सिन्धुली भालुमाराका घरघरमा खानेपानीका धारा
भालुमारा (सिन्धुली) : सिन्धुलीको मरिण गाउँपालिका ३ भालुमाराकी रणकुमारी तामाङ घरको आँगनमै स्वच्छ पिउने पानीको धारा झरेपछि दंग छिन् । आँगनमा घरका सबै भाँडा पानीले भरेर राखेकी छन् ।
वर्षौंदेखि घरमै पानीको धारा जोड्ने सपना पुरा भएपछि तामाङमा खुसीयाली छाएको हो । तामाङको यो सपना विभिन्न दातृनिकायको सहयोग तथा भालुमारा नमुना कृषि सहकारी संस्थाको संयोजनमा पुरा भएको हो ।
ग्रामिण प्रविधि केन्द्रको समन्वयमा डेनिस इन्टरनेश्नल ह्युमेन सेटलमेन्ट सर्भिसमार्फत् सिभिल सोसाइटी इन डेभलपमेन्टको आर्थिक सहयोगमा सिंगो भालुमारा बजारका ९७ घरधुरीमै स्वच्छ खानेपानीको पहुँच पुगेपछि यस्तो खुसीयाली छाएको हो ।
यहाँ आदिवासी जनजाती तथा दलित समुदायको बसोबास छ । सोलार लिफ्ट सिस्टमबाट बजारका घरघरमा स्वच्छ खानेपानी वितरण गरिएको हो । यसअघि त्यस क्षेत्रका नागरिकहरु कुवा, खोल्सी तथा मरिण खोलाको दुषित खानेपानि खान बाध्य थिए ।
तर, अहिले घरघरमै धारा आउँदा स्वच्छ खानेपानी उपभोग गर्नुका साथै खेर जाने पानीलाई करेसाबारीमा लगाएर तरकारी तथा फलफूल उत्पादनमा समेत टेवा पुग्ने अवसर आएको तामाङको भनाइ छ ।
‘खानेपानी आभाव हुँदा एक घण्टासम्मको दुरीबाट पानी बोकेर घरमा ल्याउनु पथ्र्यो । खान, गाई वस्तुलाई दिन, लत्ताकपडा धुन तथा बालबच्चाको सरसफाइ गर्न निक्कै कठिन थियो । तर, अहिले घरमै धारा आउँदा सुविधासँगै समयको बचत समेत हुने भएको छ,'उनले भनिन् ।
लामो समयको प्रतिक्षापछि घरघरमा पानिको धारा आउँदा धेरै जसो महिलालाई सुविधा पुगेको सोही ठाउँकी सर्मिला वाइवाको बुझाइ छ । ‘घरधन्दा, वस्तुभाउ, बालबच्चाको सरसफाइ जस्ता कामहरु घरका महिलाले नै गर्नुपर्छ । यस्तो गर्न महिलाले नै पानीको जोहो गर्नुपथ्र्यो । अहिले भने निक्कै सजिलो भएको छ,’वाइवाले थपिन् ।
घरै तल मरिण खोला भएपनि घरमा पानीको समस्या हुँदा त्यहाँ खुल्ला दिशामुक्त क्षेत्र घोषणा प्रभावकारी हुन सकेको थिएन । ‘बोकेको पानिले शौच गर्न समेत कठिन थियो । हिउँदमा त इनार तथा कुवाहरुसमेत सुक्ने गथ्र्यो । तर, अहिले घर तथा शौचालयमा प्रशस्त पानीको सुविधा भएको छ । यसले भालुमारा बजारकै मुहारमा खुसी छाएको छ,’भालुमारा स्वच्छ पिउने पानि उपभोक्ता समितिका अध्यक्ष दिनेश घिसिङले भने ।
आयोजनाले ९७ वटा घरमा धारा, तीनवटा सार्वजनिक धारा र दुई रिजर्भ ट्यांकी निर्माण गरिएको घिसिङको भनाइ छ । वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सत प्रतिशत नवीकरण उर्जा कार्यक्रम अन्तर्गत उक्त आयोजना लागि विभिन्न दातृनिकायको ३० लाख बढीको सहयोग तथा स्थानीयको ९ लाख बराबरको श्रमदान गरी जम्मा ३९ लाख ५ हजार ६ सय ५९ रुपैयाँ लागतमा सम्पन्न भएको हो ।
उक्त खानेपानी आयोजना स्थानीयलाई हस्तान्तरण समेत गरिएको छ । निर्माण सम्पन्न आयोजनाले भालुमारा क्षेत्रमा खानेपानीको समस्या हलभएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानको भनाइ छ ।
गाउँपालिकाले एक घर, एक धाराको अवधारणा ल्याएको भन्दै अध्यक्ष मोक्तानले पालिका भरिनै खानेपानीको समस्या समाधान गरिने उल्लेख गरे ।
यस्तै वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक डाक्टर मधुसुदन अधिकारीले सुविधा प्राप्त गर्नु मात्रै समस्याको अन्त्य नभै त्यसलाई स्थायित्व दिन जरुरी रहेको बताए ।
सबैसँगको समन्वयमा खानेपानीका धाराहरु निर्माण भएको उल्लेख गर्दै यस्ता अन्य बैकल्पिक उर्जाका काममा आफूहरु सधैं सहयोग गर्न तयार रहेको अधिकारीको भनाइ छ ।
खानेपानी निर्माणका लागि जग्गा उपलब्ध गराउने, सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान समेत गरिएको छ ।