हत्याको बदला लिन हत्याः विवाद भारतमा, घटना नेपालमा

हत्याको बदला लिन हत्याः विवाद भारतमा, घटना नेपालमा

सिमराः बाराको महागढीमाई नगरपालिकामा शुक्रबार भारतीय नागरिकको गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

भारत मोतिहारीका ४५ वर्षीय शिवपुजन राय यादवको हत्यामा संलग्न भारत घोडासनका ३८ वर्षीय प्रमोद राम पक्राउ परेका हुन्। 

रामलाई घटनाकै दिन पक्राउ गरेको प्रहरीले अनुसन्धानबाट उनको संलग्नता रहेको पुष्टि भएपछि सोमबार सार्वजनिक गरेको हो। 

यादवको हत्या प्रकरणमा रामले सहयोगीको भूमिका खेलेको प्रमाण प्रहरीले प्राप्त गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन्। 

जिल्ला प्रहरी कार्यालयमा रामलाई सार्वजनिक गर्दै प्रहरी उपरीक्षक बोगटीले हत्याको बदला लिने मनसायसहित यादवको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए। 

‘यादवले भारतमा एक जनाको हत्या गरेको र हत्या गरिएको परिवारका सदस्यको योजनामा फेरी उनको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ’ प्रहरी उपरीक्षक बोगटीले भने ‘घटनाको कारण रिसिबी साध्नका लागि भएको देखिएपनि हामी थप अनुसन्धान गरिरहेका छौं।’

प्रहरी उपरीक्षक बोगटीका अनुसार गोली प्रहारबाट मारिएका यादव र पक्राउ परेका राम दुवै भारतीय प्रहरीको ‘मस्ट वाण्टेड’ सूचीमा रहेका अभियुक्त हुन्। दुवैविरुद्ध कर्तव्य ज्यान, अपहरण, हातहतियारसहित विभिन्न मुद्दा भारतीय प्रहरीमा दर्ता रहेको  छ। 

विभिन्न अपराधमा संलग्न यादवले गत चैतमा परिवारभित्रकै सदस्य रहेका ग्राम पञ्चायतका उपप्रमुख रमेश यादवको गोली प्रहार गरी हत्या गरेका थिए। 

जग्गा विवादमा परिवारभित्रकै सदस्यको हत्या गरी फरार रहेका यादवलाई भारतीय प्रहरीले खोजीको सूचीमा राखेको थियो। 

विभिन्न अपराधमा संलग्न रहेका यादव नेपालमा लुकेर बस्दै आएका थिए। पछिल्लो समय उनी दुई दिन अघि मात्रै महागढीमाईस्थित आफन्तको घरमा आएका हुन्। 

आफन्तको घरमा आएका यादवको भारतमै बनेको योजनाअनुसार हत्या भएको प्रहरी उपरीक्षक बोगटीको भनाइ छ। 

यादवलाई महागढीमाई नगरपालिका-२ स्थित भुतही पुल नजिकको खाजा पसलमा भारतीय नम्बरको मोटरसाइकलमा आएका सुटरले गोली प्रहार गरी हत्या गरेका हुन्। 

यादवलाई छातीमा एक राउण्ड गोली प्रहार गरेर भारतीय सुटर मोटरसाइकलमा फरार भएका थिए। यादवमाथि गोली प्रहार गर्ने सुटर अझै फरार छन्। 

सुटर फरार भएपनि यादवमाथि गोली प्रहार गर्नका लागि वातावरण बनाउने भूमिकामा रहेका राम पक्राउ परेका हुन्। 

रामलाई प्रहरीले परवानीपुर गाँउपालिका ५ स्थित एलएस न्युरो अस्पतालबाट नियन्त्रणमा लिएको हो। गोली प्रहारबाट गम्भिर घाईते भएका यादवको उपचार भइरहेको अस्पतालमा राम पनि पुगेका थिए। यादवको उपचारका क्रममा मृत्यु भएको थियो। 

अस्पतालमा शंकास्पद अवस्थामा देखेपछि प्रहरीले रामलाई नियन्त्रणमा लिएको थियो। रामलाई नियन्त्रणमा लिएपछि घटनाबारे अनुसन्धान गर्न प्रहरीलाई सहज भयो। 

अस्पतालमा भेटिएका रामको ‘कल लग’ खाली देखेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। रामलाई नियन्त्रणमा लिएलगत्तै प्रहरीले उनको कल डिटेल जाँच गरेको थियो। कल डिटेलमा रामले घटनाको केही समयअघि यादवले प्रयोग गरेको नम्बरमा फोन गरेको देखियो। 

रामले यादवलाई फोन गरेर चिया पिउनका लागि बोलाएका थिए। राम र यादवबीच राम्रो मित्रता थियो। रामले फोन गरेर बोलाएपछि यादव घर नजिकै रहेको पसलमा चिया पिउन निस्किएका थिए। 

होटलमा चिया पिउँदै गरेको अवस्थामा उनीमाथि गोली हानिएको हो। ‘यादव र राम दुवै अपराधिक पृष्ठभूमिका हुन्। त्यसैले दुवैबीच राम्रो सम्बन्ध थियो’ प्रहरी उपरीक्षक बोगटीले भने ‘त्यही सम्बन्धको फाइदा उठाउँदै यादवको हत्यामा रामलाई परिचालन गरेको देखियो।’

प्रहरी उपरीक्षक बोगटीका अनुसार हत्याको मुख्य योजनाकार भने गत चैतमा यादवबाट मारिएका ग्राम पञ्चायतका उपप्रमुखका भाइ दिनेश हुन्। 

दाइको हत्या भएको रिसिबी साध्न दिनेशले यादवको हत्या योजना बुनेका हुन्। उक्त कामका लागि रामले ६० हजार भारतीय रुपैयाँ लिएका थिए। 

प्रहरीका अनुसार यादवलाई चिया पिउन घरबाहिर बोलाएलगत्तै रामले सुटरलाई फोन गरेर बोलाएका थिए। सुटरले मोटरसाइकल तयारी अवस्थामा राखेर यादवलाई गोली प्रहार गरी भारततर्फ फरार भएको प्रहरी उपरीक्षक बोगटीले बताए। सुटरले यादवमाथि गोली प्रहार गर्दा राम पनि घटनास्थलमै थिए। 

भारतमा अपराध गरी नेपालमा लुकेर बस्दै आएका राम र यादवबीच ८६ चोटी फोन सम्पर्क भएको कल डिटेलमा देखिएको छ। 

दुवैले एनसेलको नम्बर प्रयोग गर्दै आएका थिए। यादवको हत्या गर्ने योजना डेढ महिना अघि बनेको थियो। हत्याको योजनापछि रामले यादवसंग पटकपटक भेटेका थिए। 

घटनाबारे जानकारी दिँदै प्रहरी उपरीक्षक बोगटीले हत्याका योजना र सुटरको खोजी भइरहेको बताए। उनले घटनामा अन्य सबै फरार रहेकाले पक्राउका लागि भारतीय प्रहरीसंग समन्वय भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिएका छन्। 

गोली प्रहार गरी हत्या गरिएको शिवपुजन राय यादवको हत्यामा संलग्न प्रमोद रामलाई सार्वजनिक गर्दै प्रहरी।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.