बारामा गाँजा खेती फडानी गर्ने प्रहरीको अभियान फेरि सुरु
वीरगन्ज : बारामा प्रहरीले फेरि गाँजा खेती नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको छ।
निर्वाचनका कारण केही महिना रोकिएको गाँजा खेती फडानी अभियान सोमबारदेखि फेरि सुरु गरेको हो।
यसैक्रममा सोमबार निजगढमा प्रहरीले ठूलो परिमाणमा गाँजा खेती फडानी गरेको छ। निजगढ नगरपालिका वडा नम्बर १२ र १३ मा पर्ने कुलियामा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कुलियामा १७ कठ्ठा जग्गामा लगाइएको गाँजाको बोट फडानी गरेपछि जलाएर नष्ट गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।
गाँजा रोप्ने व्यक्तिको भने खोजी भइरहेको उनले बताए।