। परम्परागत राजनीतिक विरासतमा कहिलेकाहीँ हुने सानातिना परिवर्तन पनि महान्झैं लाग्छ। परिवर्तनकामी जनसमुदायलाई आत्मविश्वास र ऊर्जा पनि थप्न सक्छ।

नेपालको विगतको इतिहासले भन्छ, यस्तो खालको उही वर्ण, उही जाति र समुदायका व्यक्तिको उदयले सत्तासीन वर्ग, वर्ण, लिंग र क्षेत्रका अभिजातमा राजनीतिक उपयोग र सार्वजनिक उपभोगको क्षमता बढाउँछ। ती उत्पीडित समुदायका आकांक्षा, आवाज र मागलाई बलियो बनाउँदैन। बरु आर्थिक, राजनीतिक, सांस्कृतिक स्थायी संरचनालाई बलियो बनाउँछ। विगतमा माओवादी र मधेसवादीहरूको उदयले योभन्दा भिन्न भुइँमान्छेको पीडामा मलम लगाउन नसकेको तथ्य हामीसँग छ। अनुहार फेरेर राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरण हुँदैन, त्यसका लागि उत्पीडनमा परेका व्यक्तिका सवालको बुलन्दता बढाउने प्रतिनिधित्व आवश्यक हुन्छ।

नेपाली समाजमा लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि व्यापक रूपमा प्रारम्भ भएको सामाजिक, आर्थिक र राजनीतिक प्रक्रियाविरुद्ध अहिलेको आक्रोश बढी केन्द्रित देखिन्छ। यो अस्वाभाविक पनि होइन। किनकि अहिलेसम्म आर्थिक, राजनीतिक, सामाजिक रूपान्तरणका महŒवपूर्ण पक्षमा कुनै पनि राजनीतिक दलको ध्यान पुगेकै छैन। कतिसम्म भने गणतन्त्रको हिमायती माओवादी र साझेदार दल नेपाली कांग्रेस पनि संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक खाकामा स्पष्ट छैनन्। वैकल्पिक राजनीतिले त बाँकी रहेका महŒवपूर्ण राष्ट्रिय कार्यभार पूरा गर्नु पथ्र्यो। वैकल्पिक राजनीतिको बाटो के पश्चगमन नै हो त ? आलोचनात्मक चेत भएका नागरिक तयार नहुँदासम्म त आमूल रूपान्तरणकारी राजनीतिक शक्तिको विकास हुने सम्भावना छैन। जति खराब भए पनि पुराना दल र नेताको भजनकीर्तन गर्ने एउटा जमात एकातिर छ भने नयाँ हुनेबित्तिकै जादुको छडी चलाइहाल्छ कि भनी विश्वास गर्ने अल्लारे अर्को जमात पनि छ। यी दुवै जमात वास्तविक वैकल्पिक शक्ति निर्माणका बाधक छन्।

अब प्रजाबाट जनता र जनताबाट नागरिक हुनु आवश्यक छ। जुन मैदानमा कुनै पनि गैरजिम्मेवार नेतृत्वले जनतालाई विवेकशून्य बनाई दाइँ गर्न नसकोस्। भीड निर्माण गर्ने सम्पूर्ण क्षेत्रमा वैचारिक, राजनीतिक हस्तक्षेप गरी राजनीतिक मैदानलाई शुद्धीकरण गर्न आवश्यक छ। किनभने खराब आचरणको मान्छे एक मिनेटमात्रै सत्तामा बसे पनि लाखौंले खराब हुने प्रेरणा पाउँछन्। राज्यको उद्देश्य जनतालाई खराब हुन प्रेरित गर्नु होइन। लोकतन्त्रमा जब जनताले दायित्व ग्रहण गर्दैनन्, तबसम्म देश सुरक्षित हँुदैन। जनतालाई मूर्ख बनाउन सिवाय यी नेतालाई केही आएन। किनकि नागरिक चेतना बढ्यो भने हाम्रोजस्तो तल्लो स्तरका नेतालाई असुरक्षा बढ्छ। समयक्रमसँगै जनतामा आउने परिवर्तनको हुटहुटीले कार्यक्रम र कार्यदिशासहितको वैकल्पिक शक्ति निर्माणलाई भने कसैले रोक्न सक्ने छैनन्। अबको राजनीतिले समाजका वास्तविक अन्तरविरोधको जरा खोतलेर त्यसको समाधानका निम्ति वैज्ञानिक दर्शन, सिद्धान्त र बाटो आत्मसात् गरे वैकल्पिक राजनीतिको निर्माणमा सहयोग पुग्न सक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.