जनताको चाहना तीव्र विकास : राष्ट्रपति
सुर्खेत : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले तीव्र विकास चाहेको बताएकी छन्। कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले जनताले तीव्र विकास चाहेको बताइन्।
जनताले तीव्र विकाससँगै जीवनस्तरमा सुधार खोजेको राष्ट्रपति भण्डारीको भनाइ छ। यसमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने उनले बताइन्। उनले जनताको चाहना र देशको विद्यमान अवस्थालाई पत्रकारहरूले यथोचित ध्यान दिन आग्रह गरेकी छन्।
अर्को प्रसंगमा राष्ट्रपति भण्डारीले संविधानमा खोट लगाउने कुनै ठाउँ नभएको बताइन्। ‘संविधानमा खोट लगाउने कुनै ठाउँ छैन, तर देशको प्रणालीले राम्रोसँग काम गर्न सकेन भने जतिसुकै राम्रो व्यवस्था र संविधान भए पनि पूर्ण हुन सक्दैन्,’ उनले भनिन्।
उनले लोकतान्त्रिक गणतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइन्। निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्नेदेखि नेपालमा विभिन्न संकटहरू आउँदा पत्रकारहरूले अहम् भूमिका निर्वाह गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले पछिल्लो समय प्रविधिको विकासले अवसरमात्रै नभई चुनौती थपेको बताइन्। राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालले पत्रकारिता क्षेत्रमा ओझेल पारेको बताएकी छन्। प्रविधिको विकासले ल्याएको परिवर्तनलाई नराम्रो भन्न नमिल्ने उनको भनाइ छ।
सूचनाको हक लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै राष्ट्रपति भण्डारीले राज्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा ध्यान दिन आग्रह गरिन्। पत्रकार महासंघ नागरिक समाजको सशक्त अगुवा संस्था रहेको उल्लेख गरिन्। महासंघले पत्रकारको हकहित र राज्यको दायित्वका विषयमा सहजीकरण गर्ने विश्वास आफूले लिएको उनको भनाइ छ। महासंघले पत्रकारिता आचारसंहिताको पालना र यसमा देखिएको समस्या समाधानको पहल गर्नुपर्ने बताइन्।
राष्ट्रपति भण्डारीले पत्रकारहरूलाई आवाजविहीनहरूको आवाज बन्न आग्रह समेत गरेकी छन्। राष्ट्रपति भण्डारीले महासंघको साधारणसभासहित मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालयसमेत उद्घाटन गरेकी छन्। महासंघको साधारणसभा उद्घाटन समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनहादुर शाही, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा, नेकपा (एकीकृत समाजवादी) नेता जगन्नाथ खतिवडालगायत नेताहरूले शुभकामना दिएका थिए।
महासंघका पूर्वसभापति हरिहर विरहीले सञ्चार क्षेत्रमा उल्लेख्य सुधारको आवश्यकता रहेको बताए। अर्का पूर्वअध्यक्ष किशोर नेपालले संविधानको भावनाअनुरूप दल र नेपालको राजनीतिक प्रणाली जान नसकेको धारणा राखेका छन्। नेपाली पत्रकारहरूको साझा छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण, स्वदेश तथा विदेशमा रहेका महासंघका शाखाबाट करिब ७ सय प्रतिनिधिहरूको सहभागिता
रहेको छ।