अक्सिजन बिक्री गर्दै धौलागिरी अस्पताल
बागलुङ : कोरोना भाइरस संक्रमण (कोभिड–१९)को महामारीमा धौलागिरी अस्पताल बागलुङमा अक्सिजनको चरम अभाव सिर्जना भयो । अस्पतालमा रहेका अक्सिजनका सिलिण्डरले नपुगेपछि विभिन्न संघसंस्था र व्यक्तिहरुले सिलिण्डर सहयोग गरेपछि दैनिक पोखराबाट अक्सिजन आयात गरेर महामारीको समयमा बिरामीको जीवन रक्षा गरिएको थियो।
नेपालमै तेस्रो कोरोना भाइरस संक्रमणको बिरामी बागलुङमा देखिएपछि अस्पताल सुरुवातदेखि नै कोभिडका बिरामीको उपचारमा सरिक बन्यो । पहिलो लहरमा अस्पतालकै अक्सिजनले बिरामीको उपचार गरेपनि दोस्रो लहरमा भने अक्सिजनको ठूलो समस्या अस्पतालले भोग्यो ।
केहि समय अक्सिजनको चरम अभाव भोग्दै आएको अस्पतालले अहिले आफैले अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ । कोरोना संकटकालिन अवस्थामा निर्माण गरिएको धेरै क्षमताको अक्सिजन उत्पादन प्लान्ट र पुरानो क्षमताको प्लान्टको वृद्धि गरेर अहिले अस्पतालले आफै खपत गर्ने र बचेको अक्सिजन अन्य स्वास्थ्य संघसंस्था र व्यावसायिक प्रयोगको लागि बिक्री गरिरहेको छ ।
विगत दुई महिनादेखि नयाँ प्लान्ट सञ्चालनमा आएर अहिले नियमित अक्सिजन उत्पादन गरिरहेको धौलागिरि अस्पताल बागलुङका प्रशासन शाखाका अधिकृत छैठौँ तेजप्रसाद निउरेले जानकारी दिए । ‘चार वर्षअघि गण्डकी प्रदेश सरकारको ५० लाख रुपैयाँ सहयोगले अस्पतालमा २५ शैय्या पुग्ने अक्सिजन प्लान्ट स्थापना गरिएको थियो,'अधिकृत निउरेले भने,‘कोरोना महामारीमा उक्त प्लान्टले उत्पादन गर्ने अक्सिजन अपुग भएपछि पोखरा लगायतका ठाउँबाट अक्सिजन खरिद गरेर उपचार गर्नुपर्ने बाध्यता थियो ।’
अस्पतालमा नयाँ प्लान्ट सञ्चालनमा आएपछि अक्सिजन बिक्री गर्न थालिएको हो । ‘पुरानो प्लान्ट हुँदा अस्पताललाई नै अपुग थियो, ' न्यूरेले भने,‘नयाँ प्लान्ट सञ्चालनमा आएपछि साविक धौलागिरी अञ्चलका चार जिल्ला र स्थानीय तहमा रहेका अस्पताल र निजी क्षेत्रलाई समेत अक्सिजन बिक्री गर्न थालेका छौं ।’
अस्पतालले निजी कम्पनीले भन्दा सस्तो दरमा अक्सिजन बिक्री गरिरहेको जनाएको छ । ‘हाम्रो अक्सिजन निजी कम्पनीको भन्दा सस्तो छ’उनले भने,‘बाहिरी जिल्लाबाट ढुवानी गर्दा लाग्ने खर्चको पनि बचत हुन्छ । अस्पताल व्यवस्थापन समितिले सानो शिलिण्डर, मध्यम र ठूलो गरी तीनवटा अक्सिजन शिलिण्डर भर्नका लागि दररेट कायम गरेको छ । नीजि क्षेत्रले खरिद गर्दा भ्याट रकमसहित निर्धायिरित मुल्यमा अतिरिक्त ५० रुपैयाँ बढी तिर्नुपर्ने हुन्छ ।
बागलुङका स्थानीय तहमा सञ्चालित अस्पताललाई अक्सिजन आवश्यक परे समन्वय गर्न अस्पतालले पत्रचार समेत गरेको छ । अस्पतालले सानो अक्सिजन शिलिण्डरको ३७० रुपैयाँ, मध्यमको ६५० रुपैयाँ र ठूलो अक्सिजन शिलिण्डरको एक हजार तीन सय रुपैयाँ मुल्य तोकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. अभिषेक वाग्ले बताए ।
कोरोना कालमा विभिन्न क्षेत्रबाट प्राप्त भएका अक्सिजन शिलिण्डरले अस्पताललाई प्रयाप्त पुग्ने गरी सुरक्षित गरिएको निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. वाग्लेले जानकारी दिए ।
धौलागिरी अस्पताललाई गण्डकी प्रदेशको उप–प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नती गर्नेगरी दुई सय शैय्याको बनाउने गण्डकी सरकारले तयारी गरेको छ । दुई सय शैय्याको अस्पताल बनाउँदा अक्सिजन प्लान्टले उत्पादन गरेको अक्सिजन अस्पतालमै खपत हुनेछ ।