अनेक आयाममा जीवन विकास

अनेक आयाममा जीवन विकास

मावन पृथ्वीको एउटा अद्वितीय हिस्सा हो। सुन्दर सिर्जना हो। मानव त्यही जीवनभित्रको एक चेतनशील पात्र। ऊ पृथ्वीको जमिनमा बस्छ। र, आफू र अन्य जीवनका बारेमा सोच्छ। जीवन हुनुको कारण खोज्छ। ब्रह्माण्डको विचरण गर्न चाहन्छ। किनकि अहिले उसको सोचाइ समृद्ध छ। तर आदिमकालमा परिस्थिति यस्तो थिएन। अबोध वनस्पति र जनावरभन्दा भिन्न थिएन उसको जीवन। पृथ्वीमा कुनै जीवले जव जीवनका लागि सोच्न थाल्यो वास्तवमा यो घटना नै पृथ्वीमा मानव उदयको आधार बन्यो। हामी हुनुको आधार बन्न पुग्यो।

जीवनसँग गासिएका धेरै प्रश्नहरू वैज्ञानिक समुदायमा छन्, जसको उत्तर अझै पनि सहज छैन। तर वैज्ञानिकहरूले तिनै जीवहरूबीचको विकासवादी सम्बन्धहरू, उनीहरूको रूप र कार्यलाई प्रभाव पार्ने आनुवंशिक परिवर्तनहरू, सँगसँगै पृथ्वीको भौतिक वातावरणमा उनीहरूको प्रभाव, बुद्धिमत्ता र सामाजिक व्यवहारको विकासलगायतका धेरै गहन विषयहरूको अध्ययनमा भने कुनै कमी गरेका छैनन्। पृथ्वीमा घटनाहरू कसरी घट्यो, र जीवन विकासको क्रम कसरी जारी रह्यो ? यिनै प्रश्नहरूको उत्तर खोज्नु उनीहरूको मुख्य रोजाइ हो।

पृथ्वीमा विद्यमान धेरै प्रकारका प्रमाणहरूले जैविक विकासको वैज्ञानिक बुझाइमा धेरै ठूलो योगदान पुर्‍याएका छन्। जीवाश्म जीवनको इतिहास खोज्ने महत्त्वपूर्ण भौगोलिक दस्तावेज हो। १९औं शताब्दी वा त्यसअघिका वैज्ञानिकहरूले विलुप्त जनावरहरूको जीवाश्म र जीवाश्मकै आधारमा प्रजातिहरूको भौगोलिक वितरणबारे परिचित हुन सकेका थिए। डीएनए अनुक्रमहरूको तुलना प्रमाणका अन्य रूपहरूमध्ये नै एक महत्त्वपर्ण रूप हो भन्ने बुझाइ २०औं र २१औं शताब्दीमा मात्र सम्भव भएको थियो।

भौतिक विज्ञान र रसायनशास्त्रले दिनांकन र तिथि निर्धारणका विधिहरूको निक्योलसँगै प्रमुख विकासवादी घटनाहरूको समय स्थापना गरेको छ। अन्य प्रजातिहरूको अध्ययनले केवल शारीरिक मात्र नभई प्रजातिहरूबीचको व्यावहारिक निरन्तरतालाई पनि व्याख्या गरेको छ। मानवशास्त्रले मानव उत्पत्ति र मानव व्यवहार र सामाजिक प्रणालीलाई आकार दिन जीवविज्ञान र सांस्कृतिक कारकहरूबीचको अन्तक्रियामा नयाँ अन्तरदृष्टिसमेत प्रदान गरेको छ। कतिपय रहस्य न सुल्झिए पनि आधुनिक विज्ञानले जीवनका बारेमा अहिले धेरै कुराहरू खोतलेको छ। 
जीवनको क्रमिक विकासले नै पृथ्वीमा वनस्पति र जनावरहरूको भौगोलिक वितरणको लागि महत्त्वपूर्ण खाका कोरेको छ। जीवनको विविधता लगभग अकल्पनीय नै छ। पृथ्वीमा लाखौं प्रजातिहरू छन् : जसको अस्तित्व सतह भित्र र बाहिर कायम छ। जुनसुकै परिस्थितिमा भए पनि उनीहरूले आफ्नो पारिस्थितिक प्रणाली निर्धारण गरेका छन्। मानवलगायत केही प्रजातिहरू वातावरणको एक विस्तृत शृंखलामा बाँच्न सकेका छन्। अन्य जीवहरूको संरचना पनि अत्यन्त विशिष्ट छ। कतिपय एकल प्रजातिहरू पनि हामीसँगै छन् उनीहरूले पनि उपयुक्त स्थान रोजेर पृथ्वीमा आफ्नो अस्तित्व जोगाई नै रहेका छन्।

सन् २००८ मा प्रकाशित एक पुस्तकमा माइकल जे बेन्टनले भनेका छन्– सबै जीवन समुन्द्रबाट आएका हुन्। वास्तवमा जीवन सम्पदाले, जनावरहरूले मात्र होइन, वनस्पतिहरूले पनि पानीको अंशहरू बोकेका छन्। यो मान्यतालाई स्वीकार्न सकिने यो एउटा आधार पनि हो। जीवनको इतिहासको कथा सुनाउने विभिन्न तरिकाहरू छन्। प्रचलित धेरै उदाहरणहरूमध्ये बेन्टन र हार्पर (१९९७, २००८) को आधुनिक मानवहरूको उत्पत्ति सम्मका लागि प्रस्तावित १० चरणहरूको अनुक्रम निकै विशिष्ट मानिन्छ। जीवाश्म अध्ययनबाट पृथ्वीमा जीवनको उपस्थिति ३.६–३.५ अर्ब वर्षपहिले भएको हो भन्ने वैज्ञानिक अनुमान छ, र यो समयलाई नै जीवनको उत्पत्तिको पहिलो महत्त्वपूर्ण चरण मानिन्छ। ती प्रारम्भिक जीवन प्रोकारियोटिक कोषहरू, सम्भवत: आधुनिक साइनोब्याक्टेरियाजस्ता थिए। उनीहरूको अस्तित्व अक्सिजनको अभावमा थियो भनेर वैज्ञानिकहरूले भन्ने गरेका छन्।

युकारियोट्स जीवन र प्रजनन प्रणालीको विकास दोस्रो चरणमा भयो। नाभिकयुक्त (न्यक्लियस) युकारियोट कोषहरूको अस्तिव करिब १.३ देखि एक अर्ब वर्षअघि थियो भनेर वैज्ञानिकहरूले भन्ने गरेका छन्। सम्भवत: त्यो समयभन्दा पहिले नै युकारियोट्स र प्रजनन प्रणालीको विकास भएको थियो भन्ने अनुमान वैज्ञानिकहरूले नगरेका पनि होइनन्। यौन प्रजननको आरम्भ, सम्भवत: युकारियोट्सको उत्पत्ति एकै समयमा भएको हुन सक्छ भन्ने मान्यता पनि छ। अर्कोतर्फ आनुवंशिक सामग्री र पुन: संयोजनको विकास पनि यही समय भएको हुनुपर्छ भन्ने वैज्ञानिक तर्क पनि छ।

एक कोषीय युकारियोट्स ब्याक्टेरियाभन्दा १५ हजार गुणा ठूलो मात्र होइन यसको जिनोम पनि परिपूर्ण भइसकेको हुन्छ भन्ने तर्क वैज्ञानिक निक लेनको छ। रोचक पक्ष के हो भने पृथ्वीमा भएका सबै जटिल जीवन– जनावर, वनस्पति, फंगी आदि सबै– युकेरियट वर्गका मात्र नभै एउटै पुर्खाबाट विकसित भएका जीवन हुन्। त्यसकारण, युकारियोटिक कोषका पुर्खाहरू उत्पादन गर्ने घटना नभएको भए वनस्पतिलगायत माछा, डाइनोसर र एप्सहरू यो धर्तीमा हुने थिएनन्। 

तेस्रो चरण भनेको बहुकोषियतायुक्त जीवको विकास नै हो। रातो सैबाल यसको मुख्य उदाहरण हो। जसको इतिहास १.२६ अर्बदेखि ९५ करोड वर्ष पुरानो छ। आणविक प्रमाणले पनि बहुकोषीय जीवको विकासको समय १.२ अर्ब वर्ष पहिलेलाई संकेत गरेको छ। जीवमा अस्थिपञ्जर वा कंकालको विकास चौथो महत्त्व पूर्ण चरण भनेर वैज्ञानिकहरू भन्छन्। लगभग ५४ करोड ५० लाख वर्षपहिले पृथ्वीमा कंकालयुक्त जीवनको विकास भएको थियो। नवीन प्रकारका सिकारीहरूको उदयलाई जीवन विकासको पाँचौं चरण मानिएको छ। कंकालहरूको विकाससँगै सुरक्षात्मक बाहिरी आवरणहरूको विकास पनि यसै चरणमा भयो। म्याक्रोस्कोपिक जीवनहरू, जस्तै ट्राइलोबाइट्सले ठूलो सिकारको उपभोग गर्न नयाँ रणनीतिहरू प्रयोग गरे। सिकारी र सिकारबीचको हातहतियारको प्रयोगको दौड त्यसपछि जीवजन्तुको विकासक्रमको एउटा मानक विशेषता नै बन्यो। 

जैविक चट्टानहरू (बाइलोजिकल रिफ्स)को विकास जीवन विकासको छैटौं चरण हो। पृथ्वीमा यिनीहरू क्याम्ब्रियन समयदेखि अस्तित्वमा छन्। रिफ्सहरू जीवनहरूको एक विस्तृत दायराबाट बनेका हुन्। विभिन्न कालखण्डमा शैवाल, स्पन्ज, ब्रायोजोआन र कोरलका विभिन्न समूहहरू अस्तित्वमा आए, र समय क्रमसँगै लोप भएर गए पनि। तर हिजोआज रिफ्सहरू स्क्लेरेक्टिनियन कोरलहरूको नेतृत्वसँग जोडिएका छन्। रिफ्सहरू जीवहरूबाट बनेका हुन। उनीहरूको आफ्नै प्रमुख भौतिक भौगोलिक विशेषताहरू छन्। र, यिनीहरू जीवनका लागि नयाँ आवासहरूको आधारशिला पनि हुन्।  

सातौं चरण अत्यन्त महत्त्वपूर्ण चरण हो, जसलाई हामी स्थलीयकरणको चरण भन्दछौं। जीवनको भूमिमा भएको प्रवेशले नै यो धर्तीमा नयाँ युगको रचना गर्‍यो। पृथ्वीको सतहमा नयाँ जीवन क्षेत्रहरूको ठूलो आगमनले नै माटोको विकास भयो। माटोलाई प्रिक्याम्ब्रियनकालीन पछिल्लो समयको महत्त्वपूर्ण उपलब्धिको रूपमा मानिन्छ। वास्तवमा माटोले नै भूमिमा जीवनलाई संकेत गर्दछ। छिद्र बनाउने खालका जीवहरू ओर्डोभिसियन माटोबाट प्रचलनमा आएको वैज्ञानिकहरू बताउँछन्। वनस्पतिलगायत स–साना धेरै रक्तवाहिन अर्थाेपोडहरू सिलुरियन समयबाट प्रचलनमा आएको मानिन्छ।

झन्डै ४० करोड वर्षपहिले, सिलुरियन वा डेभोनियनकालमा वनस्पतिहरू पानीको गहिराइबाट साधारण भूमिमा अस्तित्वमा आए। त्यसपछि गड्यौला, किराहरूलगायत स–साना जीवजन्तुहरूले नयाँ बासस्थान पाए। साधारण भूमिका वनस्पतिका पातहरू उनीहरूका लागि महत्त्वपूर्ण भोजन बन्यो। डेभोनियन समयमामा जमिनका बोटहरू ठूला थिए। वनस्पतिहरूमा अधिक विविधता पनि थियो। र, यसै समयमा भूमिमा–बस्ने जीव–जन्तुहरूको विविधतामा पनि विस्तार भयो। त्यतिबेला विस्तारित जीवहरूमा गँड्यौला, मोलस्कलगायत अर्थोपोड समूहका र मेरुदण्ड भएका धेरै जीवहरू पर्छन्। नियोप्रोटेरोजोइक समयमा समुद्र र ठूलठूला तालहरूको किनारमा पनि अत्यन्त सूक्ष्म र साधारण खालका प्रकाश संश्लेषण गर्ने जीवहरू थिए भन्ने वैज्ञानिक अनुमान छ।

बेन्टनले भनेका छन्– जीवनको भूमि प्रवेश दुई कारणले अत्यन्त महत्त्वपूर्ण छ। पहिलो हो भूमिमा स्थापित जीवनले आधुनिक जैविक विविधतालाई प्रतिनिधित्व गर्दछ। भूमिमा सरेपछि जीवन वास्तवमै समृद्ध भएको छ। वैज्ञानिकहरू भन्छन् झन्डै पाँच लाख प्रजातिहरू समुद्रमा बस्छन् र कम्तीमा त्यो संख्याभन्दा दस गुणा बढी जीवन प्रजातिको अस्तित्व भूमिमा छ। आधुनिक जैवविविधताको अधिकांश भागमा कीराहरूको संख्या बढी छ, तर अन्य स्थलीय समूहहरू, जस्तै अर्थोपोडहरू, र फूल फुल्ने वनस्पतिहरूको प्रजातिको संख्या पनि समुद्रको कुनै प्रजातिभन्दा कम छैन।

दोस्रो हो, जीवनले पृथ्वीको मुहारलाई परिवर्तन गरेको छ। किनकि भूमिमा जीवन हुनुअघि यहाँ माटो थिएन। मात्र चट्टानरूपी बन्जर जमिन थियो। क्षरण वा भू–क्षयको दर आजभन्दा १० गुणा बढी थियो। अनगिन्ती चट्टानरूपी पहाडहरू थिए। पहाडसँग गासिएका भूमि मैदानहरू धुलोका कचौराहरूजस्ता थिए। जीवनभूमिमा सर्ने क्रममा नै माटोको विकास भयो। त्यसपछि क्रमश: वनस्पतिहरू पानीबाट बाहिर निस्कने क्रम बढ्दै गयो र उनीहरूले सतहको अत्यधिक भाग ढाक्न पुगे। र, जमिन जीवनका लागि नवीन बासस्थान नै बन्न पुग्यो।

कार्बोनिफेरस समय भूमिमा जीवन विकासका लागि महत्त्वपूर्ण थियो भनेर वैज्ञानिकहरू भन्दन्। कार्बोनिफेरस समय आजभन्दा ३० देखि ३६ करोड वर्षअघि कायम थियो। प्रारम्भिक र कार्बोनिफेरसको मध्यअवधिमा पृथ्वीको मौसम वा हावापानी न्यानो थियो, तर अवस्था यो अवधिको अन्त्यतिर परिवर्तन भयो। यो एउटा यस्तो महत्त्वपूर्ण समय थियो कि त्यही बेला वनस्पति र जीव–जन्तुहरूले भूमिमा आफूलाई अनुकूलन गर्न सके। र, विभिन्न प्रकारका बासस्थानको विकास भयो। सबै महादेशहरूमा उनीहरूले आफ्नो अस्तित्व कायम गरे। अनि यही समयमा कीरा, टेट्रापड र बोटबिरुवाहरूको तीव्र वृद्धिले पृथ्वीको स्थलीय परिस्थिकीय प्रणालीको एक महत्त्वपूर्ण संरचनाको उद्भव भयो।

पृथ्वीमा रूख र जंगलको विकास जीवन विकासको आठांै महत्त्वपूर्ण चरण हो। जसरी समुद्री चट्टानहरूलाई पर्याप्त जैविक संरचनाहरूका रूपमा व्याख्या गरिन्छ, त्यसरी नै जमिनमा वन–जंगलहरूको महत्त्व छ। डेभोनियन युगमा प्रारम्भिक रूखहरू आकारमा फरक खालका थिए। तर कार्बनिफेरस समयमा विशाल जंगलहरूको विकास भयो। २० मिटरसम्म अग्ला रूखहरू अस्तित्वमा आए। विभिन्न भूमि–वनस्पतिका समूहहरूले रुखको उचाइको रूपमा विविधता मात्र देखाएनन्, जीवजन्तु र अन्य बोटबिरुवाहरूले रूखहरूले सिर्जना गरेको नयाँ आवासको पर्याप्त उपभोग गर्न पाए।

नवांै चरण थियो उडानको विकास। वास्तवमा उडानको उत्पत्तिले नै पारिस्थितिक स्थानको थप विस्तारलाई मद्दत पुर्‍यायो। प्रारम्भिक डेभोनियन समयमा कीराहरू उत्पन्न भए, तर वास्तविक पंक्षीहरू भने कार्बोनिफेरस युगमा देखा परेका थिए भनेर वैज्ञानिकहरू भन्छन। कीराहरूले त्यसबेलादेखि नै हाम्रो आकाशमा प्रभुत्व जमाएका हुन्। मेरुदण्डवाला पंक्षी पर्मियन र ट्रायसिक समयमा उत्पन्न भएका हुन्। मेरुदण्ड भएका पंक्षीको कम्तीमा तीन पटक उदय भएको वैज्ञानिक मान्यता छ, जस्तै लेट ट्रायसिक समयमा पेट्रोर्सहरू देखा परे भने, चरा र चमेरोहरू क्रमश: जुरासिक र टरसरी कालमा उत्पन्न भए। 

दसौं चरण यो धर्तीमा जीवन विकासको अत्यन्त महत्त्वपूर्ण चरण हो। यसै चरणमा पृथ्वीमा चेतनशील जीवको विकास भएको हो। वास्तवमा मानव विकासको सिलसिला पनि यही चरणबाट सुरु हुन्छ। चेतना दुई लाख वर्ष वा सोभन्दा अघि सुरु भएको ‘होमो सेपियन्स’को एक मात्र विशेषता हो वा २० देखि ४० लाख वर्ष पुरानो ‘होमो’को पुरानो प्रजाति अर्थात् ‘अस्ट्रलोपिथेकस’ र ‘अर्डिपिथेकस’जस्ता पूर्वजमा पनि चेतनाको विकास भएको थियो भन्ने विषयमा विश्वमा धेरै बहसहरू पनि भएका छन्। जेजस्ता बहस भए पनि पृथ्वीमा मानव बन्नुको आधार चेतनाको विकास नै हो। किनकि चेतनाले नै मानवलाई वस्तुहरूको सिर्जना गर्न र उनीहरूको वातावरणलाई परिमार्जन गर्न सबल बनायो।

कट्टेल, चाइनिज एकेडेमी अफ साइन्सेस, बेइजिङमा सहप्राध्यापक छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.