सिन्धुली महोत्सव सुरु
सिन्धुली: छैठौं सिन्धुली महोत्सव सुरु भएको छ। ‘कृषि, उद्योग, पर्यटन र व्यसायमा लगानी अभिवृद्धि गरौं, समृद्धि र समुन्नत सिन्धुली निर्माणका लागि अघि बढौं’ भन्ने मुल नाराकासाथ सिन्धुली उद्योग वाणिंज्य संघ र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा महोत्सव सुरु भएको हो।
सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडुले महोत्सवको उद्घाटन गरेका हुन्। महोत्सवको उद्घाटन गर्दै मन्त्री बडुले पछिल्लो समय रुस र युक्रेनबीचको द्वन्द्व, कोभिड महामारी जस्ता विपद्का कारण नेपालको राष्ट्रिय अर्थतन्त्रमा समस्या उत्पन्न हुँदा त्यसको ठूलो असर उद्योग र वाणिज्य क्षेत्रमा देखा परेको बताए।
यस्ता महोत्सवले निजी क्षेत्रका उत्पादन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न सहयोग पुग्ने विश्वास मन्त्री बडुको छ। सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्न सँधै अग्रसर रहेको बताए।
कार्यक्रममा संघीय सांसद राजन दाहालले सिन्धुली महोत्सवले जिल्लाको कला, प्रतिभा र उत्पादन भएका वस्तुको प्रदर्शन तथा बजारीकरणमा टेवा पुर्याउने बताए।
आगामी १० दिनसम्म चल्ने महोत्सवमा ३५० वटा स्टल राखिएको छ। महोत्सवमा सिन्धुलीको जुनार, कृषि जन्य उत्पादनको प्रदर्शनी, स्थानीय कला तथा संस्कृतिको प्रदर्शनी हुनेछ।