दोलखाको लप्ची क्षेत्रमा भेटियो हिमचितुवा
दोलखा: दोलखाको विगु गाँउपालिका वडा नम्बर १ मा पर्ने उच्च हिमाली भेग लप्ची आसपास गौरीशंकर संरक्षण क्षेत्रले गरेको क्यामेरा ट्र्यापिङमा हिमचितुवा देखिएको छ।
गौरीशंकर संरक्षण क्षेत्रले जंगली जनावरको प्रजातिबारे अध्ययन गर्ने क्रममा राखिएको क्यामेरा ट्र्यापिङमा एक महिना अघि आमा र बच्चा हिम चितुवा फेला परेको संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसीप्रसाद दहालले बताए।
हिमचितुवाको आमा र हुर्कदै गरेको बच्चा खेलिरहेको अवस्थामा लप्ची गुम्वा नजिक झण्डै चार हजार मिटरको उचाईको क्षेत्रमा देखिएको सूचना अधिकारी दहालले बताए। लप्ची आसपासनै तीन वर्ष अघि सन् २०१९ मा पनि एउटा वयस्क हिमचितुवा संरक्षण क्षेत्रले गरेको क्यामेरा ट्र्यापिङमा देखिएको थियो । यो बाहेक अन्य चार ठाँउमा पनि हिम चितुवा देखिएको संरक्षण क्षेत्रले जनाएको छ।
समुन्द्री सतहदेखि तीन हजार मिटरभन्दा माथिको उचाईमा पाईने संरक्षित जनावर हिम चितुवा गौरीशंकर संरक्षण क्षेत्रले गरेको क्यामेरा ट्र्यापिङमा देखिएकाले उत्साहित भएको दहालले बताए।
यो क्षेत्रमा हिमचितुवाको संख्या कति भन्ने यकीन तथ्यांक भने नरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
५