रसुवागढी नाकाबाट नेपाली सामग्री निर्यात सुरु

रसुवागढी नाकाबाट नेपाली सामग्री निर्यात सुरु

काठमाडौं : रसुवागढी नाकाबाट चीनतर्फ नेपाली सामग्री निर्यात सुरु भएको छ। रसुवा भन्सार कार्यालयका अनुसार मंगलबारदेखि चीनतर्फ सामग्रीको निर्यात सुरु भएको हो। 

कोभिड-१९ का कारण नाकाबाट सामग्री निर्यात हुन सकेको थिएन। मंगलबार तीनवटा टेलर (नेपाली ६ वटा गाडी)मार्फत सामग्री निर्यात गरिएको हो। 

ह्यान्डीक्राफ्ट, बाँसको मुडा तथा बाँसका अन्य सामग्री निर्यात भएको भन्सारका सूचना अधिकारी भरतराज अधिकारीले बताए। उनका अनुसार अब सामग्री नियमित जाने सम्भावना छ। 

'हामीलाई चीनबाट नियमित सामग्री लैजानेबारे आधिकारिक जानकारी आएको छैन', उनले भने, नेपाली व्यापारीले अब नियमित जाने कुरा गरेका छन्।'

नाका पूर्ण रूपमा सञ्चालनमा नआएका कारण नेपाली सवारी साधन चीनतर्फ जान पाएका छैनन्। 'नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि मात्र नेपाली सामग्री यहाँकै सवारी साधनले लैजान पाउँछन्', उनले भने यसपटक त्यही भएर नाकाबाट चिनियाँ टेलरले लगेका हुन्।' 

२०७६ साउनदेखि नाकाबाट सामग्री निर्यात भएको थिएन। सुरुमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले निर्यातमा रोक लगाएको थियो। 

भाषाको समस्या समाधान हुने क्रममा रहेको समयमा चीनको उहानमा देखिएको कोभिड–१९ का कारण चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको थिएन्। 

आयातको तुलनामा निर्यात निकै कम हुने भएपनि चिनियाँ बजारमा नेपाली सामग्रीको माग बढ्दै गएको थियो। 

चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका गुम्बाहरूमा नेपाली दाल र घ्यू तथा अन्य स्थानमा बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायत सामग्रीको माग उच्च छ। 

लामो समयदेखि सामग्री निर्यात रोकिएका कारण भारतको विभिन्न स्थानबाट सामग्री जाने क्रम बढेको व्यापारी बताउँछन्। २०७६ साउनअघिसम्म दाल, घ्यू, चाउचाउ, बिष्कुट, चिउरालगायत सामग्री निर्यात भइरहेको थियो। प्रतिमहिना करिब २५ वटा गाडीले खाद्य सामग्री निर्यात गर्दै आएका थिए। 

तिब्बतको सिगात्से र ल्हासामा नेपाली सामग्री जाने गरेको व्यवसायी पुरुषोत्तम पौडेलले बताए। नेपाली खाद्य सामग्री लैजाँदा भन्सार तिर्न नपर्दा व्यापारीलाई सहज छ। आठ हजार आरएमबीसम्मका सामग्री लैजाँदा भन्सार तिर्न पर्दैन। 

रसुवागढी नाका औपचारिक रूपमा सञ्चालनमा आउनुपूर्व नै खाद्य सामग्री जाने गरेको थियो। सडक निर्माण नभएको समयमा पनि मैदा, चिउरा, चिनीलगायत सामग्री निर्यात भइरहेको थियो। 

नेपाली सामग्री लैजान कडाइ गरिएसँगै व्यापारी घटेका व्यवसायी पौडेलले बताए। चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफुल आयात हुँदै आएको छ। 

यस नाकाबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचोलगायत सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। २०७१ देखि औपचारिक रूपमा सञ्चालनमा आएको नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका थिए। 

चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.