तेस्रो पार्टी, तेस्रोपल्ट प्रधानमन्त्री

तेस्रो पार्टी, तेस्रोपल्ट प्रधानमन्त्री

काठमाडौं : नेपाल गणतान्त्रिक मुलुक बनेपछि पहिलो प्रधानमन्त्री बनेका थिए, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। तर, प्रधानसेनापति प्रकरणमा छोटो अवधिमै राजीनामा दिनुपर्‍यो। त्यसको ८ वर्षपछि उनी २०७३ मा दोस्रो पटक सरकारको नेतृत्वमा पुगे। त्यसपछि यसपटक चुनावबाट आफ्नो पार्टी तेस्रो स्थानमा खुम्चिए पनि तेस्रो पटक प्रधानमन्त्री बनेका छन्। 

चुनावबाट कुनै पनि दलले स्पष्ट बहुमत नल्याएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मिलेर बहुमत पुर्‍याउन आइतबारसम्मको समय दिएकी थिइन्। आइतबार अन्तिम अवधिमा एमालेसहित १ सय ६९ सांसदको समर्थन जुटेसँगै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम दाहाललाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। ०५२ सालदेखि सशस्त्र द्वन्द्वमा होमिएका दाहाल २०६२/६३ को दोस्रो जनआन्दोलनपछि असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी सार्वजनिक भएका थिए। पार्टीलाई सशस्त्र द्वन्द्वमा होम्नेदेखि विस्तृत शान्ति सम्झौता हुँदै शान्तिपूर्ण राजनीतिमा डोर्‍याउने यात्राको नेतृत्व उनले नै गरे। माओवादीले २०६४ को संविधानसभा निर्वाचनमा भाग लियो। दाहाल दुई ठाउँबाट निर्वाचित भए। माओवादी सबैभन्दा ठूलो पार्टी बन्यो। ०६५ मा गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री बने। तर, कांग्रेस र एमालेसँगको सहकार्य तोड्दै अघि बढ्न खोजेपछि उक्त सरकार दुर्घटनामा पर्‍यो। दाहालले प्रधानसेनापति प्रकरणमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्‍यो। 

त्यसपछि उनी सरकारको नेतृत्व गर्नेभन्दा ‘अरूलाई प्रधानमन्त्री बनाउने’ भूमिकामा देखापरे। दोस्रो संविधानसभा चुनावबाट माओवादी निकै खुम्चियो। दाहालले काठमाडौंमा चुनाव नै हारे, सिरहाबाट जिते। पार्टीमा संविधानसभाबाट संविधान बनाएर आफ्ना एजेन्डा लागू गर्न सकिने धारको नेतृत्व दाहालले नै गरे। पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टी छोडे। डा. भट्टराईले नयाँ शक्ति पार्टीको घोषणा गरेका थिए। 

उनलाई सहकर्मीले छाड्ने र जोडिने क्रम भने चलिरह्यो। ०६५ मा नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रसँग माओवादीको एकता भयो। पार्टीको नामको अघि एकीकृत शब्द थपियो। ०६९ मा दाहाललाई छाडेका रामबहादुर थापालगायत ०७३ मा एकतामा आए। पार्टीको नाम माओवादी केन्द्र रह्यो। 

दाहाल २०७३ साउन १९ गते भने दोस्रो पटक प्रधानमन्त्री नियुक्त भए। २०७४ को निर्वाचनमा एमालेसँग गठबन्धन गरे। उनी चितवनबाट निर्वाचित भए। एमाले र माओवादीबीच ३ जेठ २०७५ मा एकता भयो। त्यसपछि उनी नेकपा अध्यक्ष बने। अर्का अध्यक्ष केपी शर्मा ओली थिए। दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता सहज रूपमा अघि बढ्न सकेन। दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेता र ओलीबीच शक्तिसंघर्ष चलिरह्यो।

कहिले कुन पक्षले त कहिले कुन पक्षले एकअर्कामाथि कारबाहीको शृंखला चलाए।  पार्टीमा विवादबीच सर्वोच्च अदालतले २०७७ फागुन २३ गते एकता भंग गरिदियो। दाहालले पूर्ववत् माओवादी केन्द्रको नेतृत्व सम्हाले। राष्ट्रिय सम्मेलन भनेर बोलाइएकोमा एक दिनअघि मात्र राष्ट्रिय महाधिवेशनमा रूपान्तरण गराए। उनी नै अध्यक्ष चयन भए। 

२०४५ सालमा नेकपा मशालको महामन्त्री बनेयता एकल नेतृत्वमा छन्। त्यही बेलादेखि माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय भएको थियो। ०५२ सालमा सशस्त्र द्वन्द्वमा होमिएपछि नेतृत्व झन् ‘केन्द्रीकृत’ गर्दै पार्टीले ‘प्रचण्डपथ’को अभ्यास गरेको थियो। जसले झन्डै १३ वर्ष भूमिगत जीवन बिताए। 

...त्यसपछि प्रचण्ड

दाहाल २०११ मंसिर २६ गते कास्कीको साबिक ढिकुरपोखरी गाविस–२ लेवाडेमा जन्मिएका हुन्। ढिकुर पोखरीबाट २०१९ सालमा परिवारसँगै चितवनको शिवनगरमा बसाइँ सरे। मुक्तिराम र भवानीका जेठो छोरा दाहालले प्रारम्भिक शिक्षा ढिकुर पोखरीमै लिएका थिए। न्वारानको नाम छविलाल भएकाले उनलाई परिवारमा छवि भनिन्थ्यो। घरको प्यारो नाम ‘बाबु’ थियो।

कक्षा १० मा पढ्दा छविलाल नाम परिवर्तन गरी पुष्पकमल राखे। भूमिगतकालमा उनले नाम परिवर्तन गरी ‘प्रचण्ड’ राखेका थिए। १० वर्षे सशस्त्र द्वन्द्वदेखि यही उपनामले बढी परिचित छन्। विसं २०३८ देखि २०६३ सम्म कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम थियो।

कुनै बेला उनी पार्टीभित्र ‘अल्पमत’मा पनि परेका थिए। २०६९ सालमा हेटौंडामा भएको सातौं राष्ट्रिय महाधिवेशनअघि उनीविरुद्ध धोबीघाट गठबन्धन बनेको थियो। त्यो महाधिवेशनबाट दाहाललाई नेतृत्वबाट विस्थापित गर्ने आंकलनसमेत गरिएको थियो। तर, त्यसअघि नै गठबन्धनमा पहिरो गयो। महाधिवेशन नहुँदै नेता मोहन वैद्य, सीपी गजुरेल, नेत्रविक्रम चन्दलगायत नेताले पार्टी फुटाए। डा. बाबुराम भट्टराईले महाधिवेशनमा उम्मेदवार हुने ‘साहस’ गरेनन्। महाधिवेशनले दाहाल अध्यक्षमा निर्विरोध भएको घोषणा गर्‍यो। 

यसपटक त नेतृत्वमा चुनौती दिने नेता नै पार्टीमा कोही देखिएनन्। चुनौती दिने नेताहरू सबै बाहिरिएपछि दाहाल ‘निर्विकल्प’ नेताका रूपमा प्रस्तुत भए। उनले चाहेजसरी नै महाधिवेशन अघि बढ्यो। एक दिनअघि मात्र राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरियो। केन्द्रीय सदस्यको नाम घोषणा गरे। दाहाल नै अध्यक्ष बने। अरू पदाधिकारी पनि उनकै चाहनाअनुसार मात्र छनोट हुने संकेत आएको छ। 

तब कम्युनिस्ट 

घरनजिक धनबहादुर विक कम्युनिस्ट कार्यकर्ता थिए। विकमार्फत नै उनले कम्युनिस्ट बन्ने प्रेरणा पाए। विकले नै रूपलाल विश्वकर्मासँग चिनजान गराए। त्यसपछि उनको सम्पर्क पुष्पलाल श्रेष्ठसँग भयो। चौथो महाधिवेशनपछि भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध कायम भयो। उनको राजनीतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल समूहमा २०२८ सालमा प्रवेश गरेपछि मानिन्छ। भक्तबहादुर पार्टीका महामन्त्री हुने बेला दाहाल क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए। ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि उनी मोहनविक्रमतिर लागे। 

राजनीतिमा आउनुअघि शिक्षण 

उनले २०२६ सालमा चितवनको नारायणी विद्यामन्दिर मावि शिवनगरबाट एसएलसी गरे। २०२७  देखि २०२९ सम्म पाटन बहुमुखी क्याम्पसबाट आईएस्सी पूरा गरे। २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बीएस्सी गरेर एमपीएसम्मको अध्ययन गरे। 

राजनीतिमा आउनुअघि उनले शिक्षण पेसा अँगालेका थिए। २०२९ मा चितवनको नारायणी विद्यामन्दिर मावि शिवनगर, डण्डा मावि नवलपरासीमा पढाए। यस्तै,  २०३३–०३५ मा भीमोदय मावि आरुघाट गोरखामा शिक्षण गरे। २०३२ सालमा यूएसएडमा पनि काम गरे। २०२६ वैशाखमा सीता पौडेलसँग उनको विवाह भएको हो।  

२०२८ सालमा पार्टी सदस्यता 

उनले २०२८ सालमा नेकपाको पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएका थिए। रामबहादुर थापा, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरे। उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ मा पूर्णकालीन कार्यकर्ता र २०३६ मा चितवन जिल्ला समिति सदस्य बने। २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघका महासचिव भई २०४० मा अध्यक्ष निर्वाचित भए। 

२०४१ मा नेकपा (मशाल)को पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए। २०४२ मा पोलिटब्युरो सदस्य बने। २०४५ मा महामन्त्री बनेपछि उनी पार्टी नेतृत्वमा पुगेका थिए। २०४८ मा पार्टीको नाम फेरेर नेकपा (एकताकेन्द्र)का महामन्त्री भए। २०५१ मा तत्कालीन नेकपा एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछिको तेस्रो विस्तारित बैठकले पार्टीको नाम फेरेर नेकपा (माओवादी) राख्यो। दाहाल नै महामन्त्री रहे। उनले २०५२ सालमा सुरु भएको सशस्त्र ‘जनयुद्ध’को नेतृत्व गरे। २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीका अध्यक्ष भए। २०५८ मा पार्टीले गठन गरेको ‘जनमुक्ति सेना’को सर्वोच्च कमान्डर भए। 

दाहालले थुप्रै पुस्तक लेखेका छन्। नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), सांस्कृतिक, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरू (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरूलगायत पुस्तक प्रकाशित छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.