सिन्धुपाल्चोकका एसपी यादव बर्खास्त
काठमाडौं: भष्टाचार मुद्दामा दोषी देखिएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादव प्रहरी सेवाबाट बर्खास्त भएका छन्।
२०७० सालमा रुपन्देहीमा हुँदा आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित हवल्दार ढकबहादुर गुरुङविरुद्ध मुद्दा चलाएको थियो।
नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले मुद्दा चलेका दुवैजना निलम्वनमा परेको जानकारी दिए। उनले भने, ‘प्रहरी सेवामा हुँदा सही आचरणमा नबस्ने जोकोहीलाई कानुनी कारवाही गरिनेछ।'
उनीहरूविरुद्ध आर्थिक अनियमितता गरेको र लागुऔषध मुद्दाका विषय पैसा लिएर मिलाएको पाइएकाले अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतमा मुद्दा दर्ता भएपछि नै उनीहरू निलम्वनमा परेका थिए।
विशेष अदालतले उनीहरूलाई सफाई दिदै फैसला गरेको थियो। विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्च गएको थियो।
सर्वोच्चले गत पुस ५ गते फैसला गर्दै उनीहरूलाई दोषी ठहर गरेको थियो। सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलाशले उनीहरुलाई दोषी ठहर गरेको थियो। सजाय निर्धारण भने भैसकेको छैन। सर्वोच्चको फैसला पछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई पुस ७ गतेदेखि जिम्मेवारीबाट हटाएको छ।