एक शिक्षक क्रूर बनेपछि...

एक शिक्षक क्रूर बनेपछि...

वीरगन्ज : वीरगन्ज महानगरपालिका-२५ सिर्सिया खल्वाटोलका १४ वर्षीय बालक निरजकुमार पासवानको हत्या उनकै शिक्षकले गरेको खुलेको छ। निरजको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

श्रीराम पासवानका छोरा निरजको मंसिर ५ गते अपहरण भएकोमा पुस १० गते उनको शव सिर्सिया खल्वाटोलकै गुरुकुल पन्ना मेमोरियल बोर्डिङ स्कुलको पुरानो भवन अगाडिको शौचालयको सेप्टी ट्याङ्कीमा फेला परेको थियो।

अपहरण र हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका वीरगन्ज महानगरपालिका-१७ अलौ निवासी २४ वर्षीय कृष्णा भन्ने श्यामप्रसाद यादव र पर्साको धोबिनी गाउँपालिका-१ घोडदौडपिप्रा घर भइ हालः सिर्सिया खल्वाटोलमा रहेको गुरुकुल पन्ना मेमोरियल बोर्डिङ स्कुलका शिक्षक ३० वर्षीय दिलिप कुमार पटेललाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

मृतक निरज सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए। ती दुईमध्ये एक जनालाई पुस ९ र अर्को एक जनालाई पुस १२ गते पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए। घटनामा संलग्न अर्को एक जना फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ।

मंसिर ५ गते अपहरणमा परेका निरजका अभिभावकसँग अपहरणकारीले ५० लाख रुपैयाँ फिरौती मागेकोमा उक्त रकम नपाएपछि हत्या गरेर शव सेफ्टी ट्याङ्कीमा लगेर फालेको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक शाहले बताए।

निरजको अपहरण र हत्या कसरी भयो?

गुरुकुल पन्ना मेमोरियल बोर्डिङ स्कुलमा गणीत विषय पढाउँथे दिलिपकुमार पटेल। श्याम प्रसाद यादवले पनि निरजलाई नजिकबाटै चिनेका थिए।

प्रहरीका अनुसार ती दुवै जनालाई पैसाको आवश्यकता थियो। त्यही आवश्यकतालाई पूरा गर्न दिलिप र श्यामले अपहरण गरेर फिरौती रकम माग्ने योजना बनाए। त्यसपछि उनीहरूले सजिलैसँग अपहरण गर्न मिल्ने व्यक्तिको पहिचान गर्न थाले र दुवै जनाले नजिकबाटै चिन्ने निरजलाई छाने।

आफैंले पढाउने स्कुलको विद्यार्थी भएको हुँदा निरजलाई पनि शिक्षकसँग भेट्न कुनै शंका उत्पन्न भएन। मंसिर ४ गते आम निर्वाचनकै दिन निरजलाई आफूसँग भेट्न उनीहरूले बोलाए। त्यसदिन निरज आउन नसकेपछि ५ गते भेट्न पुगे। भेटिसकेपछि अपहरणकारीले निरजलाई सिर्सिया खल्वाटोलस्थित श्यामको घरमा लगे। हातखुट्टा बाँधी मुखमा टेप लगाएर बन्धक बनाइ राखेको प्रहरीले जनाएको छ।

अपहरण गरेकै दिन हातखुट्टामा बाँधिएको डोरी फुकालेर निरज भाग्ने क्रममा दिलिप र श्यामले निरजलाई समातेर घाँटी थिची हत्या गरेको अनुसन्धानबाट खुल्न आएको शाहले दाबी गरे।

घटनास्थलबाट फिरौती रकम माग गर्न प्रयोग भएको सिम कार्डसहितको १ थान मोबाइल, मृतकको निलो रङ्गको जिन्स पाइन्ट र खैरो रङ्गको पेटी पनि बरामद गरिएको शाहले जानकारी दिए।

पक्राउ परेकाहरूविरुद्ध पर्सा जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक बनाइ कर्तव्य ज्यानसम्बन्धी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको शाहले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.