अपराधमा किन मुछिन्छन् प्रहरी ?

अपराधमा किन मुछिन्छन् प्रहरी ?

काठमाडौं : बुटवलका व्यापारीको सुन नियन्त्रणमा लिएर आफैंले राखेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनलाई २५ लाख नगद र ३५ तोला सुनसहित आइतबार नियन्त्रणमा लिएको हो।

भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका सिन्धुपाल्चोकका एसपी रामेश्वरप्रसाद यादव प्रहरी सेवाबाट बर्खास्त भएका छन्। २०७० सालमा रुपन्देहीमा हुँदा आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित हबल्दार ढकबहादुर गुरुङविरुद्ध मुद्दा चलाएको थियो।

उनीहरूविरुद्ध आर्थिक अनियमितता गरेको र लागूऔषध मुद्दामा पैसा लिएर मिलाएको पाइएकाले अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतमा मुद्दा दर्ता भएपछि नै उनीहरू निलम्बनमा परेका थिए। 

विशेष अदालतले उनीहरूलाई सफाइ दिँदै फैसला गरेको थियो। विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्च गएको थियो। सर्वोच्चले गत पुस ५ गते फैसला गर्दे उनीहरूलाई दोषी ठहर गरेको थियो। सर्वोच्चको फैसलापछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई पुस ७ गते जिम्मेवारीबाट हटाएको थियो।

प्रहरीमाथि कहिले अकुत सम्पत्तिा कमाएको, कहिले आपराधिक गतिविधिमा लागेको, कहिले सुन तस्करीमा मुछिएको, कहिले कालोबजारीसँग मिलेको आरोप लागिरहेको हुन्छ।  

यस्तै, गत मंसिर १४ गते बैतडी पञ्चेश्वरी गाउँपालिका ४ की माया लुहारको हत्या आरोपमा सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन्। उनले मायालाई भेट्न बोलाइ क्रूर तरिकाले हत्या गरेर लुहारकै फोन बोकेर फरार भएका थिए। लुहार प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा म्यादी प्रहरी भएकी थिइन्। 

यी त केही उदाहरण भए। सत्य सेवा र जनताको सुरक्षाको जिम्मा लिएका प्रहरी पनि अपराधमा संग्लन हुने गरेका छन्। चेन अफ कमान्ड र कडा अनुशासनको घेराभित्र रहने प्रहरी अपराधमा संग्लन भएका घटना यी भने नौला होइनन्। 

कहिले अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियारमा मुद्दा परिरहेको हुन्छ त कहिले आपराधिक गतिविधिमा लागेको आरोपमा प्रक्राउ परेका हुन्छन्। कहिले सुन तस्करीमा मुछिएका हुन्छन्, त कहिले कालोबजारीसँग मिलेर लुटपाट मच्चाइरहेका हुन्छन्।

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईका अनुसार मान्छेको चरित्रअनुसार अपराध कर्ममा लाग्ने गर्छन्। लोभ, लालच र अहंकारमा पर्दा प्रहरी अपराध कर्ममा लाग्ने गर्छन्। पद र राज्यले दिएको जिम्मेवारी पुरा नगरी व्यक्तिगत लाभमा लाग्ने प्रहरीलाई संगठनले माफ गर्दैन। उसलाई गल्ती गर्ने छुट नै छैन। जानाजान गल्ती गर्छ र प्रहरी सेवामा हुँदा सही आचरणमा नबस्ने जो कोहीलाई कानुनी कारवाही गरिनेछ।

पूर्वआईजीपी अच्युतकृष्ण खरेलले प्रहरी अपराधमा संलग्न हुनुलाई व्यक्तिगत व्यवहार हो भन्छन्, उनका अनुसार संगठनमा आर्थिक अनुशासनको पाटो प्रस्ट भएन, आफूभन्दा माथिल्लो हाकिमले मनग्ये पैसा कमाएको देख्ने प्रहरीले आफू पनि गलत काममा लाग्ने गरेको उनले बताए। 

खरेल भन्छन्, ‘संगठनको नेतृत्वदेखि नै फेयर र प्रस्ट अनि स्वच्छ छवीको हुन जरुरी छ। नैतिक रुपमा भ्रष्ट प्रहरीलाई कडा कारवाही हुनुपर्छ।’

प्रहरी प्रधान कार्यालयले दिएको तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा ८ हजार ३ सय २५ जना प्रहरीलाई विभागीय कारवाही गरिएको छ। जसमध्ये विभिन्न कसुरमा संग्लन भएका १ हजार १ सय ७४ जना प्रहरीलाई जागिरबाट हटाइएको छ। यस्तै, ४८ जना बर्खास्तीमा परेका छन्। ३ हजार २ सय ७२ जनालाई विभिन्न प्रकारको नसिहत दिइएको छ। ९ सय ७२ जना निलम्वनमा परेका छन्। 

प्रहरी प्रवक्ता राईका अनुसार विभागीय कारवाही अन्र्तगत प्रहरीले गरेको कसुर हेरेर संगठनले कारवाही तोक्छ। उनी भन्छन्, अदालतबाट दोषी ठहर भएकालाई संगठनले केही गर्देन अदालतकै सजाय र कारवाही हुन्छ। अन्य कसुरमा संग्लन भएकालाई कोहीलाई जागिरबाट हटाउने, नसिहत दिने, बढुवा रोक्का गर्ने, ग्रेड घटुवा, पद घटुवा, जस्ता कारवाही गरिनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.