ओमारजाईको इनिङ नै जितको आधार : कप्तान ज्ञानेन्द्र
काठमाडौं : नेपाल टी २० लिगको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराएपछि काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले अफगानी ब्याटर अज्मतुल्लाह ओमारजाईको इनिङनै जितको आधार भएको बताएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु भएको नेपाल टी २० लिगको पहिलो खेलमा ज्ञानेन्द्रको काठमाडौंले पोखराविरुद्ध २६ रनको जित निकालेको थियो। टस हारेर ब्याटिङ गरेको काठमाडौंले ४८ रनमा पाँच विकेट गुमाएको थियो।
तर, ओमारजाई र सुनम गौतमले एक सय १४ रनको साझेदारी गर्दै काठमाडौंका लागि एक सय ६३ रनको योगफल बनाएका थिए। सोही योगफलको बचाऊ गर्दै काठमाडौंले विजयी सुरुआत गर्यो। म्यान अफ दी म्याच प्रदर्शन गरेका ओमारजाईले अविजित ८५ रनको शानदार इनिङ खेलेका थिए।
‘प्रतियोगिताको पहिलो खेल, पहिलो इनिङ राम्रो सुरुआत हामीले चाहेका थियौं, तर...’ कप्तान ज्ञानेन्द्रले भने, ‘हामीले पुनरागमन गर्यौं। ओमारजाई र सुनमको इनिङ जितको आधार थियो।’
दोस्रो इनिङमा बलिङ युनिटले पनि जिम्मेवारीपूर्वक राम्रो बलिङ गरेकाले जित सम्भव भएको ज्ञानेन्द्रले बताए। खेलाडी आफैंले खेलको अवस्थाअनुसार प्रदर्शन गरेकोमा उनले सन्तुष्टि व्यक्त गरे।
‘आ–आफ्नो खेल खेल्ने। उनीहरूलाई अवस्थाअनुसार खेल्नुपर्छ भन्ने थाहा छ। त्यसै गर्यौं,’ कप्तान ज्ञानेन्द्रले भने।शरद भेसावकर– टी २० खेलको मजानै त्यही हो। उनीहरुले पुनरागमन राम्रो गर्यो।
पराजित टिमका कप्तान शरद भेसावकरले तयारी राम्रो भए पनि खेलमा लागू गर्न नसक्दा पराजित हुनु परेको बताए।
‘हामीले तयारी राम्रो गरेको थियौं, तर, तयारी जस्तो भए पनि म्याचमा ‘एक्जिक्युट’ गर्न सकिएन भने अपेक्षित नतिजा आउँदैन,’ उनले भने, ‘फिल्डिङमा पनि गल्ती भएर क्याच छुट्दा काठमाडौंले पुनरागमन गर्ने मौका पाए।’
करिब १४ महिनापछि नेपालमा फ्रेन्चाइज लिग खेल्न पाउँदा खुशी र उत्साह बढेको शरदले बताए। ‘धेरै अगाडि हुनु पर्ने ढिलै भए पनि सुरु भएकेका छ,’ कप्तान शरदले भने, ‘सबै खेलाडी खुशी छौं। उत्साहित छौं।’
काठमाडौंको जितमा नायक बनेका ओमारजाईले नेपालमा खेल्न पाउनु उत्कृष्ट अनुभव हुने बताए।
‘प्रतियोगिताको पहिलो खेलमा अर्धशतकसहित म्यान अफ दी म्याच बनेर टिमलाई जिताउन पाउँदा एकदमै खुशी छु,’ ओमारजाईले भने, ‘सुनम र मैले सकेसम्म लामो इनिङ खेल्ने र टिमका लागि कम्तिमा एक सय २०–३० को योगफल बनाउने सोचेका थियौं। र, त्यसमा हामी सफल पनि भयौं।’
प्रतियोगितामा राम्रो सुरुआत गरेका ओमारजाईले आगामी दिनमा पनि यो लय कायम राखेर टिमका लागि खेल्न चाहेको सुनाए।
काठमाडौंले सोमबार दोस्रो खेलमा फार वेस्ट युनाइटेडको सामना गर्नेछ। यस्तै, पोखराले भोलि (आइतबार) जनकपुर रोयल्ससँग खेल्ने छ।